२२ जेठ । परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले नेपालको शान्ति र सुन्दरताको सन्देश विश्वमा फैलाउन युवा वर्गलाई आग्रह गर्नुभएको छ ।
विश्वमा शान्ति र वातावरण संरक्षणको सन्देश फैलाउने उद्देश्यले विश्व वातावरण दिवसको उपलक्ष्यमा एसियाका नौ वटा देशको सद्भावना भ्रमणमा निस्किएका युवालाई आज यहाँ बिदाई गर्दै उहाँले भन्नुभयो, “नेपालको अलौकिक प्राकृतिक सुन्दरता र शान्तिको सन्देशलाई विश्वमा फैलाउन युवा बर्गको अहम भूमिका रहन्छ ।”
मोटरसाइकलबाटै एसियाका नौ वटा देशको सद्भावना भ्रमण आजदेखि सुरु गरेका ती पाँचजना नेपाली युवालाई विदाइ गर्दै मन्त्री डा.महतले शान्ति र अहिंसाका प्रवर्तक गौतम बुद्धको जन्मभूमि नेपालको बारेमा संसारभर प्रचारप्रसार गर्ने कार्यमा समग्र युवा बर्ग जुट्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
उहाँले शान्ति, स्थायित्व र विकासको मार्गमा देश अघि बढिसकेकाले अब समृद्ध नेपाल निर्माणमा धेरै समय नलाग्ने बताउँदै स्थानीय तहको निर्वाचनमा युवावर्गको अभिरुचिपूर्ण सहभागिता रहेकाले अब देश विकासको अभियान गाउँगाउँबाट सुरु हुने धारणा व्यक्त गर्नुभयो ।
कालिमाटी तरकारी बजार युवा क्लबको संयोजनमा दीपक पौडेल, श्यामप्रसाद सुवेदी, सुरज अधिकारी, रमेश धिताल र रामकृष्ण नेपालले आज नेपाल, भारत, बङ्गलादेश, म्यानमार, लाओस, थाइल्याण्ड, मलेसिया, सिङ्गापुर र इन्डोनेसियाको भ्रमणमा निस्कनुभएको हो ।
विश्वमा शान्ति र वातावरण संरक्षणको सन्देश फैलाउन तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सुरु भएको भ्रमण १०१ दिन लामो हुनेछ । रासस