भरतपुर, ५ मंसिर
नेपालकै सबैभन्दा ठूलो व्यावसायिक टी–ट्वान्टी क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) यही मंसिर २२ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
प्रतियोगितामा चितवनको प्रतिनिधित्व गर्दै चितवन टाइगर्स सहभागी छ । चितवनले मंसिर २३ गते आइतबार ललितपुर पेट्रोइटस्सँग खेल्दै प्रतियोगितामा सुरुआत गर्नेछ । खेल बिहान ९ बजे किर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
चितवनले लगत्तै मंसिर २४ गते बिहान ९ बजे काठमाडौं किङ्स इलेभेनसँग प्रतिस्पर्धा गर्नेछ भने मंसिर २५ गते दिउँसो १ बजे भैरहवा ग्लाडिएटर्ससँग गर्नेछ ।
यस्तै मंसिर २८ गते बिहान ९ बजे चितवनले विराटनगर वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ । लिगको अन्तिम खेलमा मंसिर २९ गते दिउँसो १ बजे पोखरा राईनोजसँग चितवन टाइगर्स भिड्ने छ । प्रतियोगिताको फाईनल खेल पुस ७ गते शनिबार हुनेछ ।
चितवन टाइगर्सले यस पटकको संस्करणमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । युवा खेलाडी दीपेन्द्र सिंह ऐरी मार्की प्लेयर रहेको चितवनमा यु–१९ का पूर्व कप्तान पृथु बास्कोटा, देब्रे हाते व्याट्सम्यान दिलीप नाथ, युवा बलर सागर ढकाल रहेका छन् । यस्तै चितवनले यसपटक विदेशी खेलाडीको रुपमा इङ्ल्याण्डका जोन सिम्पसोन, इङ्ल्याण्डकै जर्ज स्कटलाई भित्राएको छ ।