विनोदबाबु रिजाल
केही समयदेखि प्रतीक्षा थियो नेपाली चलचित्र प्रसादको । मंसिर २१ गतेदेखि हलमा लागेको यो चलचित्र हेर्नुपर्छ भन्ने ट्रेलर हेरेदेखि नै लागेको थियो । दोस्रो दिन शनिबार बिहानै यसको लागि साइत जु¥यो ।
समाजमा युगौंदेखि भोग्दै आएको तर, साहित्य वा रंगमञ्चमा कम आएको घटना विवरण हो प्रसाद । यसमा साह्रै अनौठो घटनाक्रम छैन । भयंकर दृश्य संयोजन पनि छैन । अलौकिक संवाद पनि छैन । तर, ‘युनिक’ लाग्छ । कथाक्रममा आउने आवेग, करुणा, अत्यास, भय र उकुसमुकुसले दर्शकलाई मज्जाले तानेको छ ।
प्रसादले अन्तरजातीय विहेपछि गाउँबाट लखेटिएका एक दम्पत्तिको कथा भन्छ । यो त पुरानै भयो नि । हो, अन्तरजातीय विहे र त्यसपछिको सामाजिक तिरस्कार अनि संघर्षको कथा पुरानै हो । तर, प्रसादले अन्तरजातीय विहेले निम्त्याएको द्वन्द्वलाई पछ्याउँदैन । बरु उनीहरुको जैविक समस्या ‘निसन्तानपन’ ले ल्याएको जबरजस्त मनोवैज्ञानिक समस्यालाई उजागर गर्छ ।
हाम्रो घरमै वा छिमेकमा निसन्तान दम्पत्ति कयौं देखेका छौं । भोगेका छौं । निसन्तान हुनु कसैको रहर होइन । विविध कारणले सन्तान रोकिएला । धेरैले यसलाई पूर्वजन्मको पापको फल भन्छन् । दोष मेटाउन अनेक हत्कण्डा गरिन्छन् । पुरुषले सन्तानकै लागि दोस्रो विहे गरेका धेरै घटना हाम्रै गाउँघरमा देखिएकै हो । सन्तानको लालसा कति हुन्छ र प्राप्त गर्ने माध्यमले कति फरक पार्छ भन्ने कथा प्रसादमा छ ।
बाबुराम (विपिन कार्की) बाग्लुङको सामान्य गाउँका परियारका छोरा हुन् । उनको आर्थिक अवस्था कमजोर छ । शिक्षादीक्षा कम छ । तर, उनले गाउँकै गन्नेमान्य वडाध्यक्ष कार्कीकी छोरी नारायणी (नम्रता श्रेष्ठ) भगाउँछन् । त्यसपछि समाजबाटै खेदिन्छन् । हुन त चलचित्रले उनीहरु खेदिएको देखाउँदैन । तर, कथाक्रममा यो खुल्छ ।
विनायोजना उनीहरु काठमाडौं छिर्छन् । गाउँकै एक साथीको सहयोगमा सामान्य काम पाउँछन् । कथाक्रममै उनले बालसखा रमेश (निश्चल बस्नेत) लाई भेट्छन् । सुन्दर क्षेत्रीकी छोरी नारायणीलाई रमेशले आँखा लगाउँछ । विहेको २ सालसम्म पनि बच्चा नभएपछि बाबुराम दम्पत्ति अस्पताल जान्छन् । तर, बाबुरमकै कारण सन्तान नभएको थाहा भएपछि कथाको वास्तविक द्वन्द्व सुरु हुन्छ । त्यसपछि बच्चाकै लागि बाबुरामले गरेको संघर्ष र नारायणीको पेटमा अकस्मात आएको अर्कैको गर्भका कारण सम्बन्धमा आएको दरार वरिपरि चलचित्र घुमेको छ ।
मध्यान्तरअघि चलचित्र ठीकठाकै छ । कथाको पृष्ठभूमि तयार गर्न मध्यान्तरसम्म लागेको छ । तर, मध्यान्तरपछिको मनोवैज्ञानिक द्वन्द्व हेर्नलायक छ । बाबुरामले आफ्नो निसन्तानपनबारे श्रीमतीलाई भनेका हुँदैनन् । तर, नारायणीको बलात्कारबाट गर्भ बस्छ । एउटा पतिलाई आफूमा निसन्तानपन रहँदारहँदै पत्नीको गर्भ अरु कसैले बलात्कार गरेर भरिदिएको थाहा पाउनुपर्दा कस्तो मनोदशा आइपर्ला भन्ने कुरा चलचित्रमा देख्न सकिन्छ । सन्तान चाहिएकै हो । जुनसुकै हालतमा सन्तान जन्माउनु नै थियो । गर्भ रहन्छ पनि । तर, अरु कसैको जबरजस्तीबाट रहेको गर्भ हामीलाई चोखो लाग्दैन । र बाबुरामलाई पनि ।
