रत्ननगर,२३ जेेठ।
वातावरणमैत्री नगरतर्फ उन्मुख रत्ननगर नगरपालिकामा नगरस्तरीय बृहत सरसफाइ अभियान सुरु भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर नगरपालिकाले सोमबार नगरस्तरीय सरसफाइ अभियान सुरु गरेको हो ।
अभियानको नगरपालिकाका प्रमुख (मेयर) नारायण वनले सोमबार शुभारम्भ गरेका छन् । सो अवसरमा सम्बोधन गर्दै नगर प्रमुख वनले स्वच्छ, हराभरा नगर बनाउने नगरपालिकाको चाहना रहेको उल्लेख गर्दै सहयोगका लागि नगरबासीलाई अनुरोध गरे । उनले नगरलाई प्लाष्टिकमुक्त बनाउने प्रतिबद्धता जनाए । “पहिलेदेखि नै प्लाष्टिकमुक्त नगर बनाउने हाम्रो उद्घोष थियो”, मेयर वनले भने, “प्लाष्टिकको विकल्प खोजेर नगरलाई स्वच्छ नगर बनाउनुपर्छ ।” मुख्य राजमार्गमा अनावश्यक हर्नको प्रयोग भइरहेको बताउँदै उनले हर्न नियन्त्रण, बजार र भित्री टोलहरुमा वृक्षरोपण जस्ता कार्यक्रमलाई व्यापकता दिइने बताए । अबदेखि सरसफाइ निरन्तररुपमा चलिरहने भन्दै मेयर वनले घर–घरबाटै फोहर व्यवस्थापन गरेर अभियान सफल बनाउन नगरबासीलाई आग्रह गरे ।
उपमेयर विमला दुवाडीले नगरका टोल विकास संस्था, वडा नागरिक मञ्च, आमा समूहलगायत संघसंस्थाको सहकार्यमा सरसफाइ अभियान जारी रहने बताइन् । नगरपालिकाका कार्यकारी अधिकृतको समेत भूमिका निर्वाह गरिरहेका चितवनका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले वातावरण क्षयीकरण हुँदै गइरहेको बताउँदै यसलाई जोगाउनु सबैको कर्तव्य रहेको बताए । “दिनदिनै वातावरण असन्तुलित हुँदै गएको छ”, सुवेदीले भने, “सभ्य नागरिकको परिचय दिदै स्वच्छ नगर बनाउने हामी सबैको कर्तव्य हो ।”
वातावरण अधिकृत सन्ध्या रिजालले सड्ने र नसड्ने फोहर वर्गीकरण गरेर पुनः प्रयोगमा आउन सक्ने फोहरबाट आम्दानी गर्न सकिने बताइन् । दिवसको अवसरमा रत्ननगरमा सरसफाइबारे चेतनामूलक ¥याली निकालिएको छ । ¥यालीसँगै सहभागीले नगरपालिका कार्यालय बकुलहरचोकदेखि रत्ननगर–२ स्थित तरकारी बजारसम्मको मुख्य राजमार्गको छेउछाउमा सरसफाइ गरेका थिए । सरसफाइमा जनप्रतिनिधि, महिला समूह, टोल विकास संस्था, वडा नागरिक मञ्च, प्रहरी, विद्यार्थी, सामाजिक परिचालक तथा नगरपालिकाका कर्मचारी सहभागी थिए । रत्ननगर नगरपालिका वातावरणमैत्री स्थानीय शासन कार्यक्रम यही वर्ष सकिदै छ । कार्यक्रमबाट पूर्णरुपमा नगर वातावरणमैत्री नभएकाले यसको समयावधि थप हुन सक्ने बताइएको छ ।