धनराज गिरी
सहयात्रा र सहकार्यको एउटा राम्रो उदाहरण हो नेपाली चलचित्र छक्कापञ्जा ।
दिपकराज गिरी र दीपा निरौला नेपाली दर्शकहरुका माझमा एउटा छुट्टै छाप छोड्न सफल कलाकारहरु हुन् । छक्कापञ्जा एकले पनि मलाई राम्रै सन्तुटि दिएको थियो । समाजभित्र धेरै कुराहरु लुकेर रहेक हुन्छन् । हेर्ने दृष्टिकोण आ–आफ्नो हो ।
एउटा कुरा कसैका लागि तिल हो भने कसैका लागि पहाड । सापेक्षवादको सिद्धान्त जहाँ पनि लागू हुन्छ । २०२८ साल बैशाख एक गतेदेखि म सिनेमा हलमा प्रवेश गरेको हुँ । २०७५ साल कार्तिक ३ गते राजधानीमा ‘छक्कापञ्जा ३’ हेर्ने सल्लाह भयो ।
पुत्र आरजू गिरीले यो सिनेमा हेर्न अनुरोध ग¥यो । अचम्म, भाइ र खेम लामिछने, भतिज अश्विनी कोइराला र म भएर सिनेमा हेर्न जाँदा टिकट पाएनौं, जीवनको नौलो अनुभव । ‘जय भोले’ हेरेर फर्कियौं । ‘दाइ कलाकारहरुसित हेर्ने सल्लाह भएको छ’ खेमको सूचना नभन्दै एउटा अनौठो संयोगका साथ सिनेमा हेरियो । दीपक, जीतु र माग्ने बुढासित साक्षात्कार हुन पाइयो ।
भाइ जीवा लामिछाने र भतिजी इशु शाहसित पहिलोपटक सिनेमा हलभित्र प्रवेश गर्दै थिएँ । साथमा मणिराज पोखरेलको जोडी पनि । अर्कै आनन्द । अरे वा, एक सिकिण्ड पनि बोर लागेन । सिनेमा वास्तवमा सिनेमा नै बनेको छ । हरेक कलाकारले आ–आफ्नो ठाउँमा पूरा न्याय गरेका छन् । ‘वाङ्देल’ मलाई सारै मन प¥यो, जीवन्त अभिनय र आवाज पनि कालाकारको जस्तै । हेडमास्टर बनेका शिवहरि अधिकारीको निरीहता भनेको यो देशकै निरहता हो ।
त्यो भूमिकामा ‘म हुनुपथ्र्यो’ मेरो मनले भन्यो । अर्को सशक्त पक्ष ‘संवाद’ हो । अनुप्राशयुक्त संवदले दर्शकलाई भरपुर आनन्द प्रदान गर्दछ । सिनेमाको मूल उद्देश्य ‘मनोरञ्जन’ हो । अरु कुरा त्यस्तै त्यस्तै । लिन सक्नेहरुका लागि सन्देश पनि छ । ‘ म अब अष्ट्रेलिया जान्न’ भनने नायिका (उजेली) को घोषणाले ताली पाउनुपर्ने हो तर पर्थमा मात्र होइन, यता ‘नर्थ’ मा पनि खासै ताली पाएन । किन कि त्यो फिल्मी भावुकता हो । धरातलीय यथार्थ के हो भने यतिखेर राज्यव्यवस्थाप्रति आम उदासिनता छ ।
त्यही भएर अपवाद बाहेक सबै खल्तीमा राहदानी बोकेर हिंडेको छ । छोराछोरी विदेशमा हुनु भनेको गर्वको कुरा भएको छ । धरातलीय सत्य, भोगेको यथार्थ, सन्तान गतिलो देशमा हुने अभिभावकलाई सापटी दिन पाएमा साहुहरु गर्व गर्छन् । तर सरकारी स्कूलको हालत देखेर, आफ्नै बाउलाई सघाउने उद्देश्यले उजेली सरकारी स्कूलमा पढाउन थाल्छिन् । कथाको केन्द्रमा यही छ । उता आवासीय विद्यालय सञ्चालन गर्नेहरुको नियतलाई उदाङ पारिएको छ ।
काजीसाहेब र उनको खलकको र जगज गाउँमा व्याप्त । मित लगाएर आफ्नो हितमा सीधासाधा मानिसहरुलाई दुरुपयोग गर्ने संस्कार नेपाली समाजमा व्याप्त । काजी खलकलाई उजेलीले हम्मे हम्मे बनाएपछि कथामा नायक दीपकराज गिरीको प्रवेश हुन्छ । साँढेको गोठमा एउटा सानो साँढे थपिन्छ, अनपढ भएर । ‘रफ’ चरित्र खुब सुहाएको छ दीपकलाई खलनायकको ‘सञ्जय दत्त’ जस्तै । कहानी अगाडि बढ्दै जान्छ ।
शक्ति र पैसाका सामुन्ने न्याय र विवेक जहाँ पनि निरीह भएको कुरा कहाँ छुपेको छ र ? उजेलीले ‘सिस्टम बदल्न सिस्टम भित्रै प्रवेश गर्ने’ निर्णय गरेर पहिले बहिष्कार गरेको ‘अंकल’ पात्रासित बिहे गर्ने प्रस्ताव आफैं राख्छिन् । खेलमाथि खेल । यता लक्ष्मी गिरी आफ्नो ठाउँमा सशक्त ।
