२० जेठ ।
निर्वाचन आयोगले भरतपुर महानगरपालिका प्रकरणमा पुन मतदान गर्ने निर्णय गरेको छ । निर्बाचन आयोगले वडा नं . १९ को मतदान केन्द्रको सम्पूर्ण मत अवैध घोषित गर्दै पुन मतदान गर्ने निर्णय गरेको छ । वडा नं .१९ मा निर्वाचनको मिति तोक्ने अधिकार मुख्य निर्वाचन अधिकृतलाई दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।
पुन मतदान होइन पुन मतगणना हुनु पर्छ भन्दै आएका एमाले अध्यक्ष केपी ओलीले आयोगको निर्णय आपत्तीजनक भएको बताउदै आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्ने चेतावनी दिनुभएको छ ।
गत जेठ १४ गते आइतबार मध्यरातमा १९ नम्बर वडाको मतगणना गर्दैगर्दा मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो। मतगणना चलिरहँदा आइतबार राती माओवादी प्रतिनिधिहरूले मतपत्र च्यातेका थिए। घटनापछि माओवादी केन्द्र र नेपाली कांग्रेसले मतपत्र च्यातिएको वडा नम्बर १९मा पुन:मतदान हुनुपर्ने र एमालेले भने माओवादीले नियतवश मतपत्र च्यातेको भन्दै पुन:मतदान स्वीकार्य नहुने बताउँदै आएको थियो।