भरतपुर,२३ जेेठ।
माडीका महिला अधिकारकर्मीले न्यायको माग गर्दै इलाका प्रहरी कार्यालय माडीमा सोमबार नाराजुलुस गरेका छन् । पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको घटना रहस्मय रहेको भन्दै तथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
साथीभाइसँग पिकनिक खान गएका दुई बालिका पोखरीमा डुबेको अवस्थामा फेला परेका थिए । उपचारका क्रममा अस्पताल पु¥याउने क्रममा उनीहरुको ज्यान गएको थियो । माडीका पत्रकार सूर्य पाठकका अनुसार घटनास्थलको अवलोकन गर्न आइपुगेको जिल्ला प्रहरी कार्यालयको टोलीलाई स्थानीयले घटनाबारे अनुसन्धान गरी सत्य सार्वजनिक गर्न माग गरेका छन् ।
उनीहरुले प्रहरी प्रमुख प्रहरी उपरीक्षक चढेको गाडीलाई समेत अवरोध पु¥याएका थिए । माडी नगरपालिकाको कार्यालयमा समेत आक्रोषित स्थानीयले केहिबेर तालाबन्दी गरेका थिए । माडी–६ रामराज्यपुरस्थित मजुवा सिँचाई पोखरीमा २० गते माया सुनारकी छोरी दीपिका र दिनेश परियारकी छोरी दिपशिलाको ज्यान गएको हो । “मृत भेटिएका बालिकाको शरिरमा रगत देखिएको थियो”, पत्रकार पाठकले भने, “घटना हेर्दा हत्या गरेर पोखरीमा फाले जस्तो देखिन्छ ।”
घटनास्थल माडी बसन्तपुर बजारबाट करिव ४ किमि पूर्वमा छ । १२ जनाको समूहमा उनीहरु पिकिनिक खान गएका थिए । घटनामा संलग्न भएको हुन सक्ने भन्दै माडी प्रहरीले दुई युवालाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ । सो घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी निरीक्षक अञ्जना श्रेष्ठको संयोजकत्वमा ७ सदस्यिय टोली बनाएको छ ।
सो टोलीसहित महिला अधिकारकर्मी, मानवअधिकारकर्मीको टोली सोमबार घटनास्थल पुगेको थियो । “हामीले घटनास्थलको अवलोकन गरी फर्केका छौँ”, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले भने, “मृत बालिकाको शरिरमा घाउ छन्, कोमल अंगमा चोट देखिन्छ ।” पोखरीमा पौडीबाजको प्रयोग गरी गहिराई हेरिएको बताए । पोखरी ६ देखि १० फिट गहिरो रहेको बताए । “पोखरीको पीँधमा ग्राबेल भेटिएको छ”, उनले भने, “गंगटा, माछा, गोब्रे किरा पोखरीमा भेटिएका छन् ।”
उनले भरतपुर अस्पतालका पोष्टमार्टम गर्ने चिकित्सकलाई पनि घटनास्थलको अध्ययन गर्न लगिएको बताए । “पीडित पक्षले हत्याको आशंका गरेका छन्”, उनले भने, “हामी अनुसन्धानमा लागेका छौँ, छिटै सत्य तथ्य सार्वजनिक गर्नेछौँ ।” पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप अनुसन्धान गर्न सहज हुने बताए । यौनिबाट रगत आएको अवस्थामा बालिका भेटिएका थिए । बालिकाहरुको बलात्कारपछि हत्या गरेर फालिएको हुन सक्ने मानवअधिकारकर्मीहरुको भनाइ छ । आइतबार जिल्लाका १९ जना अधिकारकर्मीहरुले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको दायरामा ल्याउन प्रशासनलाई दबाब दिएका थिए ।