भरतपुर,१९ जेठ ।
भरतपुर महानगरपालिकाको मतगणनाका विषयमा निर्वाचन आयोगले आज निर्णय गर्ने भएको छ । हिजो भरतपुरबाट च्यातिएका मत पत्र बारेको प्रतिवेदन निर्वाचन आयोगमा पठाइएको थियो ।
निर्बाचन आयोगले यही अवस्थामा मतगणना गर्ने कि पुन मतदान गराउने भन्ने विषयमा आज निर्णय गर्ने निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए ।
हिजो भएको निरिक्षणमा भरतपुर महानगरपालिका वडा न १९को मतगणना क्रममा रहेको ९९८ मतपत्र मध्य ९० वटा मतपत्र च्यातिएर गन्न नसकिने अवस्थामा पाइएको थियो । वडा नम्बर १९ को मतगणना हुँदै गर्दा माओवादी केन्द्रका प्रतिनिधिहरुले मत पत्र च्यातेका थिए । मतपत्र च्यात्ने दुई जना माओवादीका कार्यकर्ता बिहिबारनै धरौटीमा रिहा भएका छन् ।