चलचित्रका केही घटनाक्रम यति दमदार छ कि यसले नेपाली समाजमा ठूलो बहस सिर्जना गर्न सक्छ । जस्तो बाबुराम बच्चाका लागि पत्नीको कोखमा टेस्ट्युब बेबी हुर्काउन तयार हुन्छ । त्यहीबेला रमेशले नारायणीलाई बलात्कार गर्छ । र उसैको गर्भ बोक्छे । बाबुराम त्यो बच्चा र आमा दुवैलाई स्वीकार्न तयार हुन्न । यहीबेला नारायणीले भन्छिन्, “टेस्ट्युब बेबी पनि अर्कैको वीर्यबाट बन्ने हो, यो पनि अर्कैको वीर्यको कोख हो, के फरक प¥यो त ?” नारायणी अझै थप्छिन्, “बीउ उत्पादन गर्नेको अधिकार फलमाथि हुँदैन, फलको अधिकार किसानलाई हुन्छ, म यो फलको किसान हुँ, यसमा मेरो अधिकार हुन्छ ।” वास्तवमै यी संवाद निकै शक्तिशाली छन् ।
चलचित्रमा भयानक फाइट छैनन् । भव्य सेट छैनन् । आइटम गीत, ग्ल्यामर प्रदर्शन, भव्य महल केही छैनन् । साच्चै भन्दा धेरै समय बाबुराम र नारायणी बस्ने काठमाडौंको सामान्य कोठामै सकिन्छ । तर, यी दृश्य कत्तिपनि पट्यारलाग्दो छैन । सामान्य विषय तर, भिषण मनोविज्ञान । उकुसमुकुस पार्ने मनोदशा । कथाको द्वन्द्व यही हो । धेरै नेपालीको घरमा हुने निसन्तानपनबारे चलचित्र बन्न सक्छ भन्ने धेरैले सोचेका थिएनन् सायद । तर, यो सामान्य विषयले दम्पत्तिको सम्बन्ध, दैनिकी, मनोभाव, व्यवहार आदिमा कत्ति फरक पार्दोरहेछ भन्ने कुरा यो चलचित्रले देखाएको छ ।
दिनेश राउतले कुनै सामान्य लाग्ने विषयले मनोविज्ञानमा कस्तो असर पार्न सक्छ भन्ने कुरा चलचित्रमा देखाएका छन् । यसअघि चलचित्र ‘पर्व’ मा पनि उनले मनोवैज्ञानिक पाटोलाई मज्जाले केलाएका थिए । प्रसादमा उनको क्षमता थप उजेलिएको छ । केही सामान्य गल्ती छोड्ने हो भने उनको काममा प्रश्न उठाउने ठाउँ छैन ।
चलचित्रका कथाकार सुशील पौडेल हुन् । लामो समयदेखि कान्तिपुर दैनिकमा उनले अरुको चलचित्रलाई चिरफार गरिरहेका छन् । समीक्षामार्फत उनले अन्य कथाकार र निर्देशकको काममा खोट देखाउँदै आएका छन् । यसपालि उनी आफै यो कठघरामा उभिएका छन् । धेरै हदसम्म उनी सफल भएका छन् । उनले भनिसकेका छन् कि, प्रसादको कथा लामो समयदेखि उनको दिमागमा थियो । गाउँघरमा देखिएका कयौं दम्पत्तिको समस्याले उनलाई उकुसमुकुस बनाएको थियो । त्यसैलाई यसपालि उतारेका हुन् उनले । हुन पनि प्रसाद हाम्रै कथा हो । हाम्रै समाजको कथा हो ।
