विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२० जेठ ।
माडीका भूभाग नसमेट्ने गरी ठोरी–केरुङ लोकमार्ग बनाउन खोजिएको भन्दै निर्वाचित जनप्रतिनिधिले असन्तोष व्यक्त गरेका छन् । विगतमा ठोरी चितवन मात्रै भनेर विजेट विनियोजन भएकोमा यसपालिको बजेटमा केहि उल्लेख नभएपछि अन्यौलता थप बढेको हो । ठोरी–केरुङ सडक सञ्जाल बनाउँदा चितवन, धादिङ, नुवाकोट र रसुवा जोडीनुपर्छ । भारत र चीनको व्यापारीक नाका जोड्ने यो सडक सञ्जाललाई ज्यादै चासोका साथ लिइएको छ ।
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले माडीका भूभाग नसमेट्ने गरी ठोरी केरुङ जोड्न खोजिनु माडी हितविपरीत हुने बताए । “माडीलाई ओझेलमा पारिदैछ”, उनले भने, “सडक आयोजनमा माडी पनि उल्लेख गरिनुपर्छ ।” पर्सा, ठोरी हुँदै माडी हुलाकी सडकलाई प्रयोग गर्न सकिने एक अध्ययनले देखाएको थियो । माडी गोविन्दबस्तीबाट सोझै भण्डारा पु¥याउने कामले माडीको हित नहुने उनले बताए । माडीको हुलाकी मार्ग वा रिउ किनार हुँदै निकुञ्जको बाटो हुँदै राप्ती किनार लगेर लोथर जोडिनुपर्ने उनले बताए ।
२०७३÷७४ का लागि सार्वजनिक गरिएको बजेटमा ठोरी केरुङ (चितवन रसुवा) सडकका रुपमा उल्लेख गर्दै बजेट विनियोजन भएको थियो । करिब २ सय किमी सडक निर्माण हुने लक्ष्य लिइएको थियो । विस्तृत सर्वेक्षण तथा डिजाइन गरी निर्माण कार्य अगाडि बढाइने उल्लेख थियो । यस्तै चेपाङ मार्गका रुपमा ठोरी–भण्डारा–लोथर–मलेखु सडकअन्तर्गत ६९ किमी सडक सञ्जाल बनाइने लक्ष्यसहित बजेट पारिएको थियो । भरतपुर–जगतपुर–माडी–ठोरी सडकअन्तर्गत ३६ किमी सडक निर्माण एवं स्तरोन्नति गर्ने गरी सोही वर्ष बजेट परेको थियो । जसअन्तर्गत गीतानगर धान्द्रुक चोकसम्मको ५.५ किमी र माडी हुलाकी सडकको १५.२ किमी ठेक्का भैसकेको छ ।
“ठोरीलाई भण्डारा जोडेर चीनसँगको बाटोमा जोड्ने चलखेल भएको छ”, मेयर ढकालले भने, “विकासको आशा पलाएका बेला निराश बनाउने काम भएको छ ।” उनले माडी उल्लेख गरी बजेट आयोजना संसोधन गर्न गरिएको माग सम्बोधन नभएकोमा दुखेसो पोखे । माडी नगरपालिकाका उपमेयर ताराकुमारी काजीमहतोले माडीलाई छुटाउने रणनीतिले बजेट पारिनु दुःखद भएको बताइन् । “केरुङ–ठोरी सडक बनाउँदा माडी समेटिन्छ समेटिदैन हामी यो बुझ्न केन्द्रमै जाँदैछौँ”, उनले भनिन्, “माडीलाई छुटाएर हामी विकासमा पछि पर्न चाहदैनौँ ।”
माडी वडा नम्बर १ का अध्यक्ष कृष्ण पौडेलले ठोरी नाकालाई माडीले उपभोग गर्न नपाउने गरी सडक सञ्जाल विस्तार गर्न खोजिएको आरोप लगाए । “विगतमा पनि अन्यौल पार्ने काम भएको थियो”, उनले भने, “छोटो–छोटो सडक खण्ड तयार गरेर माडीलाई अलग्याउने काम हुँदैछ, माडीको हितमा हामी लाग्नेछौँ ।” माडी–१ वडा सदस्य अमित लामाले हालको हुलाकी सडकलाई नै प्रयोग गरेर लोकमार्ग विकास गर्न सकिने बताए । “माडी निकुञ्जबाट सधैं पीडित बन्यौं”, उनले भने, “आउन लागेको विकासको लहर पनि मोडीदै छ, यो जायज छैन ।”
माडी विकासका अभियान्ता सन्तोष पनेरुले माडीको सर्वदलीय बैठक बसेर केन्द्रीय स्तरमा दबाब दिन छिट्टै कार्यक्रम गरिने बताए । “भण्डारा–ठोरी सडक बनेपछि माडी विस्थापनको खतरामा पर्छ”, उनले भने, “ठोरी केरुङको रुट नै अस्पष्ट छ, माडीका भूभाग के गरिन्छ, स्पष्ट छैन ।” चेपाङ मार्गका रुपमा मलेखु–भण्डारा–ठोरी सडकलाई १० करोड बजेट परेको छ । माडीका निर्वाचित जनप्रतिनिधि, सरोकारवाला पक्ष, युवासहितको टोलीले आयोजना संसोधन गरी माडी समेट्ने गरी सडक सञ्जाल निर्माण गर्न केन्द्रीय रुपमा दबाब दिइने बताए ।
कांग्रेस माडी नगर समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै माडीबासी तथा चितवनबासीको चाहना विपरित काम भएको भन्दै विरोधमा उत्रने जनाएको छ । नगरसभापति कोमलनाथ भुषालद्वारा जारी विज्ञप्तिमा माडी समेट्न आग्रह गरिएको छ । ठोरी–केरुङ लोकमार्ग निर्माणमा दबाब दिन केही वर्ष पहिले माडीका यूवा, नेतासमेत मोटरसाइकल ¥यालीमा केरुङ पुगेका थिए । समृद्ध चितवन अभियानका संयोजक तारा पौडेलले माडीकै भूभाग समेटेर भारत र चीन जोड्ने सडक बनाउन सकिने प्रस्ताव योजना आयोगमा बुझाएको स्मरण गरे । “ठोरी–भण्डारा वा ठोरी–माडी हुदै लोथर लैजान सकिने गरि हामीले सर्वे गरेर बुझाएका थियौँ”, उनले भने, “सोझै भण्डारा निकाल्दा बाटो छोटो पर्छ । तर, निकुञ्जको कमजोर भूभाग, जंगली जनावर बढी क्षेत्र पर्छ, जुन असम्भव नै छ ।” माडी पूरै समेटेर चीनसम्म जोड्ने सडक बनाउँदा १ सय ९८ किलोमिटर दूरी कायम हुन्छ । ठोरी भण्डारा हुँदै सडक बनाउँदा १ सय ६८ किलोमिटर दूरी कायम हुने उनले बताए । निकुञ्जमा वातावरणीय प्रभाव मूल्यांकन नगरी भौतिक पूर्वाधार निमार्ण योजना सुरु गर्न पाइदैन ।