हेम रोकाहा/कायाकैरन
भरतपुर,१८ जेठ ।
पछिल्लो समय युवाले धूमपानलाई फेसनको रुपमा लिएको पाइन्छ । जसले अधिकांश युवा पछिल्लो समय धूमपानको कूलतमा फसेका छन् । यसले देशको कर्णधारको रुपमा रहेका युवाको भविष्यमा नकारात्मक असर पारेको छ ।
धूमपान गर्नाले मानिसको शरीरका विभिन्न अंगमा असर गर्छ । धूमपानबाट मानिसको फोक्सोमा त असर पुग्छ नै यसबाट मस्तिष्कलाई समेत असर पार्ने चिकित्सकहरु बताउँछन् । धूमपानले सोच्ने शक्ति र तर्कसँग सम्बन्धित शक्तिलाई समेत असर पार्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । किङ्स कलेज लन्डनका अनुसन्धानकर्ताहरुले ८ हजार ८ सय जना व्यक्तिमा गरेको सर्भेक्षणमध्ये ५० जनाभन्दा धेरैमा उच्च रक्तचाप हुने गरेको देखाएको छ । अनुसन्धानकर्ताका अनुुसार धूमपान गरेमा हृदयाघात या स्ट्रोक, मस्तिष्क र शारीरिक स्वास्थ्यमा समेत गम्भीर असर पर्दछ । विश्वभर सुर्तीजन्य पदार्थको प्रयोगका कारण हरेक वर्ष ६० लाख र प्रयोग नगरेपनि त्यसको प्रभावका कारण ६ लाख जनाको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा वर्सेनि १५ हजारभन्दा धेरै नागरिकको मृत्यु सूर्ति सेवनका कारण हुने गरेको छ । यसको प्रयोग नरोकिए आउँदो सन् २०३० सम्म ८० लाखले ज्यान गुमाउनुपर्ने र जसमध्ये ८० प्रतिशत न्यून र मध्यम आय भएका देशका नागरिक रहने संगठनले जनाएको छ ।
क्यान्सर रिसर्च यूकेका अनुसार संसारका मानिसहरुमा क्यान्सर हुनुको पहिलो र ठूलो कारण भनेको धूमपान हो । धूमपानका कारण १४ भन्दा बढी किसिमका क्यान्सर हुनसक्ने क्यान्सर रिसर्च यूकेले जनाएको छ । संसारभरि हरेक दिन १५ अरब चुरोट बिक्छ भने हरेक मिनेट १ करोड चुरोट बिक्री हुने एक तथ्यांकले देखाएको छ । हरेक ८ सेकेन्डमा एकजनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ भने हरेक १० जनामध्ये १ जना बयस्कको अकालमा मृत्यु संसारभरि धूमपानका कारण हुने गर्छ । विश्वमा युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटनाभन्दा दुई गुणा ज्यादा मानिसको मृत्यु धूमपानका कारण हुने सो तथ्यांकले देखाएको छ ।
हरेक वर्ष जेठ १७ गते धूमपानलाई विश्वबाट नै निरुत्साहित पार्नको लागि विश्व धूमपान रहित दिवस मनाउने गरिन्छ । यसवर्ष ‘सुर्तीजन्य पदार्थले विकासलाई अवरोध गर्छ’ भन्ने नारा तय गरिएको थियो । दिवसको अवसरमा बुधबार विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमका साथै सुर्तीजन्य पदार्थले मानव स्वास्थ्ययमा पर्ने असरका बारेमा जनचेतना जगाउने सन्देश दिइएको छ । विश्व स्वास्थ्य संघले सन् १९८७ देखि सुर्तीजन्य पदार्थको जोखिमका विषयमा विश्वव्यापी ध्यान केन्द्रित गर्न सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाउने निर्णय गरेयता विश्वव्यापीरुपमा यो दिवस मनाइदै आइएको छ । यो दिवसले सुर्तीजन्य उद्योगहरुका गलत र हानीकारक रणनीतिका बारेमा नीति निर्माता र आम नागरिकलाई शिक्षित गर्ने उद्देश्य लिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।