भरतपुर, जेठ २२ ।
पुल्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर १ ले आफ्नो पाँचौ वार्षिकोत्सव आदर्श गृहमा मनाएको छ । संस्थाले आदर्श गृहमा रहेका महिला तथा बालबालिकाहरुलाई खाना खुवाएर आफ्नो वार्षिकोत्सव मनाएको हो ।
आदर्श गृह घरेलु हिंसा, मानव बेचबिखनमा परेका वा जोखिममा रहेकाहरुलाई उद्धार, पुनस्र्थापना, मनोसामाजिक परामर्श, कानुनी सहयोग, आवश्यकीय सीपमुलक तालिमका माध्यमबाट आत्मनिर्भर बनाई सम्मानजनक सामाजिक तथा पारिवारिक पुनमिर्लनका लागि काम गर्दै आइरहेको संस्था हो ।
गृहमा हाल २९ जना महिला तथा बालबालिकाहरु आश्रित रहेको सञ्चालक मिना खरेलले बताइन् । २०६६ साल वैशाख १ गते स्थापना भएको आदर्श गृहले हालसम्म ७०० भन्दा बढि महिला तथा बालबालिकाहरुलाई आश्रय दिइसकेको उनले बताइन् । जसमध्ये करिव ५० प्रतिशत महिला तथा बालबालिकाहरुलाई पारिवारीक पुनर्मिलन गराइसकिएको उनको भनाइ छ । हाल आदर्श गृहमा आश्रित रहेका मध्ये १९ जना १ देखि १२ कक्षासम्मका विद्यार्थी रहेको सञ्चालक खरेलले बताइन् ।
कार्यक्रममा संस्थाले आदर्श गृहलाई नगद १० हजार रुपैयाँसमेत प्रदान गरेको थियो । महिला तथा बालबालिकाहरुको लागि काम गर्दै आइरहेको संस्थालाई प्रोत्साह स्वरुपमा सहयोग गरिएको पुल्चोक बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शावित्री पौडेलले बताइन् । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै वार्षिक रुपमा यस्ता सामाजिक कार्य गर्दै आइरहेको उनले बताए ।
२०७० साल जेठ २१ गते स्थापना भएको पुल्चोक बचत तथा ऋण सहकारी संस्थामा हाल ४९५ जना सेयर सदस्य रहेको संस्थापक अध्यक्ष उषा खरेल सुवेदीले बताइन् । ३३ जना सेयर सदस्यबाट सो संस्थाको स्थापना भएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष आरती पन्त, कोषाध्यक्ष अनु भट्टराई, संस्थापक अध्यक्ष उषा खरेल सुवेदी लगायत संस्थाका सबै सदस्यहरुको उपस्थिति रहेको थियो ।