विप्लव काफ्ले
भरतपुर, २ मंसिर
नारायणी नदी किनारमा चितवन महोत्सव १२ औं संस्करणको तयारी सुरु भएको छ । आज(आइतबार) देखि स्टल बुकिङ सुरु हुँदैछ । इच्छुक व्यावसायिक प्रतिष्ठानले मंसिर मसान्तसम्म स्टल बुकिङ गर्न सक्नेछन् ।
स्टलको भाडा ७ हजारदेखि ५५ हजार रुपैयाँसम्म तोकिएको छ । पर्यटन, कृषि, अटो, आइटी, फुड एण्ड वेभरेज लगायतका परिसर बनाइने छ । पुस २५ गतेदेखि सुरु हुने महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ । हरेक २÷२ वर्षमा हुदै आएको महोत्सवमा यो वर्ष चितवनको पर्यटन प्रर्वद्धनका गतिविधिमा बढी केन्द्रित हुनेछ । उद्योग वाणिज्य संघ–चितवन, जिल्ला समन्वय समिति–चितवन, भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको हो ।
संघका कार्यकारी निर्देशक गौरव खतिवडाले महोत्सव तयारीका लागि समिति गठन भएको बताए । “चितवनका मुख्य पर्यटकीय गन्तव्यको ‘डेमो’बनाएर राखिने छ”, उनले भने, “महोत्सव परिसरबाटै गन्तव्यबारे धेरै जानकारी लिन सकिने व्यवस्था मिलाउँदैछौँ, चितवनमा पर्यटक बढी भित्राउन महोत्सवले सघाउने छ ।” आयोजक कमिटीको २ र मूलसमितिको १ पटक बैठक बसिसकेको छ । ७ सय सदस्यीय मूल समिति र ४२ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
संघका अध्यक्ष सहनलाल प्रधानले चितवनका चीन, भारतका पर्यटनविद्को सहभागितामा अन्तर्राष्ट्रियस्तरको पर्यटनसम्बन्धी सेमिनार गरिने बताए । “चितवनको पर्यटन गतिविधि विस्तारबारे व्यापक अध्ययन, छलफल सहितको सेमिनार गरिनेछ”, उनले भने, “गन्तव्यहरुको जानकारीसहितको ‘बुकलेट’ समेत सार्वजनिक गरिनेछ, जिल्लाको पर्यटनको गुरुयोजना बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।” उनका अनुसार चितवनमा पाइने वन्यजन्तुको डेमो बनाएर कृत्रिम चिडियाखाना बनाएर प्रर्दशनमा राखिनेछ । आवाज निकाल्ने वन्यजन्तुका डेमो बालउद्यानमा राखिने उनले जानकारी दिए ।
महोत्सव अवलोकन गर्न आउनेलाई पर्यटकीय क्षेत्रको घुमफिरको ‘प्याकेज’ समेत मिलाइने बताए । सौराहा, लामोझरना, उपरदाङगढी, सिराईचुली, ज्ञानेश्वर सामुदायिक वन, मेघौली लगायतका क्षेत्रमा घुमफिर गर्न मिल्ने गरी प्याकेजका कार्यक्रम बनाइने तयारी भएको जानकारी दिए । “विगतमा जस्तै हेलिकोप्टरमार्फत चितवन घुमाउने योजनालाई निरन्तरता दिने तयारीमा छौँ”, अध्यक्ष प्रधानले भने, पर्यटनले रोजगारी विकास र अर्थतन्त्रमा राम्रो योगदान गर्नेभएकाले पर्यटनलाई बढी जोड दिएका हौँ ।” महोत्सवको अवधिमा नारायणी नदीमा जलयात्राको व्यवस्था समेत गरिदैछ ।
महोत्सव पूरा गर्न करिब १ करोड ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ । यस्तै महोत्सवबाट करिब १ करोड मुनाफा गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा बचत भएको करिब आधा रकम नारायणी नदी किनार संरक्षण परियोजनामा लगाइने छ । संरक्षण कोषमा हाल ६३ लाख रुपैयाँ प्रयोगविहिन भएर थन्केको छ ।
महानगरले स्वीकृत नदिदा नदी किनार संरक्षणको काम अघि बढ्न सकेको छैन । २०५३ सालदेखि हुदै आएको महोत्सव जिल्लाकै सबैभन्दा ठूलो महोत्सवका रुपमा लिइन्छ । महोत्सवमा चेपाङ, थारु, दराई, बोटे समुदायका आकर्षक घर तयार गरिनेछ । अवलोकनकर्ताले सो समुदायको संस्कृति, जीवनशैलीबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको हरेक दिन गीत, नृत्य तथा प्रहसन प्रस्तुत गरेर रमाइलो गर्नेछन् ।
चितवन महोत्सवको मुख्य आकर्षण कृत्रिम चिडियाना, घुमफिर
चितवन महोत्सवको मुख्य आकर्षण कृत्रिम चिडियाना, घुमफिर

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस