रत्ननगर, ९ माघ
चितवनमा भरतपुर महानगरपालिकापछि रत्ननगर नगरपालिकाले वडा कार्यालयबाटै राजस्व संकलन सुरु गरेको छ । योसँगै नगरपालिका आएर राजस्व तिर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
नगरबासीको सहजता र सेवा प्रवाहलाई प्रभावकारी बनाउन वडा–वडाबाटै राजस्व संकलन थालिएको नगर प्रमुख नारायण वनले जानकारी दिए । “सिंहदरबारको अधिकार घरघरमा’ पु¥याउने योजनाअनुसार वडाबाटै राजस्व संकलन सुरु गरेका हौं”, नगर प्रमुख वनले भने, “यसबाट नगरबासीलाई प्रत्यक्षरुपमा सहज र सरल सेवा पुग्नेछ ।” रत्ननगरले वडा नम्बर १४ र १५ बाट यो सेवा शुभारम्भ गरेको छ ।
मंगलबार रत्ननगर–१५ तथा सोमबार १४ मा यो सेवा शुभारम्भ गरिएको हो । वडा नम्बर १५ मा आयोजित कार्यक्रममा नगर प्रमुख वनले पहिलो सेवाग्राहीको रुपमा राजस्व बुझाउने स्थानीय विष्णुमाया तिवारीलाई रसिद हस्तान्तरण गरे । सो अवसरमा उनले नगरबासीलाई गाउँघरमै सेवा प्रदान गर्न वडा कार्यालयबाटै राजस्व संकलन सुरु गरिएको बताए ।
करिब ८÷९ किलोमिटरको दूरी पार गरेर बकुलहरस्थित नगरपालिकाको कार्यालयमा आउनुपर्ने अवस्था थियो । नगरपालिकाले प्रदान गर्ने अधिकांश सेवा वडाबाटै सञ्चालन गर्ने तयारीसमेत गरिएको उनले बताए । वडा नम्बर १४ मा वडाध्यक्ष हरिकुमार श्रेष्ठले वडाबाट पहिलो राजस्व बुझाउने रश्मी ढुंगाना कोइरालालाई रसिद हस्तान्तरण गरेर सो कार्यको शुभारम्भ गरेका हुन् ।
वडाबाट राजस्व संकलन सुरु गरेपछि एकीकृत सम्पत्ति कर र व्यवसाय कर बुझाउनेको वडा कार्यालयमा भीड लाग्न थालेको वडाध्यक्ष श्रेष्ठले बताए । रत्ननगरमा १६ वटा वडा रहेका छन् । आगामी एक साताभित्र सबै वडा कार्यालयबाट राजस्व संकलनको काम हुने राजस्व परामर्श समितिक संयोजक तथा उपप्रमुख विमला दुवाडीले जानकारी दिइन् ।
रत्ननगरको वडावडामै राजस्व संकलन
रत्ननगरको वडावडामै राजस्व संकलन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस