भरतपुर,१८ जेेठ ।
पर्याप्त जनचेतना बिस्तार गर्न सके मानव बेचबिखनका घटना न्यूनीकरण हुन सक्नेमा सरोकारवालाले सुझाव दिएका छन् । माइती नेपाल चितवनको आयोजनमा भएको समन्वय वैठकमा सहभागी अगुवाहरुले मानव बेचबिखनमुक्त समाज निर्माण गर्न हातेमालो आवश्यक रहेको बताए ।
जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले बेचबिखन रोकथाम गर्न विद्यार्थीलाई पर्याप्त जानकारी दिन सकिए प्रभावकारी हुने बताए । “बेचबिखन तथा ओसारपसार, वैदेशिक रोजगारीमा ख्याल राख्नुपर्ने कुराबारेका प्रचार सामग्री धेरै आवश्यक कुरा हुन्”, उनले भने, “बालबालिकालाई योबारे जानकारी गराउन सकिए चेतना फैलाउन सहज हुन्छ, हरेक विद्यालयमा यसबारे कक्षा चलाउन सके प्रभावकारी बन्छ ।” उनले विगतमा ‘ट्रान्जिट प्वाइन्ट’ भनेर चितवन चिनिथ्यो”, उनले भने, “अहिलको अवस्था के हो, अध्ययन थालौं, सोहीअनुसार अभियान चलाऔं ।” जिल्ला प्रहरी कार्यालय चितवनको मुद्दा शाखाका प्रहरी निरीक्षक अञ्जना श्रेष्ठले बेरोजगार समूहलाई लक्षित गरी चेतनामूलक कार्यक्रम गरिनुपर्ने बताइन् ।
“स्कूल छाडेका, पढ्दै नपढेकालाई बढी प्राथमिकतामा पारौँ”, उनले भनिन्, “रोजगारीका लागि विदेश जान तयार भएका महिला तथा किशोरीलाई योबारे पर्याप्त जानकारी दिनुपर्छ, गाउँ–गाउँमा सचेतना फैलाउनुपर्छ ।” महिला तथा बालबालिका कार्यालय चितवनका महिला विकास अनुगमन अधिकृत अप्सरा देवकोटाले गाउँ तहसम्म बेचबिखनविरुद्ध कार्यक्रम पु¥याउन लाग्नुपर्ने बताइन् । “कार्यालयले कार्यक्रम गर्दा यो विषयमा छलफल गर्ने गरिएकै छ”, उनले भनिन्, “सबै सरोकारवाला पक्ष गम्भीर भएर लाग्नुपर्छ ।”
महिला अधिकारकर्मी सुशीला पाण्डेले शहरबजारमा यौन व्यवसाय सञ्चालन गर्नेहरुले बेचबिखन तथा ओसारपसारका घटनालाई प्रसय दिएको बताइन् । “समाजबाट विकृत कुरा हटाउन छाडेर बढावा दिन केही लागेका छन्”, उनले भनिन्, “त्यस्ता व्यवसाय गर्नेलाई दण्ड सजाय गरिनुपर्छ ।” उनले गाउँ तहसम्म नेटवर्क विस्तार गरेर बेचबिखनविरुद्ध अभियान चलाइनुपर्ने बताइन् । पाठ्यक्रममा सचेतनामूलक विषय राख्न सकिए प्रभावकारी हुने धारणा उनको छ ।
प्रसय दिने काममा होटल
माइती नेपाल चितवनले केही होटल तथा रेष्टुरेण्टले विदेश पठाइदिने भन्दै मानव बेचबिखनलाई प्रोत्साहन दिएको पाइएको जनाएको छ । सरोकारवाला सरकारी निकायसँगको समन्वय बैठकमा माइती नेपालका क्षेत्रीय संयोजक युवराज दवाडीले मानव बेचबिखनलाई प्रसय दिइरहेका होटलबारे सूक्ष्म अध्ययन भइरहेको बताए ।
