नारायण अधिकारी
भरतपुर, १२ मंसिर
नारायणगढ बजार क्षेत्रमा खाली सटर भाडामा लिने व्यवसायीले ‘सलामी’ वापत ठूलो रकम तिर्नुपर्ने बाध्यता अझै हटेको छैन । लामो समयदेखि यसको विरोध गरिएपनि हटाउन सकिएको छैन ।
घरधनीले खाली सटर दिँदा मात्रै होइन एक व्यवसायीले व्यापार छोडेर अर्काे व्यापारीलाई खाली ठाउँ दिँदासमेत ख्याती (गुडविल) को नाममा ठूलो रकम लिने गरेका छन् । यसैलाई सलामी रकम भनिन्छ । घरबहाल उपभोक्ता मञ्च चितवनका सल्लाहकार विष्णु कँडेलले एक व्यवसायीले खाली सटर अर्काे व्यवसायीलाई दिँदा रु ६० लाखसम्म लिने गरेको बताए । यसरी ठाउँ दिँदा घरधनीको समेत मिलेमतो भएर ठूलो रकम लिने गरेको उनले बताए ।
नारायणगढको मिलनरोड, लायन्सचोकदेखि पुल्चोकसम्मको मुख्य सडक क्षेत्रलगायतका प्रमुख व्यापारिक ठाउँमा यस्तो प्रथा जारी रहेको कँडेलले बताए । मिलनरोडमा सुनचाँदी व्यवसाय गर्दै आएका एक व्यापारीले सलामीको विकृति बढेको भन्दै पत्रकारलाई समाचार सम्प्रेषण गर्न आग्रहसमेत गरेका थिए । उनले भने, “व्यापारमा लगानी गर्नुपर्ने रकमभन्दा सलामी रकम धेरै भयो ।” मुख्य शहरी क्षेत्रमा एउटा सटरको मासिक भाडा रु ८० हजारसम्म पर्ने गरेको सञ्जु एयरकण्डिसनका सञ्चालकसमेत रहेका कँडेलले बताए ।
मञ्चका पूर्वअध्यक्ष प्रभात ढुंगाना घरधनीले नयाँ ठाउँ दिँदा रु २० लाखसम्म सलामी रकम लिने गरेको बताए । पछिल्ला वर्षमा सलामी रकमलाई धरौटीका नाममा लिने गरेको उनले बताए । खाली ठाउँलाई धेरै रकम तिरेर लिनुपर्दा नयाँ व्यवसाय गर्न चाहने मर्कामा पर्ने गरेको उनको भनाइ छ । मञ्चका अध्यक्ष पवित्रा जोशीले यसरी अस्वाभाविक रुपमा घरधनी र व्यवसायीले रकम लिनु राम्रो नभएको बताए । यसले विकृति पैदा गर्ने भन्दै उनले स्वस्थ ढङ्गबाट व्यवसाय गर्नुपर्नेमा जोड दिए ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले आधिकारिक रुपमा यस्ता विषय नआउने भए पनि सुन्नमा आएको बताए । यो विकृति भएको भन्दै उनले पैसा दिने र लिने दुवै दोषी रहेको बताए । यसलाई प्रोत्साहन गर्दै लगिएको भन्दै उनले भविष्यमा ठूलो समस्या आउन सक्ने बताए । व्यवसायी–व्यवसायीका बीचमा ठाउँको कारोबार हुँदा पछि लिनेलाई घरधनीले ठाउँ दिन अस्वीकार गरेमा लिने व्यवसायी फस्ने समस्या आउन सक्ने प्रधानको भनाइ छ । महँगो सलामी र भाडाको मार भने उपभोक्ता र राजश्वमा परेको छ ।
यस्ता व्यवसायीले सलामी रकम, बहालकर राजस्वमा देखाउँदैनन् । न्यून भाडा देखाएर कर तिर्दै आएको पाइन्छ । यसमा घरधनीसँग उनीहरूको सहमति भएको हुन्छ । लाखौँ रुपैयाँको सलामी र महँगो भाडा असुल्नका लागि व्यवसायीले उपभोक्तासँग चर्काे मूल्य असुल्ने गरेको आरोप लाग्ने गरेको छ ।रासस
,,,,,,,,,,,
नारायणगढको सटर भाडामा अझै ‘सलामी ‘
नारायणगढको सटर भाडामा अझै ‘सलामी ‘
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस