भरतपुर,२० जेठ ।
निर्वाचन आयोगले भरतपुर महानगरपालिका प्रकरणमा निर्णय लिन ढिलाइ गरेको छ । आइतबार राति मतपत्र च्यातिएपछि रोकिन पुगेको मतगणना सुचारु गर्ने वा पुनः मतदान गर्ने भन्ने विषयमा शुक्रबार राति अबेरसम्म कुनै निर्णय लिन सकेको छैन ।
च्यातिएका मतपत्र बारेको प्रतिवेदन पाइसकेपनि आयोगले ठोस कदम चाल्न सकेको छैन । मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका माओवादी केन्द्रका दुई कार्यकर्ता धरौटीमा रिहा भइसकेका छन् । पछिल्लो मतगणनापछि रुजु गर्ने क्रममा दलका प्रतिनिधिबीच विवाद भएर मतपत्र खोसाखोस भएको थियो ।
चासोका साथ हेरिएको भरतपुर महानगरको चुनावी नतिजा आउनेमा झनै ढिलाइ भएको हो । वडा नम्बर १९ को कूल मतपत्रमध्ये ९० मतपत्र गन्नै नमिल्ने गरी च्यातिएको थियो । कूल दुई हजार ८ सय ९७ मत खसेकामा एक हजार ८ सय ९ मतगणना भइसकेको, ९ सय ९८ मत गन्न मिल्ने अवस्थामा रहेको पाइएको थियो । वडा नम्बर २० को मत पूरै गन्न बाँकी छ ।
एमाले पुनः मतदानमा जान डराएको देखिन्छ भने माओवादी केन्द्र पुनःमतगणनामा जान डराएको देखिन्छ । कांग्रेस रिजाएर पाएको मत गुम्ने डर एमालेलाई छ भने भोट नहालेका कांग्रेसी कार्यकर्ताको भोट पाउने आशमा माओवादी केन्द्र छ । एमालेले पुनः मतगणना गर्नुपर्ने माग सहित चितवनमा धर्ना र संसद् भवनमा अवरोध गर्दै आइरहेको छ । निर्वाचन सम्बन्धित ऐनमा मतपत्र नोक्सान भएपछि पुनः मतदान गर्न लगाउने ठाउँ छ ।
तर, आगामी निर्वाचनमा गलत नजिर बस्ने भन्दै आयोगलाई चर्को दबाब परेको छ । एमालेले संसद् अवरोध जारी राखेपछि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्ने गरी संसद सचिवावलयले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ ।