भरतपुर,१६ जेेठ। आइतबार राति अबेरसम्म रौनक, उत्सुकता र तनावले भरिएका अनुहारहरुको चहलपहल बाक्लो थियो । भरतपुर महानगरपालिकाको मतगणनास्थल कभर्डहलमा । तर, अहिले मतगणनास्थल सुनसान छ । मात्रै पोशाकसहितका सुरक्षाकर्मीहरु कभर्डहल वरपर तैनाथ छन् ।
आइतबार राति पौने १२ बजे मतगणना गर्ने क्रममा दलका प्रतिनिधिले मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतले मतगणना रोकिएको घोषणा गरेका हुन् । “मतपत्र च्यातेर मतगणनास्थल रणभूमि बनाइयो”, मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले भने, “त्यसपछि मतगणना स्थगित भएको छ ।” आइतबार राति रणभूमि बनाइएको भनिएको मतगणनास्थलमा अहिले सन्नटा छाएको छ । मतगणनास्थललाई चारै तिरबाट सुरक्षा दिई निषेधित क्षेत्र घोषणा गरिएको छ । निषेधित क्षेत्रमा कसैलाई प्रवेश गर्न दिइएको छैन । कभर्डहलभित्र बन्द गरिएको मतपत्रलाई सुरक्षा दिनको लागि बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी तैनाथ गरिएको छ । यो अवस्थामा अब के होला भन्ने कौतुहलता सबैको मनमा छाएको छ ।
सोमबार दिउँसोसम्म मेयरको टुंगो लाग्ने धेरैको आशा थियो । भरतपुरबासी करिब २० वर्षपछि मेयर पाउने भएर खुसी थिए । तर, छिनभरमै भरतपुरबासीको खुसी तुहियो । जनताको मतलाई टुक्रा–टुक्रा पार्न दलका प्रतिनिधिले कत्तिपनि हात कमाएनन् । जसले ती मत च्यातेर धुजा–धुजा पारे । तिनले जनताको मतको अवमूल्यन गरे । अनि तिनै नेताले भनेको लोकतन्त्र, गणतन्त्र र प्रजातन्त्रको धज्जी उडाए ।
प्रधानमन्त्री पुष्पकमल दाहालपुत्री रेणु दाहाल भरतपुरको मेयरमा प्रतिष्पर्धाको लागि उत्रिएपछि भरतपुर देशकै ध्यान खिच्न सफल थियो । रेणुलाई नेपाली कांग्रेसले समर्थन गर्ने निर्णय केन्द्रीय तहमा भएपछि रेणुले १० हजारभन्दा बढी मतले विजयी हुन्छिन् भन्ने धेरैको आँकलन थियो । उनीसँग प्रतिष्पर्धामा छन् प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट देवी ज्ञवाली । कांग्रेसले माओवादीसँग तालमेल गर्ने कुराले चितवनका कांग्रेसका कार्यकर्ता आक्रोसित मात्र भएनन् कांग्रेस सभापति शेरबहादुर देउवाको पुत्लासमेत दहन गरे ।
तैपनि वैशाख ३१ गतेको निर्वाचनमा कुनै बाधा व्यवधान देखा परेन । सबै जनता निर्वाचनमा सरिक भए र मतदान गरे । जेठ १ गतेबाट सुरु भएको भरतपुरको मतगणना प्रति सबैको ध्यान आकृष्ट भइरहेको थियो । भरतपुरको मतपरिणाम अधिकांशले सोचेभन्दा फरक आयो । प्रतिष्पर्धा निकै कडा र रोमाञ्चक बन्यो । अन्तिम दुई वडाको मतगणना बाँकीरहँदा प्रतिष्पर्धा यति कडा बन्यो कि कसले जित्ला भन्ने अनुमान गर्न कठिन भयो ।
