रत्ननगर, जेठ २०
रत्ननगर ७ लाई नमूना वडाका रुपमा विकास गरिने नवनिर्वाचित वडाध्यक्ष लालबहादुर भट्ट ‘राजन’ले प्रतिवद्धता जनाएका छन् । जनातले आफुलाई ठुलो जिम्मेवारी सुम्पेको बताउँदै उनले वडालाई नगरकै नमूना वडाका रुपमा स्थापित गर्ने बताएका छन् ।
शनिबार बद्रहनीमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले नगरको योजना सहित वडामा पनि विकासका लहर भित्र्याउन लागिपर्ने बताएका छन् । वडावासीलाई धन्यवाद दिन कार्यक्रमको आयोजना गरिएको हो । सो वडामा कांग्रेसका तर्फबाट वडाध्यक्षमा भट्ट सहित प्यानल विजयी भएको थियो । कार्यक्रममा सहभागि वडाबासीले भट्टलाई जनताको मर्म अनुसार काम गर्न शुभकामना दिए ।
वडामा देखा परेका समस्या समाधान गर्न प्रतिवद्ध भएर लाग्ने बताएका छन् । वडामा सडक सञ्जालको स्तरोन्नती गर्ने, पीउनेपानीको व्यवस्थापन गर्ने, सिंचाई सेवा पु¥याउने जस्ता काममा आफुले नेतृत्वदायी भूमिका खेल्ने बताए । सौराहालाई मुख्य पर्यटकीय गन्तव्यका रुपमा अन्तर्राष्ट्रिय स्तरमा पहिचान कायम गराउन नगरका योजना तयार गरिने बताए । वडाध्यक्ष लालबहादुर भट्ट ‘राजन’ को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, रत्ननगरका नगरसभापति रुपनराज घिमिरे, क्षेत्रीय अध्यक्ष राजु सिलवाल, महासमिति सदस्य वासुदेव ढुङ्गाना र राममणी खनाल, वडा नम्बर ६ का वडाध्यक्ष बलराम दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।