चितवन, १८ जेठ । चितवनको देवघाट स्थित गलेश्वर आश्रममा बृद्धबृद्धा तथा वटुकहरुलाई आज भोजन सेवा सहित दुध र दही वितरण गरिएको छ ।
सत्रौं विश्व दुध दिवसको अबसरमा जिल्ला पशुसेवा कार्यालय चितवन, अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था , जिल्ला दुग्ध उत्पादक कृषक समाज र जिल्ल्ला दुग्ध उत्पादक सहकारीले आज संयुक्त रुपमा देवघाटको गलेश्वर आश्रममा रहेका बृद्धबृद्धा र वटुकहरुलाई दहि र दुध खुवाएको छ ।
चितवनका स्थानिय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले दुध वितरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
एकदिनको भोजन सेवा सहित झण्डै २०० जनालाई दुध दही वितरण गरिएको जिल्ला दुग्ध उत्पादक कृषक समाजका केन्द्रिय अध्यक्ष आनन्द निउरेले जानकारी दिनुभयो । मानिसले दुध अझै आवश्यक मात्रामा सेवन गर्ननसकेको भन्दै निउरेले दैनिक दुधको सेवनले स्वास्थ्यमा समेत फाईदा पुग्ने बताउनुभयो ।
सो क्रममा जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लिराम सेढाईले दुधको उपभोग बढाउन चेतनामुलक कार्यक्रम आवश्यक भएको बताउनुभएको थियो ।
उहाँले दुधले शरिरलाई चाहिने पोषकतत्वहरु धेरैमात्रामा प्राप्त हुने भएकाले दैनिक दुध सेवन गर्नुपर्ने बताउनुभयो ।
उहाँका अनुसार नेपालमा अझै प्रतिव्यक्ति ९० लिटर दुध पिउनुपर्नेमा ७० लिटर मात्रै उपभोग भैरहेको छ । अन्नपूर्ण दुग्ध उत्पादक सहकारीका अध्यक्ष भागिरथ तिमिल्सिनाले व्यवसायीक दुध उत्पादमा राज्यको ध्यान आवश्यक हुने भन्दै उपभोक्ताहरुले समेत दुधको उपभोग बढाउन जरुरी रहेको बताउनुभयो ।
दुग्ध क्षेत्रको प्रवद्र्धन, आर्थिक र समाजिक रुपान्तरण भन्ने नारा सहित मनाईएको दुध दिवसका अबसरमा नेपालमा मासु, अण्डामा आत्मनिर्भर भएको र दुध आत्मनिर्भरतर्फ अगाडी बढ्दै गएको जानकारी गराईएको थियो ।
चितवनमा जिल्लामा अहिले दैनिक साँढे २ लाख लिटर जती दुध उत्पादन हुन्छ । नेपालमा दैनिक करिव १८ लाख लिटर दुध उत्पादन हुन्छ ।
अहिले नेपालमा दुधको उपभोग अझै कम रहेको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ । नेपालमा ७ लाख मेट्रिक टन दुध उत्पादन हुनसके आत्मनिर्भर हुने देखिएको उनीहरुले बताएका छन् ।