मतगणना वडा नम्बर १ देखि ९ सम्म लगातार बढ्दो क्रममा गरिएको थियो भने ९ नम्बर वडापछि बढ्दो र घट्दो क्रममा (अर्थात १०, २९, ११, २८, १२, २७, १३, २६, १४, २५, १५, २४, १६, २३, १७, २२, १८, २१, १९, २०) गरिएको थियो । वडा नम्बर १८ को मतगणना सकिँदा देवी ज्ञवाली १ हजार १ सय ४५ मतान्तरले अघि थिए । रेणुले जित्नको लागि बाँकी तीन वडामा ३ सय ८२ दरमा मतान्तर घटाउनु आवश्यक थियो । २१ नम्बरको मतगणना सकिँदासम्म रेणुले ३ सय २९ मतमात्रै घटाउन सकिन् । तर, पछिल्ला वडाको मतपरिणाम हेर्दा रेणुले भनेजति मतान्तर घटाउन सकिनन् । ८ सय १६ को मतान्तर लिएर एमालेका उम्मेद्वार ज्ञवाली वडा नम्बर १९ मा रेणुसँग भिडिरहेका थिए । बाँकी रहेका अन्तिम दुईवडामा रेणुले ४ सयभन्दा बढी मत ल्याए जित सुनिश्चित हुने थियो । तर, १९ नम्बर वडाको खसेको कूल २ हजार ८ सय ६० मतमध्ये १ हजार ८ सय ९ मत गन्दा रेणुले ८३ मत मात्रै घटाउन सकिन् । सो अवस्थामा ज्ञवालीको ४१ हजार ६ सय ४१ र दाहालको ४० हजार ९ सय ८ मत थियो । १९ नम्बर वडाको १ हजार ८ सय ९ मत गनेर भएको खाना खाने ब्रेकपछि जे भयो त्यसले जनताको सपना भताभुङ्ग भयो । प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापा र प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठलगायतको प्रहरीको कडा सुरक्षाका बीच मतपत्र च्यातियो । जनताको मतको दलका प्रतिनिधिले खिल्ली उडाए । हार स्वीकार गर्न नसक्दा गणतन्त्रमाथि प्रहार गर्न मतगणकको प्रतिनिधिको रुपमा आएका दलका कार्यकर्ताहरुले कत्ति पनि हिच्किचाएनन् ।
पुनः मतगणना या मतदान ?
स्थानीय तह निर्वाचन ऐन–२०७३ को दफा ४९ मा मतगणना हुनुअघि मतपत्र नोक्सान भएमा के गर्ने भन्ने व्यवस्था छ । मतगणना पूरा हुनुपहिले कुनै मतदान केन्द्रमा प्रयोग भएको मतपत्र, मतपेटिका निर्वाचन अधिकृतको नियन्त्रणबाट गैरकानूनी तवरले अन्यत्र लगिए, खोलिए, नोक्सान वा तोडफोड गरिए, हराए वा दुर्घटनावश नोक्सान भए निर्वाचन अधिकृतले मतगणना स्थगित गरेर निर्वाचन आयोगलाई प्रतिवेदन दिनुपर्ने भनिएको छ । साथै यसरी मतगणना स्थगित भएपछि त्यस्तो मतदान केन्द्रको सम्पूर्ण मतदान अवैध घोषणा गर्ने र पुनः मतदान का लागि स्थान, मिति र समय तोक्नुपर्ने उल्लेख छ ।
यस्तै ऐनको दफा ५० मा मतगणनास्थल अनाधिकृतरुपमा कब्जा गरिए के गर्ने भन्ने व्यवस्था छ । यसमा कसैले बल प्रयोग वा डरधम्की देखाएर मतगणनास्थल कब्जा गरी गणना प्रभावित गरे वा निर्वाचन अधिकृतलाई काम गर्न नदिए, मतपत्र, मतपेटिकालगायतका सामग्री खोसेमा मतगणना स्थगित गर्नुपर्ने र निर्वाचन अधिकृतले निर्वाचन आयोगलाई तुरुन्त प्रतिवेदन बुझाउनुपर्ने उल्लेख छ ।
मतपत्र च्यात्नेलाई कारबाही के हुन्छ ?
निर्वाचन कसुर तथा सजाय ऐन–२०७३ को दफा १६ मा कसैले पनि निर्वाचनको मतगणना भइरहेको अवस्थामा मतपेटिका वा मतपत्र वा निर्वाचनसम्बन्धी अन्य कुनैपनि कागजपत्र बल प्रयोग गरी वा नगरी खोस्न, लुट्न, बिगार्न वा कुनै किसिमले नोक्सान गर्न वा निर्वाचन अधिकृतको अनुमतिविना मतगणनास्थलबाट अन्यत्र लैजान नहुने उल्लेख गरेको छ । दफा १६ को उपदफा २ मा भनिएको छ, “यसविपरीतको कार्य गर्ने व्यक्तिलाई एकलाख रुपैयाँसम्म जरिवाना वा दुईवर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ ।”
जनताको मतको अवमुल्यन भयो
जनताको मतको अवमुल्यन भयो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस