ध्रुवराज खनाल/कायाकैरन
रत्ननगर,१७ जेठ ।
रत्ननगर नगरपालिकामा कार्यकारी अधिकृत नहुँदा आर्थिक कारोबार ठप्प भई विभिन्न योजनाको भुक्तानी हुन सकेको छैन भने कर्मचारीहरुले तलबसमेत खान पाएका छैनन् । रत्ननगर नगरपालिका करिब एक महिनादेखि कार्यकारी अधिकृतविहीन छ ।
तत्कालीन कार्यकारी अधिकृत अमरनाथ ढकाललाई निर्वाचन अधिकृतबाट हटाएपछि सरुवा भएर श्रम मन्त्रालय गएपछि यहाँ कार्यकारी अधिकृत आएका छैनन् । खैरहनी नगरपालिकामा दलहरुसँग विवाद भएपछि देवदह नगरपालिका सरुवा भएका उनलाई पछि रत्ननगर नगरपालिका पठाएको थियो । यहाँ आउनेबित्तिकै कर्मचारीलाई अनावश्यक दुःख दिन थालेपछि ढकालप्रति कर्मचारी रुष्ट थिए । ढकाल यहाँबाट गएपछि संघीय मालिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ कार्यकारी अधिकृत पठाएको छैन । योजना सम्पन्न गरेर रकम भुक्तानी लिन आएका उपभोक्ता समितिका पदाधिकारी पटक–पटक नगरपालिका आएर फर्कनुपरेको छ । रत्ननगर–१२ सुकुमबासी बस्तीमा ढल निर्माण गरिसकेपनि भुक्तानी हुन नसक्दा कामदारलाई ज्याला दिन नसकिएको सालघारी बस्ती व्यवस्थापन समितिका अध्यक्ष रामलाल ब्लोनले जानकारी दिए ।
“काम सम्पन्न भइसक्यो रकम भुक्तानी पाएका छैनौं”, समितिका अध्यक्ष ब्लोनले भने, “कामदार दैनिकजसो घर घेर्न आइरहेका छन् । नगरपालिकामा कार्यकारी अधिकृत र लेखा अधिकृतको हस्ताक्षरबाट मात्रै आर्थिक कारोबार हुन्छ । कार्यकारी अधिकृत नहुँदा स्वयं लेखा अधिकृतले मात्रै पनि भुक्तानी दिन मिल्दैन । यो समय विभिन्न योजनाहरुको धमाधम काम हुने र सम्पन्न हुने समय हो । नगरपालिकामा जनप्रतिनिधि आइसकेपनि उनीहरुले आर्थिक कारोबारमा तोक लगाउन पाउँदैनन् । रिक्त कार्यकारी अधिकृत पदपूर्तिका लागि हालै निर्वाचित भएर नगर प्रमुखको जिम्मेवारी सम्मालेका नगर प्रमुख नारायण वनले पहल गरेको बताएका छन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियासँग यहाँको समस्याबारे जानकारी गराएर कार्यकारी अधिकृत पठाउन आग्रह गरिएको नगर प्रमुख वनले जानकारी दिए । “योजनाहरु धमाधम सम्पन्न भइरहेका छन्, भुक्तानी लिन आउनेहरु यत्तिकै फर्कनुपरेको छ”, नगर प्रमुख वनले भने, “कार्यकारी अधिकृत पठाइदिनका लागि तीन÷चारपटक फोन सम्पर्क गरेर कुरा गरिसकेको छु ।” तत्कालका लागि निमित्त कार्यकारी अधिकृत पठाएपनि समस्या समाधान हुने वनको भनाइ छ । मन्त्रालयबाट निमित्त कार्यकारी पठाउन जिल्ला समन्वय समितिलाई निर्देशन आउनुपर्ने हुन्छ र त्यहीबाट निमित्त कार्यकारी अधिकृत पठाइँदै आएको पनि छ ।
तर, मन्त्रालयबाट त्यस्तो निर्देशन नआएको स्थानिय विकास अधिकारीले बताएको रत्ननगर नगरपालिकाका प्रमुख वनले जानकारी दिए । कार्यकारी अधिकृत नहुँदा कर्मचारीले करिब तीन महिनादेखि तलबसमेत खान नपाएको लेखा अधिकृत सीताराम पोखरेलले जानकारी दिए । कार्यकारी अधिकृत नहुँदा हाल लेखा अधिकृत पोखरेलले निमित्त कार्यकारी अधिकृतको पद पनि सम्हाल्दै आउनुपरेको छ । यस नगरपालिकामा प्रायः कार्यकारी अधिकृत आउन नमान्ने र आएपनि छोटो समयमै सरुवा भएर जाने गरेकाले यहाँ प्रायः सो पद रिक्त नै हुने गरेको यथार्थ छ ।