ध्रुर्वराज खनाल/कायाकैरन
रत्ननगर,२१ जेठ /
चितवनको रत्ननगरमा निर्माणाधीन चार लेन सडक टुंगिने छाट छैन । दुई वर्षमा मुख्य राजमार्ग निर्माणको काम सकिन मुस्किल भइरहेका बेला सर्भिस लेन, ग्रीनरी र फुटपाथको काम कहिले हुने अन्यौल थपिएको छ ।
सम्झौता भएको २ वर्ष बित्न लाग्दासमेत राजमार्ग निर्माण सम्पन्न हुन सकेको छैन । त्यसबाहेक सर्भिस लेन निर्माणको काम झनै चुनौतीको रुपमा देखिएको छ । जसले गर्दा चितवनकै नमूना सडक बन्ने आशा आशमै सीमित हुने भएको छ । केही समयअघि तीव्ररुपमा काम भएपनि पछिल्लो १५ दिनयता कामै हुन सकेको छैन । सडक डिभिजन कार्यालयले निर्माणको ठेक्का पाएको श्रेष्ठ कन्स्ट्रक्सन प्रालिलाई भुक्तानी दिन नसक्दा निर्माणको काम रोकिएको प्रोजेक्ट मेनेजर ईञ्जिनियर अनिश रेग्मीले बताए ।
“दुई महिनादेखि भुक्तानी हुन सकेको छैन”, ईञ्जिनियर रेग्मीले भने, “जसले गर्दा डिजल, अलकत्रा, गिटी तथा बालुवाको पैसा दिन सकिरहेको छैन, त्यसैले काम रोकिएको हो ।” एकतर्फको लेन पीच सम्पन्न भइसकेको छ भने अर्कोतर्फको लेन पीच गर्ने प्रक्रियामा छ । साँढे ५ सय मिटरसम्म वेस हालेर प्राइम गरेपछि निर्माण रोकिएको ईञ्जिनियर रेग्मीले बताए । तर, समयमै काम सम्पन्न गर्नका लागि आउँदो सातादेखि पीचको काम सुरु गरिने उनले बताए । “देशैभरिको समस्या भनेर सडक डिभिजन कार्यालयले भुक्तानी गर्न सकेको छैन”, रेग्मीले भने, “भुक्तानी नभएपनि हामीले अर्को सातादेखि पुनः काम सुरु गर्ने तयारी गर्दछौं ।” करिब डेढ वर्षमा निर्माण सक्ने गरी सम्झौता भएपनि सम्झौता मिति २०७३ असोजमा सकिएर पुनः एक वर्षको म्याद थपिएको छ ।
सर्भिस लेनमा अन्यौल
खानेपानी, ढल र विद्युत्को पोल सार्न नसक्दा सर्भिस लेनको काम अन्यौल बनेको छ । सम्झौता मिति सकिन ४ महिनामात्रै बाँकी रहँदा पीचको मात्रै काम सम्पन्न हुने देखिन्छ । तर, सर्भिस लेन निर्माण गर्ने ठाउँमा रहेको बिजुलीको पोल, खानेपानीको पाइप र ढल रहेकाले निर्माण कम्पनी नै सर्भिस लेन बन्ने नबन्ने आशंकाको घेरामा छ ।
“बिजुलीको पोल हटाउन ताकेता गरेको धेरै भइसक्यो, अझै हटाइएको छैन”, श्रेष्ठ कन्स्ट्रक्सन प्रालिका ईञ्जिनियर अनिश रेग्मीले भने, “यस्तो पाराले सर्भिस लेन बन्नेमा आशंका छ ।” सर्भिस लेन रहने ठाउँमा रहेको बिजुलीको पोल हटाएर सार्न करिब १ करोडभन्दा बढी लाग्ने इस्टीमेट बनाएर फाइल ऊर्जा मन्त्रालय पठाइएको छ । तर, सो बजेट निकासा हुन नसक्दा सर्भिस लेनको काम हुन ढिलाइ देखिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र टाँडी शाखा प्रमुख सुरेश महतोका अनुसार फाइलमाथि पठाइएपनि बजेट निकासाका सम्बन्धमा कुनै जानकारी आएको छैन ।
अलकत्रा बढी हाल्दा बिग्रियो सडक
सडक निर्माणका काम सकिन नपाउँदै बिग्रन सुरु गरेको छ । एकातर्फको पीच निर्माण भइसकेको छ, सँगै बिग्रिरहेको छ । विटमिन(अलकत्रा) को मात्रा धेरै हाल्दा सडक बिग्रिएको श्रेष्ठ कन्स्ट्रक्सन प्रालिका प्रोजेक्ट म्यानेजर ईञ्जिनियर अनिश रेग्मी बताउँछन् । अलकत्रा धेरै हुँदा गर्मीको बेला पीचको भाग उठेर पोका परेको छ । “सडक डिभिजन कार्यालयको डिजाइनअनुसारै निर्माण गरियो”, रेग्मीले भने, “बढी अलकत्रा हाल्दा पीचको भाग उठेर पोका पर्न गयो ।” पोका परेर पीचको भाग उठ्दा दुई÷तीन ठाउँमा त दुर्घटना हुन सक्ने सम्भावना बढेको छ ।
पीचको भाग उठ्ने मात्रै होइन, यहाँ गरिएको पीच भित्री सडकमा गरिने पीच जस्तै छ । बढी क्षमता भएका सवारीसाधन गुड्ने यस सडकमा जम्मा २ ईञ्चमात्रै पीच भएको छ । यस राजमार्गमा कम्तीमा पनि ४ ईञ्चको पीच हुनुपर्ने हो । रत्ननगरको लौरीघोलदेखि निपनीसम्म २.३ किलोमिटर सडक चार लेनको निर्माण गर्न लागिएको हो । करिब १९ करोड ७० हजारमा श्रेष्ठ कन्स्ट्रक्सनले सडक निर्माणको काम गरिरहेको छ ।