प्रमिता ढकाल
भरतपुर, १७ कात्तिक
हुलाक कार्यालय चितवनले डाँक परिवहन सेवा सञ्चालन गरेपछि सेवामा प्रभावकारिता बढेको छ । गत साउनमा कार्यालयमातहत रहने गरी ४ वटा मालबाहक सवारी ल्याइएपछि देशैभर चिठीपत्र तथा पार्सल सामग्री ओसारपसारमा सहजता आएको हो । २ ओटा पूर्व र २ ओटा पश्चिम चल्ने ट्रकले चितवनबाट ती क्षेत्र र अन्यन्त्रबाट चितवनसम्म चिठीपत्र तथा पार्सल सामग्री लैजाने तथा ल्याउने गर्छन् ।
चितवनबाट पूर्वमा झापा र पश्चिममा कञ्चनपुरसम्म डाँक परिवहन सेवा दिन ४ जना सवारीचालक र चारै जना सहयोगी छन् । पूर्वका २२ जिल्ला र पश्चिमका २० जिल्लामा डाँक परिवहन सेवामार्फत चिठीपत्र तथा पार्सल सामग्री पठाइन्छ । देशको मध्य भागमा पर्ने चितवनबाट देशभरि नै डाँक परिवहन सेवा सञ्चालन गर्न सहज हुने भन्दै सरकारले यसको कार्य क्षेत्र बढाएर राष्ट्रियस्तरको बनाएको हो ।
एउटा ट्रक यहाँबाट छुटेको तेस्रो दिनमा पुनः यहीँ आइपुग्ने जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी ठानेश्वर सापकोटाले जानकारी दिए । “यहाँबाट चिठीपत्र लिएर गएको ट्रकले राजमार्गका अरु कार्यालयबाट पनि चिठीपत्र संकलन गर्दै र यहाँबाट छोड्नुपर्ने छोड्दै अघि बढ्छन्”, उनले भने, “फेरि त्यही प्रक्रिया दोहो¥याउँदै चितवन आउँछन् ।”
विदेश एवं आन्तरिक चिठिपत्र तथा पार्सल सामग्री गोश्वारा हुलाक काठमाडौंले चितवन पठाउँछ । चितवन आइपुगेका सामग्री सर्टिङ गरी सम्बन्धित जिल्लामा गाडीमार्फत पठाइन्छ । आफ्नै सवारीसाधनमा सामग्री ओसारपसार गरिने भएपछि सुरक्षित भएको छ, सामान हराउने मिसप्लेस हुने डर हटेको छ । सार्वजनिक सवारीमार्फत डाँक सेवा सञ्चालन गर्दा १ महिनासम्म डाँक सेवा अवरुद्ध भएको थियो । बन्द हड्ताल वा सडक अवरुद्ध हुँदा हुलाक सेवा पनि प्रभावित हुन्थ्यो । चिठीपत्र ढिलो पुग्ने, क्षति हुने जस्ता समस्या थियो ।
डाँक परिवहन सेवा सुरु भएपछि हुलाक कार्यालयमा काम बढेको सूचना अधिकारी सापकोटाले बताए । सरकारी तथा संस्थागत प्रयोजनका लागि आउने चिठीपत्रको संख्या नघटेको उनले बताए । व्यक्तिका शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका चिठीपत्र तथा अदालती कागजपत्र दर्ता गरेर आउँछन् ।
चिठीपत्र आदानप्रदान गर्ने कार्यालयका रुपमा चिनिदै आएको हुलाक कार्यालयमा कामको विविधीकरणले कामको चाप घटेको छैन । सूचना तथा सञ्चार विभागले हुलाक कार्यलयलाई जिल्लाका विभिन्न सरकारी निकायमा सूचना अधिकारी तोकिए÷नतोकिएको हेर्ने जिम्मेवारी सुम्पेको छ । बचत बैंक तथा टेलिसेन्टर हटाएर सूचना केन्द्रको काम, पार्सल सेवा, एक सयदेखि ५ सय वाट क्षमताका एफएमको नवीकरण, लोकसेवाका फराम संकलनजस्ता कामले निरन्तरता पाएका छन् ।
हुलाक बचत बैंकमा भने सोचेअनुसकारको आकर्षण बढाउन कार्यालय सफल भएको देखिदैन । जिल्ला हुलाक कार्यालयको हुलाक बचत कार्यक्रममा हाल ७ सय ५९ बचतकर्ता छन् । तीमध्ये अधिकांश भरतपुर महानगरको वडा नम्बर १०, ११ र १२ का स्थानीय र कर्मचारी छन् । हुलाक बचत कार्यक्रममा साधारण बचत खाता र ज्येष्ठ नागरिक बचत खाता सञ्चालनमा रहेको हुलाक बचत कार्यक्रम प्रमुख नन्दा पौडेलले जानकारी दिए । जसमा ७ सय ४० जना साधारण बचतकर्ता तथा १९ जना ज्येष्ठ नागरिक बचतकर्ता छन् ।
एक सय रुपैयाँमा नै खाता खोल्न सकिने र १० लाखसम्म बचत गर्न सकिने सुविधा दिइएको हुलाक बचत कार्यक्रममा साधारण बचततर्फ ६ प्रतिशत र ज्येष्ठ नागरिक बचततर्फ ७ प्रतिशत ब्याज उपलब्ध गराइन्छ । जम्मा ८ प्रतिशत ब्याजदरमा ३ लाख रुपैयाँसम्म ऋण लगानी गरिन्छ । बैंकमा हाल निक्षेप रकम २ करोड, ३२ लाख २५ हजार ५ सय ८१ रुपैयाँ रहेको छ । यस्तै १ करोड ९६ हजार ८ सय ७८ रुपैयाँ ऋण लगानी भएको छ ।