विप्लव काफ्ले
भरतपुर, २८ कात्तिक
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले काम गर्न नसक्दा सर्वत्र निराशा छाएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उनले सरकार गतिहीन बनेको आरोप लगाए ।
“नेपालको इतिहासमा सरकारलाई यति अनुकूल समय कहिल्यै पनि थिएन, विपक्षी पनि शान्त र भलादमी तरिकाले प्रस्तुत छ, संसद्मा भरपुर बहुमत छ”, उनले भने, “कतैबाट अप्ठ्यारो छैन, केही अप्ठ्यारो नहुँदा पनि उहाँहरुले काम गर्नसक्नुभएन, काम गर्न जान्नुभएन, मेसो पाउनुभएन ।” उनले जनता र नेता सबैमा सरकारको काम गराइको गतिले निराशा छाएको दावी गरे । “भन्न, बोल्नमात्रै सक्ने, काम गर्न नसक्ने देखेपछि मान्छे निराश छन्”, उनले भने, “जनतालाई निराशाबाट मुक्त गर्ने र मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनतर्फ चिन्ता हुनुपर्छ ।”
उनले ‘कथनी र करणी’को अन्तर भएर जनतामा निराशा छाएको चर्चा गरे । “माक्र्सवादको सिद्धान्त एउटा छ, साम्यवादको आदर्श र सपना आफ्नै थरिको छ, कम्युनिष्ट पार्टीका नेताले देखाएको सपना एकातिर छन्”, उनले भने, “व्यवहार, भनाई र गराई अन्तर भयो, सत्तापक्षबाटै निराशा व्यक्त हुन थालेका छन्, सरकार हल न चलको अवस्थामा छ ।”
उनले कांग्रेसले संसद्मा प्रतिपक्षको भूमिका खेल्न नसकेको सुनाए । पार्टी सभापतिको काम गराइप्रति असन्तुष्टि जनाए । “प्रतिपक्षको नेताले भूमिका खेल्नुपर्दथ्यो, विचार दिनुपर्दथ्यो, सोहीअनुसार सारा कार्यकर्ता परिचालित हुन्थे”, उनले भने, “पार्टी किन हा¥यो, यसलाई उठाएर कसरी लैजाने, सुधारेर लैजानेतिर मलाई चिन्ता छ ।” उनले पार्टीको गतिविधिप्रति आफूसमेत असन्तुष्ट रहेको बताए । “पार्टीमा चरम गुटबन्दी छ भनिन्छ, हामीले केही गरेको छैन, अलिकति नेतृत्वले सबैलाई समेटेर लगे गुटबन्दीको प्रश्नै छैन”, उनले भने ।
उनले आफू सभापति पदमा लड्नेबारे विचारै नगरेको बताए । उनले भने, “अब अहिले पदमा को बस्ने भन्ने कुरा पछिको कुरा हो, सभापतिको चर्चा कसैले गरेको छैन ।” नेता सुजाता कोइराला निवासमा भएको भेटघाटमा सभापतिको बारेमा कसैले अहिल्यै चर्चा नगर्ने भन्ने सहमति भएको खुलाए । “खाना खान बोलाएको कुरापनि चर्चामा आयो, सामान्य ‘हाइ हेल्लो’ मात्रै थियो”, उनले भने, “खासै त्यस्ते कुराकानी भएन ।”
उनले विजयकुमार गच्छादारलाई पार्टी उपसभापति बनाउँदा प्रक्रिया नपु¥याइएको दावी गरे । “समायोजन गर्दा समिति बनाएर प्रतिवेदन ल्याउँ, त्यहीअनुसार उहाँको पार्टीलाई समायोजन गरौँ भनेका थियौँ”, उनले भने, “२÷३ महिना पहिले मैले नै प्रस्ताव राखेको थिएँ, तर सभापति जीले अपरझट प्रस्ताव ल्याउनुभयो, ‘प्रोसेस’ मिलाउँ भन्दा उहाँहरुले हतार गर्नुभयो ।” उनले विधानमा एउटामात्रै उपभापति पद भएको अवस्थामा प्रक्रिया पुरा गर्नुपर्नेमा पार्टी चुकेको बताए ।
कांग्रेसको नयाँ विधानबारे बहस चलिरहेका बेला नेता पौडेलले पदाधिकारी, केन्द्रीय समिति बढाउन नहुने बताएका छन् । उनले सभापतिलाई थपअधिकारको व्यवस्था गर्न आवश्यक नरहेको बताए । “केन्द्रीय समिति र पदाधिकारी नबढाउने गरे हुन्छ”, उनले भने, “एउटा बढाउने अको नबढाउने गर्नु हुँदैन, अहिलेको विधानमा सभापतिलाई प्रयाप्त अधिकार छ, बढाउनुपर्दैन ।”