हेम रोकाहा
भरतपुर,२७ बैशाख ।
आगामी स्थानीय तहको निर्वाचनको लागि तयार भएको मतपत्र यसअघिका निर्वाचनमा प्रयोग हुने मतपत्र भन्दा भिन्न र केही जटिल छन् । त्यसकारण पनि मतदाता झुक्किने र मत बदर हुन सक्ने सम्भावना धेरै छ ।
निर्वाचन आयोगले धेरै उम्मेद्वार हुने जिल्लामा ६८ र थोरै उम्मेद््वार हुने जिल्लामा ८ पंक्ति (तर्सो लहर÷रो) भएको मतपत्र सार्वजनिक गरेको छ । तर, हरेक मतपत्रमा ठाडो लहर अर्थात कोलम भने सात वटा हुन्छन् । यसको अर्थ मतदाताले सात जना प्रतिनिधिलाई मत हाल्न सक्छन् । धेरै उम्मेद््वार हुने जिल्लामा एकै पानाको मतपत्रमा दुई भाग छुट्याएर चुनाव चिह्न वितरण गरिएको छ । चितवनको मतपत्रमा ४४ वटा पंक्तिलाई २ भागमा छुट्याइएको छ ।
मतदान गर्ने सही तरिका
मतपत्रको पहिलो ठाडो लहर मेयर वा अध्यक्ष (प्रमुख) लाई मत दिनको लागि हो । यो पहिलो ठाडो लहरमा एकभन्दा बढी कोठामा स्वस्तिक छाप लगाए मत बदर हुन्छ । मतपत्र दुई भागमा बाँडिएको हुनाले दुवै भागको पहिलो ठाडो लहरमा एकभन्दा बढी कोठामा छाप लगाउनु हुँदैन । यो नियम पहिलो पाँचवटै ठाडो लहरमा लागू हुन्छ । अर्थात, मतदाताले पहिलो पाँचवटै ठाडो लहरमा एउटा÷एउटा कोठामा मात्र छाप लगाउन पाउँछन् । तर, गाढा ठाडो धर्सोले छुट्याइएको अन्तिम दुईवटा लहरमा भने जुनसुकै २ वटा कोठामा छाप लगाउन पाइन्छ । अन्तिम ठाडो लहरमा दुईवटा चुनाव चिह्न राखिएका छन् । यसमा दुईवटा छाप लगाउन भने पाइदैन । छाप लगाउँदा कोठाको घेरामा छुने गरी लगाउनु हुँदैन । यसो गरेमा मत बदर हुन्छ । मतपत्रमा छाप लगाउँदा स्वस्तिक चिह्न भएको छाप मात्र लगाउनुपर्छ, औंठा छाप लगाएमा मत बदर हुन्छ ।
घर–घरमा मतदाता शिक्षा
सबै मतदातालाई मतदानबारे उचित जानकारी दिन जिल्ला निर्वाचन कार्यालयले जिल्लाभर घर–घरमा मतदाता शिक्षा पु¥याउन प्रशिक्षक खटाइएको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए । मतदाता शिक्षाको लागि जिल्लाभर २७६ प्रशिक्षक खटाइएका छन् । वैशाख २ गतेबाट सुरु भएको मतदाता शिक्षा कार्यक्रम वैशाख २८ सम्मै चल्नेछ । करिब एक हजार मतदाता बराबर १ मतदान केन्द्र र एक मतदान केन्द्र बराबर एक जना प्रशिक्षक खटाइएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रशिक्षकले स्थानीय महिला समूह, आमा समूह तथा टोल सुधार समितिको समन्वयमा घर–घरै पुगी शिक्षा दिइरहेको भरतपुर महानगरपालिका–१ मा खटिएकी प्रशिक्षक सावित्री ढकालले बताइन् । हरेक दिन घर–घरै पुगी सबैलाई मतदान प्रक्रियाको बारेमा बुझाइरहेको उनले बताइन् । ज्येष्ठ नागरिकलाई मतदानको बारेमा बुझाउन केही गाह्रो भएपनि अरुले भने सजिलै बुझ्ने गरेको उनी बताउँछिन । त्यस्तै माडीमा खटिएकी प्रशिक्षक ममता चौधरीले मतपत्रको अन्तिम दुईवटा लहरमा रहेका खुला सदस्यलाई मतदान गर्ने प्रक्रियाको बारेमा बुझाउन गाह्रो हुने गरेको बताइन् । उनी भन्छिन्, “अरु कुरा त बुझ्नुहुन्छ । तर, खुला सदस्यलाई मतदान गर्ने प्रक्रियामा भने केही दोधार हुनुहुन्छ । तर, हामीले उहाँहरुलाई राम्रोसँग सिकाएका छौं ।” मतदाता शिक्षा दिन प्रशिक्षक घर–घरमा पुगेपनि सबै ठाउँमा मतदाता शिक्षा प्रभावकारी नभएको पाइएको छ । केही स्थानका मतदाता मतदानको बारेमा अझै अन्यौलमा छन् ।
मतदानको प्रतिशत बढाउन तथा बदर मत संख्या खटाउन मतदाता शिक्षा दिइएको निर्वाचन अधिकारी ढकालले बताए । “प्रशिक्षकहरु घर–घरै पुगेर वा गाउँको एक ठाउँमा सबैलाई भेला गरेर मतदाता शिक्षा दिनेछन्”, ढकालले भने, “सबै मान्छेले चुनाव बुझेका हुँदैनन् । हामीले चुनावमा किन सहभागी हुने र कसरी भोट हाल्दा मत बद हुँदैन भनेर सबैलाई प्रशिक्षण दिन्छौं ।”