“२–४ होटल तथा रेष्टुरेण्ट छन्, विदेश पठाइदिने भन्दै दलाल भेटाउने काममा लागेका छन्”, उनले भने, “कुराकानी गराउने, मान्छे भेटघाट गराउने गरेका छन्, चाँडै प्रभावित महिला भेटेर तथ्य सार्वजनिक गर्नेछौँ ।” उनले लमजुङ, उदयपुर, पाल्पालगायत जिल्लामा यस्ता घटनाका पीडित महिला तथा किशोरीमार्फत मुद्दा दर्ताको प्रक्रियामा रहेको बताए । होटल सञ्चालकको सहयोग तथा समार्थनमा भएका घटना रोक्न माइती नेपालले सम्बन्धित निकायलाई प्रमाणसहित सूचना दिएर कारबाही गराउने बताए । मानव बेचबिखन तथा ओसारपसार कार्यमा होटल रेष्टुरेण्टको बढ्दो प्रयोग रोक्न कारबाही अभियान चलाइनुपर्ने धारणा राखे ।
८४८ लाई सेवा
माइती नेपाल चितवनले पछिल्लो ५ महिनामा ८ सय ४८ जनालाई सेवा दिएको छ । जसमध्ये बेचबिखनमा पर्न लागेका २७ जनालाई विशेष सूचना तथा निगरानीका आधारमा परिवारमा पुनर्मिलन गराएको छ । बेचिन लगिदै गरेका १ सय २२ जनालाई घर फर्काइएको जनाएको छ ।
यौन पेशामा संलग्न गराउन, थोरै ज्यालामा काममा लगाउन, शारीरिक अंग विक्रि गर्न, अपराधिक क्रियाकलापमा लगाउन बेचविखन तथा ओसारपसार गर्ने गर्दछन् । हराएमा, अलपत्र परेमा, दुव्र्यवहार भएमा, वेवारिसे परेमा यस्ता घटना बढी हुन गर्दछन् । माइती नेपाल चितवनकी जयन्ती खनालले बेचबिखनमा परिसकेका ११ महिला तथा किशोरीलाई माइती नेपालको अगुवाईमा उद्धार गरिएको बताइन् । उनले प्रलोभनमा पारि, अपहरण गरि एक ठाउँबाट अर्को ठाउँमा बेचबिखन तथा ओसार पसार गर्न सक्ने भएकाले ७१ सवारीमाथि अनुगमन गरिएको जानकारी दिइन् । ५ महिनाको अवधिमा १ सय ४३ जनालाई वैदेशिक रोजगारीबारे प्रत्यक्ष जानकारी गराइएको बताइन् ।
बालबालिका तथा महिला हराएको भन्दै ७१ निवेदन कार्यालयमा परेकोमा १७ जनामात्रै फेला परेको जानकारी दिइन् । कार्यालयमा घरेलु हिंसा भएको भन्दै परेका ५२ निवेदन मध्ये २ वटामात्रै कार्यालयले आफै समाधान गराएको बताइन् । अन्य निवेदन कानूनी सहायता केन्द्र, मेलमिलाप केन्द्र, प्रहरी महिला सेलमा पठाइएको जानकारी दिइन् । मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्रममा ४ सय ७२ जना विद्यार्थी सहभागी भएको जानकारी दिइन् ।
माइती नेपालले जोखिमबाट बचाउने, कानूनी सहायता दिने, प्रहरीको सहयोगमा पीडकको खोजी गरी कारबाहीका लागि पहल गर्ने, पारिवारिक पुनर्मिलन गराउने, सुरक्षित वैदेशिक रोजगारका लागि परामर्श दिने, शोषण हुनबाट जोगाउने जस्ता काम गर्दै आएको छ । करिब दुई वर्षअघि सञ्चालनमा ल्याएको पुनस्र्थापना केन्द्र (सेल्टर) बाट यो वर्ष २७ जनाले सेवा लिएका छन् । गतवर्ष १ सय २ जना, अघिल्लो वर्ष २९ जनाले सेवा लिएका थिए । “भागेका, बेचबिखनमा परेका, बलात्कारका घटनाका पीडितले बढी आश्रय लिएका छन्”, माइती नेपालकी जयन्ती खनालले भनिन्, “बढीमा तीन महिना राखेर हेरचाह गरेका छौँ ।”