विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१८ जेठ ।
मत्स्य सर्वेक्षण २०७२ को प्रारम्भिक सर्वेक्षणले चितवनमा २७ हजार क्वीन्टल बढी माछा उत्पादन हुने गरेको देखाएको छ । २०७१ साउनदेखि २०७२ असार मसान्तको अवधिमा सञ्चालनमा रहेका माछा उत्पादन पोखरी तथा छडी माछा पोखेरीलाई आधार बनाएर गरिएको सर्वेक्षणले चितवनमा माछापालन व्यवसाय व्यवसायीकरण हुँदै गएको पुष्टि गरेको छ ।
केन्द्रीय तथ्यांक विभागअन्तर्गत कृषि तथा वन शाखाका निर्देशक वीरेन्द्र कायस्थले नेपालभरिबाट मत्स्य तथ्यांक संकलन गरी पहिलोपटक सर्वेक्षण गरिएको बताए । नारायणगढमा आयोजित सरोकारवालासँगको बैठकमा दिइएको प्रारम्भिक सर्वेक्षणबारे जानकारीअनुसार चितवनका २ हजार १ सय २६ माछा पोखरीमा सर्वेक्षण गरिएको थियो । देशभर रहेका पोखरीमध्ये चितवनमा ९ प्रतिशत छन् । सर्वेक्षणले ६५ जिल्लामा मत्स्यपालन भएको देखाएको छ । सर्वेक्षणमा देशभरका कूल २४ हजार ५ सय ५६ पोखरीलाई आधार बनाइएका छन् । माछा धेरै उत्पादन हुने ५३ जिल्लामा नमूना सर्वेक्षण, १२ जिल्लाका प्रत्येक पोखरीलाई आधार बनाएर सर्वेक्षण गरिएको जानकारी कायस्थले दिए ।
चितवनमा ५ सय ५५ हेक्टरमा माछा उत्पादन तथा छडी माछा उत्पादन हुने गरेको उनले बताए । “सर्वेक्षणमा माछाको नर्सरीलाई लिइएको छैन”, उनले भने, “यो सर्वेक्षणले चितवन माछापालनका लागि अब्बल जिल्लाका रुपमा रहेको देखाएको छ ।” सर्वेक्षणका क्रममा ७२ हजार २ सय माछापोखरी भेटिएको बताए । ९३ प्रतिशतमा माछा उत्पादन र ७ प्रतिशत छडी माछा उत्पादन हुने पोखरीको सवेक्षण भएको जानकारी दिए । नेपालमा १० हजार १ सय ३८ हेक्टरमा माछापालन भएको पाइएको छ । चितवनमा ४ सय १८ हेक्टर जलासय रहेको पाइएको छ । चितवनमा ४ हजार ७९ जनाले माछापालनमा रोजगारी पाएको उनले बताए । “स्थायी कामदारलाई ३ करोड ६९ लाख २० हजार ७ सय ८८ रुपैयाँ तलब खर्च भएको छ”, उनले भने, “अस्थायी कामदारलाई १ करोड ४१ हजार ३ सय ६२ रुपैयाँ खर्च भएको छ ।”
भुरा उत्पादनमा चितवनमा वार्षिक ३ करोड ४१ लाख ७५ हजार २ सय ६० रुपैयाँ खर्च भएको छ । “रोजगारीमा चितवनको माछापालनले राम्रो अवसर दिएको देखिन्छ”, उनले भने, “ज्यालादारी कामदार अन्य क्षेत्रको तुलनामा बढी प्रयोग गरिएको छ ।” चितवनमा बढीमात्रामा रहु, नैनी जातका माछा बढी उत्पादन हुने गरेको सर्वेक्षणले देखाएको छ । चितवनमा ५१ मेट्रिक टन छडी माछा उत्पादन भएको सर्वेक्षणले देखाएको छ । “एक केजी माछा उत्पादन गर्दा चितवनमा २ सय रुपैयाँ लागत छ”, उनले भने, “देशभरको तथ्यांक केलाउँदा सरदर २ सय २९ रुपैयाँ पर्छ ।”
नेपालमा ७ अर्ब १७ लाख १३ हजार ८६ हजार ६ रुपैयाँ बराबरको माछा वार्षिकरुपमा उत्पादन भएको देखिएको छ । “चितवनमा ५२ प्रतिशत किसानले ऋण लिएर माछापालन गरेका छन्”, देशभरमा भने २६ प्रतिशत किसानले ऋण खोजेर माछापालन गरेका छन् ।” संकलित तथ्याङ्क हेर्दा माछा उत्पादनमा १ सय रुपैयाँ लगानी गर्दा १८८ रुपैयाँ बराबरको प्रतिफल दिने बताए । सोही अवसरमा केन्द्रीय तथ्यांक विभागअन्तर्गतको कृषि तथा वन शाखाका निर्देशक जयकुमार शर्माले कृषि उत्पादन लाग सर्वेक्षण लिइएको जानकारी दिए ।
तथ्यांक कार्यालय चितवनका प्रमुख जीवनाथ आचार्यले चितवनका किसानसँग पनि कृषि उत्पादन लागतबारेको विवरण संकलन भइसकेको बताए । “तथ्यांक लिने काम सकिएको छ, विवरण इन्ट्री गर्ने काम भरहेको छ”, उनले भने, “अर्को हप्ता चितवनबाट विभागमा चितवनको सर्वेक्षण पठाइने छ ।” ३५ बालीमा लाग्ने लागतबारे सर्वेक्षण गरिएको हो ।