विप्लव काफ्ले
भरतपुर,१७ जेेेठ।
निर्वाचन आयोगले गठन गरेको अनुगमन टोलीले भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा भएको घटनाबारे विवरण संकलन गरेको छ । आइतबार राति मतपत्र च्यातिएपछि सो घटनाबारे बुझ्न अनुगमन टोली चितवन आएको थियो ।
अनुगमन टोलीका संयोजक सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले बुधबार तथ्यगत प्रतिवेदन निर्वाचन आयोगलाई बुझाइने जानकारी दिए । “हामीले घटनाबारे सबै पक्षसँग तथ्य बुझ्ने काम गरिसकेका छौं”, उनले भने, “आजै (मंगलबार) प्रतिवेदन तयार गरी बुझाउन समय नपुग्ला, भोलि प्रतिवेदन बुझाइने छ ।” उनले प्राप्त सुझाव र तथ्यबारे अहिल्यै सार्वजनिक गर्न नमिल्ने बताए । अनुगमन टोलीमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य छन् । दलका प्रमुख, निर्वाचन अधिकृत, सुरक्षा निकाय, कर्मचारीलगायतसँग घटनाबारे टोलीले जानकारी लिएको छ । मतगणनास्थल कभर्डहलको बाहिरको वातावरण अवलोकन गरेर टोली मंगलबारै काठमाडौं फर्किएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले ७ दलका प्रमुख तथा प्रतिनिधिसँग अनुगमन टोलीले छुट्टाछुट्टै घटनाबारे जानकारी लिएको बताए । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति नेपाल, नेकपा क्रान्तिकारी माओवादी, नेपाल मजदुर किसान पार्टीका प्रमुख घटनाबारे तथ्य विवरण सुनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
जे देख्यौं, त्यही भन्यौं
आयोगले छानविन गर्न पठाएको अनुगमन टोलीसँग चितवनका दलका प्रमुखले छुट्टाछुट्टै घटना विवरण सुनाएका छन् । मतपत्र कसले च्यात्यो भनेर बुझ्न आएको अनुगमन टोलीले झन् अलमल हुने गरी घटना विवरण संकलन गरेको छ ।
माओवादी केन्द्र चितवनका इञ्जार्च ईश्वरी भट्टराईले मतपत्र सुरक्षा गर्ने क्रममा च्यातिन पुगेको घटना विवरण बताएको जानकारी दिए । “एमालेबीच विवाद भयो, मतपत्र तानातान गर्दा च्यातिएको हो”, उनले कायाकैरनसँग भने, “हाम्रा प्रतिनिधि पक्राउ परेका छन्, घटनाका दोषी अरु पनि छन्, हामीले नामै किटान गरेर घटना विवरणबारे टोलीलाई जानकारी दिएका छौं ।” उनले मत आफ्नो पक्षमा पार्न एमालेले चुनावको अघिल्लो रात २४ बुँदे आरोपपत्र गाउँ–गाउँ बाँडेको, प्रधानमन्त्री चितवन आउँदा छोरी जिताउन आएको भनेर अनर्गल प्रचार गरिएको, पासको दुरुपयोग गर्दै मतगणनास्थलमा एमाले कार्यकर्तालाई भित्राइएको जस्ता घटनाबारे अवगत गराइएको बताए । “मतपत्र च्यातिएपछि त्यहाँ मतपत्र छ्यासमिस भएका छन्, कुल्चिएका छन्”, उनले भने, “ऐनमा पुनः मतदानको व्यवस्था पनि छ, सोहीअनुसार काम गरौं भन्ने सुझाव दिएका छौं ।” उनले ३ हजार ९ सय मतले पछि पर्दासमेत आफूहरुले विरोध नगरेपनि एमालेको सुरुआती चरणदेखिको दबाब १९ नम्बर वडामा देखिएको बताए । “एमालेले जबरजस्ती मतपत्र ताने, हामीले मतपत्र सुरक्षा गर्न चाह्यौं”, उनले भने, “मतपत्र च्यातिन पुग्यो, विवाद झनै बढ्यो, यही तथ्य जानकारी गराएका छौं ।”
एमाले अध्यक्ष कृष्णभक्त पोखरेलले मतपत्र माओवादी केन्द्रले नै च्यातेको पुष्टी भइसकेको बारे जानकारी गराएको बताए । “प्रहरीले रंगेहात पक्राउ गरिसकेको छ, मतपत्र च्यात्ने काममा एमालेको संलग्नता छैन”, उनले भने, “अन्य मतपत्र सुरक्षित रहेको अवस्थामा तत्काल मतगणना गरिनुपर्छ, पुनः मतदानको पक्षमा हामी छैनौं ।” उनले घटनाका प्रत्यक्षदर्शीलाई सँगै लगेर घटनाबारे थप तथ्यबारे टोलीलाई जानकारी गराइएको बताए ।
कांग्रेस चितवनका सभापति जीतनाराण श्रेष्ठले घटनाबारे देखेका कुराबारे जानकारी गराइएको बताए । “झण्डै आधाघण्टा बसेर घटनाबारे अवगत गराएका छौं”, उनले भने, “जे देख्यौं, त्यही भनेका छौं ।” विवाद भएपछि मतगणनास्थलमा मतपत्र छरपष्ट बन्न पुगेकाले ऐनमा उल्लेख भएअनुसार पुनः मतदान गर्नुपर्ने सुझाव दिएको बताए । अनुगमन टोलीले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरीका क्षेत्रीय प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश केसी, भरतपुरस्थित श्री दी फेमस महेन्द्र दल गणका गणपति सुरेन्द्र सापकोटा, आयोगको टोलीमा आएका सहजकर्ता उपसचिव कृष्ण अधिकारीसहितको रोहोवरमा दलका प्रतिनिधिसँग घटनाबारे विवरण लिएको हो । आइतबार राति ११ः४४ बजेको समयमा मतगणना हँुदै गर्दा मतपत्र च्यातिएपछि प्रहरीले माओवादीका दुई प्रतिनिधिलाई पक्राउ गरेको थियो । भरतपुर महानगरको वडा नम्बर १९ को मतगणना गर्न झण्डै ५ सय मत बांकी छ भने वडा नम्बर २० को पुरै मतगन्न बाँकी छ । अन्य वडाको मतपरिणाम आइसकेको छ । १९ नम्बर वडामा मतदान गर्ने वा मतगणना गर्नेभन्नेबारे आयोगले प्रतिवेदन बुझेपछि निर्णय लिनेछ ।