कसुर ठहर भए १ लाख जरिवाना वा २ वर्ष कैद वा दुवै सजाय हुन सक्नेछ
भरतपुर,१७ जेठ ।
जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेका अभियुक्तलाई निर्वाचन कसुर तथा सजाय ऐनअन्तर्गत मुद्दा चलाएको छ । आइतबार राति भरतपुर महानगरको मतगणनास्थल कभर्डहलमा मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका दुईजनालाई यो मुद्दामा अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबारै उनीहरुलाई अदालत उपस्थित गराएर थप ७ दिनको म्यादसमेत लिएको छ ।
मतगणना स्थलमा रहेका माओवादी केन्द्रका मधु न्यौपाने र द्रोण शिवाकोटीलाई प्रहरीले मतगणनास्थलबाट तत्कालै नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले पक्राउ परेका अभियुक्तलाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार जिल्ला अदालत चितवनमा मुद्धा दर्ता गरिएको जानकारी दिए । “अदालतले एकहप्ता हिरासतमा राखेर अनुसन्धन गर्न अनुमति दिएको छ”, उनले भने, “अनुसन्धानका प्रक्रिया चलिरहेको छ, चाँडै मुद्दा किनारा लाग्ने छ ।”
भरतपुर वडा नम्बर १९ को अन्तिम मतगणना जारी रहँदा मतपत्र च्यातिएपछि मतगणना कार्य अवरुद्ध बन्न पुगेको छ । निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ मा मतगणनासम्बन्धी सामग्री बिगार्न नहुने उल्लेख छ । कसैले पनि मतगणना भइरहेको अवस्थामा मतपेटिका वा मतपत्र वा निर्वाचनसम्बन्धी अन्य कुनैपनि कागजपत्र बलप्रयोग गरी वा नगरी खेस्न, लुट्न वा बिगार्न वा कुनैपनि किसिमको नोक्सान गर्न वा निर्वाचन अधिकृतको अनुमतिविना मतगणनास्थलबाट अन्यत्र लैजान हुँदैन भनिएको छ । यसविपरीत काम गर्ने व्यक्तिलाई एक लाख रुपैयाँ वा दुई वर्षको सजाय वा दुवै सजाय हुने व्यवस्था छ । सोमबार गणतन्त्र दिवस परेकाले सार्वजनिक विदा हुँदा मुद्दा दर्ता हुन सकेको थिएन ।