चलचित्रको अझै बलियो पक्ष विपिन कार्की र नम्रता श्रेष्ठको अभिनय हो । नेपाली चलचित्र क्षेत्रमा विपिन कार्की स्थापित नाम हो । अभिनय क्षमताको हिसाबले विपिनलाई अब चिनाइराख्नु पर्दैन । उनले हरेक चलचित्रमा फरक चरित्र गरेका छन् । सामान्य पात्र तर गहन अभिनय । उनको विशेषता यही हो । हरेक पात्रलाई न्याय गर्नु उनको बलियो पक्ष हो । उनको सुगठित शरीर छैन । चकलेटी अनुहार पनि छैन । तर, पात्रको चरित्रमा डुब्नु उनको विशेषता हो । बाग्लुङको सामान्य दलित युवाको चरित्रलाई उनले यति न्याय गरेका छन् कि, जति तारिफ गरेपनि थोरै हुन्छ । बाग्लुङको लवज, दर्जीको कामकाज, लवाइखुवाइ, रहनसहन उनले टपक्कै टिपेका छन् ।
नेपाली चलचित्रको दमदार महिला हस्ताक्षर हुन् नम्रता श्रेष्ठ । उनी पनि चुनौतीपूर्ण चरित्रमा रमाउँछिन् । प्रसादमा उनले सामान्य गाउँले युवतीको चरित्र निर्वाह गरेकी छन् । उनले फरक चरित्र गरेकी त होइनन् । तर, अभिनय दमदार छ । एउटी पतिब्रत सामान्य युवतीको भूमिकामा उनी खुब सुहाएकी छन् । संवाद् बोल्ने शैली, हाउभाउ, वेशभुषा सबैमा उनी शक्तिशाली देखिएकी छन् ।
बरु निश्चलको अभिनय तारिफ नै गर्नुपर्ने छैन । औसत छ । निश्चलको परिचय निर्देशकको हो । तर, पछिल्लो समय उनले आफ्नो परिचय फेर्दै गएका छन् । उनी विस्तारै अभिनेताको परिचय बनाउँदै छन् । तर, ठीकठाक । अभिनयमा उनी अनौठो लाग्दैनन् । अरु चलचित्रमा जस्तै । प्रसादमा उनी नकारात्मक भूमिकामा छन् । औसत अभिनय गरेका छन् ।
चलचित्र आउनुअघि ‘नि लै लै’ गीतलाई निर्माण पक्षले प्रचारमा ल्याएको थियो । यही गीतकै कारण हलसम्म तानिने दर्शक पनि होलान् । तर, २ घण्टा १५ मिनेटको चलचित्रमा यो गीत पूरा सुन्न र हेर्न पाइदैन । चलचित्र रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले नेपाल आइडलका सहभागी विक्रम बरालको स्वरमा गीत रेकर्ड पनि गराएको हो । यसलाई प्रवद्र्धनको हतियार बनाइयो । उनले गाएको गीत केहीबेर पाश्र्वमा बज्छ । तर, मूल गीत कहिंकतै एकलाइन बाहेक सुनिन्न । सायद निर्माण पक्षले पुरानो गीतलाई विक्रम बरालको गीतले रिप्लेस गरेका होलान् । तर, दर्शकलाई भने यही कुराले खल्लो लाग्न सक्छ ।
चलचित्रको अन्त्यतिर नम्रताले परपुरुषको बच्चा जन्माउँछिन् । विपिनले पनि त्यसलाई सहर्ष स्वीकार्छन् । र भन्छन्, “मन्दिरमा चढाएर चोख्याइएपछि हरेक कुरा प्रसाद बन्छ । प्रसाद बनाएको फल कहाँ फलेको वा कहाँबाट ल्याएको भन्ने खोजी गर्दैनौं ।” उनीहरुले बच्चालाई पनि प्रसादकै रुपमा ग्रहण गर्छन् । त्यसपछि बच्चा बोकी गाउँ फर्किन्छन् । पहिले उनीहरुलाई अन्तरजातीय विहेकै कारण खेदेको गाउँ छुवाछूतमुक्त बनिसकेको हुन्छ । यो हिसाबले चलचित्रले दुई विषयमा क्रान्तिकारी अभिव्यक्ति दिएको छ । एउटा जातीय छुवाछूत र अर्को परिबन्धले ग्रहण गरेको परपुरुषको गर्भको स्वीकार । यी दुवै समाजका क्रान्तिकारी कदम हुन् ।