स्कूलको नतिजा नीलमाथि नील । थानेश्वर मास्टरको भूमिकामा जीतु नेपाल जमेका छन् । ‘उजेलीको थप्पड र थानेश्वरको गाला’ सिनेमाको एउटा केन्द्र बिन्दु हो । मैले मध्यान्तरमा बाहिर निस्किंदा जितु नेपाललाई भनेको थिएँ, ‘उजेलीको थप्पड र थानेश्वरको गाला’ शीर्षकमा म एउटा आलेख तयार गर्नेछु । यो देशमा हजारौं थानेश्वरहरु छन् ।
सबैको गालामा थप्पड मात्र होइन कालो अवीरले अभिनन्दन गरेर देश निकाला गर्नुपर्दछ । एउटा तीतो सत्य ः कुनै मुलुकलाई तहसनहस बनाउनु छ भने स्कूल र कलेजमा नालायकहरु घुसाए हुन्छ ।
पञ्चायतले पनि गर्न नभ्याएको बहादुरी बहुदल र गणतन्त्रले ग¥यो । त्रिभुवन विश्व विद्यालयमा जति भ्रष्ट र अयोग्य मानिस अन्त होलान् ? ‘लाल सलाम’ र ‘जय नेपाल’ क्यान्सर भएकै हो । म भोक्ता हुँ । प्रत्यक्षदर्शी हुँ । दीपकराज गिरीको टीमले यो सिनेमा बनाएर देशलाई ठूलो गुण लगाएके छ । सरकारको आँखा खुल्छ कि ?
सिनेमामा नयाँ मोड थपिन्छ आगो लागेपछि । उजेलीले पनि गाउँ छोड्ने निर्णय गर्छिन् । यता आमाको कुरा काट्न नसक्ने दीपकराज गिरी पनि खलनायकबाट नायकमा रुपान्तरित हुन्छ र पलायन भएकी उजेलीलाई गाउँ फर्काउन सफल हुन्छ ।’ वाङदेलको हृदय परिवर्तनको ठूलो अर्थ छ ।
आखिर पतिको सहयोगमा उजेली आफ्नो गाउँको मुहार उज्यालो बनाउन सफल हुन्छिन् । ‘गमला परियार’ पात्रमा निखार आएमा भविष्य उज्ज्वल देखिन्छ । दीपकराज गिरीको टोलीले भोलि पनि यस्तै यस्तै दमदार सिनेमा बनाएमा कलाकारहरु पनि अभिनय गरेरै ‘कार’ मालिक बन्न सक्छन् ।
सातजना सिनेमा निर्माताहरुको आत्महत्या गरेको देश हो यो । पढाएर, लेखेर र अभिनय गरेर सम्मा त पाइएला तर सामान पाइन्न । ‘सम्मान र सामान’ दुवै चाहिन्छ जीवनका लागि थानेश्वर मास्टरझै जग्गाको दलाल बन्नु पर्दैन गुरुहरु, पढाएर बाँच्न पुग्ने तलब पाइने हो भने । रेमिट्यान्समा बाँचेको यो मुलुकमा ‘छक्कापञ्जा–३’ जस्ता सिनेमाले कलाकारहरुको मनोबल बढाउने छ र देशलाई माया गर्न सिकाउने छ ।
सिनेमा हेर्दा यति धेरै सन्तुष्टि नेपाली सिनेमाको हकमा पहिलोपटक अनुभूत गरियो । जमानादेखि म बोल्दै आएको छु, लेखदै आएको छु, यी शिक्षक र प्राध्यापकका संगठनहरु खारेज गरे हुन्छ । विद्यार्थीहरुको संगठनको पनि काम छैन । कर्मचारीहरुको संगठन झन प्रत्युत्पादक ।
‘कामचोर’ हरुको मुलुक हो यो । नेता र मन्त्रीलाई मात्र गाली गर्न सिकायो यो परिवर्तनले । मैले नायिका उजेलीमा हाम्रो मुलुक देखें । अन्य ‘ गमला परियार ’ मा ती तमाम गरिबका सन्तान देखे जो पढ्न लालायित छन तर स्रोत र साधनको अभावमा ‘ड्रप आउट’ भएर खाडी पस्न विवश छन् । छक्कापञ्जा–३ को अर्को सन्देश हो ।
जीवनमा सफलता भन्ने कुरा दुई दिनमा प्राप्त हुँदैन । सहकार्य र सहयोगको अपरिहार्य । आज यो सिनेमाले अभूतपूर्व सफलता प्राप्त गर्नुमा यो टीमको समर्पणको भाव, निरन्तरता र लगनशीलताले काम गरेको छ । हामी उज्यालो अनुहार बनाएर हल बाहिर आयौं । हाँस्यरस ‘जीवनामृत’ हो मज्जाले हाँस्न पाइन्छ । न समय खेर जान्छ न पैसा ।
आशीर्वाद दीपु र दीपा !