विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२०जेठ ।
स्थानीय तह निर्वाचन–२०७४ मा माडी नगरपालिकाको निर्वाचनमा उम्मेद्वार बनेका ३९ जनाको धरौटी जफत भएको छ । धरौटी जफत हुनेमा ४ जना मेयर र २ जना उपमेयर पदका उम्मेद्वार छन् बाँकी ११ जना वडाध्यक्षका उम्मेद्वार हुन् । कूल सदर मतको १० प्रतिशत मत नल्याउनेको धरौटी जफत गर्ने कानूनी प्रावधान छ ।
निर्वाचन अधिकृतको कार्यालय माडीले दिएको जानकारीअनुसार मेयर पदमा शून्य मत ल्याउनेदेखि ७५ मतसम्म ल्याउने उम्मेद्वारको धरौटी जफत भएको छ । मेयर पदमा स्वतन्त्र उम्मेद्वार जमुना पौडेल शून्य मत, स्वतन्त्र उम्मेद्वार चन्द्रप्रसाद सुवेदी ७५ मत, नयाँ शक्ति पार्टी नेपालका रमाकान्त सापकोटा ३४ मत, नेपाल दलित पार्टीका धनबहादुर गायक ९ मत छन् । मेयर पदमा १४ हजार ७ सय १९ मत सदर भएको थियो । यस्तै उपमेयर पदमा स्वतन्त्र उम्मेद्वार सावित्री पौडेलको १ सय १ मत, संघीय समाजवादी फोरमकी सन्तरेषा महतोको ११ मत छ । उपमेयर पदमा १४ हजार ६ सय ४० मत सदर भएको थियो ।
सदर मतको १० प्रतिशत बढी मत ल्याउन नसकेका उम्मेद्वारको धरौटी जफत हुने व्यवस्था स्थानीय तह निर्वाचन २०७३ मा गरिएको छ । धरौटी जफत हुनेमा बढी स्वतन्त्र उम्मेद्वार छन् । ऐनको दफा ६२ मा उम्मेद्वारी दर्ता गर्दा उम्मेद्वारले धरौटी राख्नुपर्ने व्यवस्था गरेको छ । उम्मेद्वारी दर्ता गर्दा अध्यक्ष, उपाध्यक्ष, प्रमुख तथा उपप्रमुखका लागि १ हजार ५ सय रुपैयाँ, वडा अध्यक्षका लागि १ हजार रुपैयाँ, वडा सदस्यका लागि ५ सय रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ । धरौटी राख्दा महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेद्वारको हकमा ५० प्रतिशत छुटको व्यवस्था छ । निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको मितिले ९० दिनभित्र धरौटी रकम उम्मेद्वारले फिर्ता लिन पाउनेछन् ।
वडाध्यक्षमा उम्मेद्वारी दिएकामध्ये धरौटी जफत हुनेमा मुख्य पार्टीहरु कांग्रेस, एमाले, माओवादी केन्द्रका उम्मेद्वार पनि छन् । माडी–८ मा वडाध्यक्षको उम्मेद्वार बनेका कांग्रेसका चन्द्रबहादुर गुरुङको ५२ मत, माओवादी केन्द्रका बुद्धिसरा विश्वकर्माको ४५ मत छ । सो वडामा वडाध्यक्ष पदमा १ हजार १६ मत सदर भएको थियो । वडा नम्बर ६ मा माओवादी केन्द्रका केदार गायकको १ सय ५२ मत छ । यो वडामा वडाध्यक्ष पदमा १ हजार ९ सय ७१ मत सदर भएको थियो । यस्तै १ नम्बरमा वडाध्यक्ष पदकी उम्मेद्वार सीता तिमिल्सिनाको १ सय ५७ मत छ । सोही वडामा स्वतन्त्र