१७ जेठ । सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार १४ गते गर्ने भएको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चार प्रदेशका लागि स्थानीय तहको निर्वाचन असार १४ गते गर्ने निर्णय गरेको हो । असार ९ गतेका लागि सारिएको निर्वाचन मुस्लिम समुदायको पर्व रमजानको महत्वपूर्ण दिन पर्ने भएकाले असार १४ गतेका लागि सारिएको हो ।
गृहमन्त्री विमलेन्द्र निधिले असार ९ गते मुस्लिम समुदायको रमजानको महत्वपूर्ण दिन शुक्रबार परेकाले मौसमविद्को सल्लाहमा १४ गतेका लागि सारिएको जानकारी दिए । चुनाव सार्नेबारे प्रधानमन्त्रीले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए ।
निर्वाचन आयोगले ७४४ वटै स्थानीय तहको चुनाव एकैपटक वैशाख ३१ गते गर्नेगरी तयारीलाई अन्तिम चरणमा पुर्याएका बेला त्यसअघि पनि सरकारले राजनीतिक वातावरण कायम गर्ने भन्दै दुई चरण चुनाव गर्नेगरी दोस्रो चरणको चुनाव यही जेठ ३१ गते गर्ने निर्णय गरेको थियो ।
मौसमको हिसाबले असार ९ या १४ मा खासै भिन्नता नभएकाले राष्ट्रिय जनता पार्टी राजपालाई समेत चुनावमा सहभागी गराउन सजिलो हुने गरी सरकारले अर्को मिति घोषणा गरेको हो । सरकारले निर्वाचन ऐन संशोधनका लागि मंगलबार संसदमा प्रस्तावसमेत दर्ता गरेको छ । राजपालाई उम्मेदवारी मनोनयनमै देखिएको कानुनी जटिलता हटाउन ऐन संशोधन गर्न लागिएको हो ।
तर, राजपाले अहिलेसम्म निर्वाचनमा जाने कि नजाने भन्ने औपचारिक निर्णय गर्न सकेको छैन । राजपाका शीर्ष नेताहरू मंगलबार कांग्रेस सभापति देउवाले बोलाएको सर्वदलीय बैठक छाडेर भारतीय राजदूतलाई भेट्न लैनचौरस्थित दूतावास पुगेका थिए । भारतीय राजदूत मञ्जिभसिंह पुरीले आन्दोलनकै रूपमा निर्वाचनलाई उपयोग गरी मधेस आन्दोलनका उपलब्धि संस्थागत गर्न सुझाव दिएपछि राजपाका नेताहरू अन्योलमा परेका छन् ।