उम्मेद्वार तिलकराम अधिकारीको २७ मत छ । यो वडामा वडाध्यक्ष पदमा २ हजार २ सय मत सदर भएको थियो । धरौटी जफत हुने अन्य वडाध्यक्षहरु धेरै स्वतन्त्र उम्मेद्वार छन् । २ मा स्वतन्त्र उम्मेद्वार टंकप्रसाद बस्ताकोटी २० मत, ३ मा संघीय समाजवादी फोरमका पारश सहनी १ मत, स्वतन्त्र उम्मेद्वार भविश्वर चौधरी ८ मत छन् । ४ मा स्वतन्त्र उम्मेद्वार रामवली महतो ५ मत, ५ मा स्वतन्त्र उम्मेद्वार ताराकुमारी विक ८ मत, ७ मा स्वतन्त्र उम्मेद्वार तोरणबहादुर परियार २८ मत, ९ मा स्वतन्त्र उम्मेद्वार प्रेमप्रसाद आचार्यको ११ मत छन् ।
धरौटी जफत भएका धेरै उम्मेद्वार वडा नम्बर ८ मा छन् । यो वडामा कांग्रेस र माओवादी केन्द्रका खुल्ला सदस्य र महिला तथा दलित सदस्य सबैको धरौटी जफत भएको छ । यो वडामा १० जना उम्मेद्वारको धरौटी जफत भएको छ । १ मा वडा सदस्यका उम्मेद्वार एमालेका टीकाराम सुवेदीले १ सय ८१ मत पाएका छन् । उनले कम्तीमा २ सय १५ मत ल्याउनुपर्ने थियो । वडा नम्बर ६ को सदस्य पदमा नेपाल दलित पार्टीका पूर्णबहादुर कामीले शून्य मत ल्याएर धरौटी जफत भएको छ । धरौटी जफत हुने सबै स्वतन्त्र उम्मेद्वार छन् । माडीमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपाका उम्मेद्वारले सबै वडामा उम्मेद्वारी दिएका थिए ।
इच्छाकामनामा ८ जना
पहाडी भूभागले बनेको इच्छाकामना गाउँपालिकामा ८ जना उम्मेद्वारको धरौटी जफत भएको छ । धरौटी जफत हुनेमा अध्यक्ष र वडाध्यक्ष पदमा २÷२ जना उम्मेद्वार छन् । मुख्य तीन दलले मात्रै सातै वडा तहमा उम्मेद्वारी दिएका थिए । अध्यक्ष पदमा उम्मेद्वारी दिएका नयाँ शक्ति पार्टी नेपालका अमरबहादुर गुरुङले २७ मत, नेपाल मजदुर किसान पार्टीका पदम थापा मगरले १५ मत ल्याएका थिए ।
अध्यक्ष पदमा ८ हजार ७ सय ५६ मत सदर भएको इच्छाकामना गाउँपालिकाका निर्वाचन अधिकृत दिवाकर पौडेलले जानकारी दिए । यस्तै वडा नम्बर १ वडाध्यक्ष पदका उम्मेद्वार मधेसी जनअधिकार फोरमका सुनबहादुर चेपाङले ४ मत ल्याए । यो वडामा वडाध्यक्ष पदमा ८ सय ९० मत सदर भएको थियो । यस्तै वडा नम्बर ७ मा माओवादी केन्द्रका ५ जना नै उम्मेद्वारको धरौटी जफत भएको छ । वडाध्यक्ष पदका उम्मेद्वार बोबहादुर गोले १ सय २९ मत, सदस्य पदमा गंगाबहादुर श्रेष्ठ १ सय ३१ मत, मानबहादुर लामा १ सय २६ मत, जोनिसा प्रजा १ सय ३४ मत, टिकिमाया कामी १ सय २९ मत ल्याएका थिए । उनीहरुले १ सय ४५ बढी मत ल्याउन नसक्दा धरौटी जफत हुन पुगेको हो । अन्य स्थानीय तहमा जस्तो धेरै उम्मेद्वार यो गाउँपालिकामा थिएनन् ।