चितवन, १६ जेठ । भरतपुर वाड न १९ को मतगणना तत्काल सुरु गर्न माग गर्दै एमालेले आज भरतपुरमा दबाब विरोध जुलुस निकालेको छ । पुल्चोकबाट निस्किएको जुलुस लायन्सचोक, क्याम्पसगेट, चौविसकोठी हुँदै मतणनास्थल परिसरमा गएर कोणसभामा परिणत भएको छ ।
जुलुसमा सहभागीले मतपत्र च्यात्नेलाई कडा कारवाही गर,छिटो मतगणना सुचारु गर लगायतका नारा लगाएका थिए । र्यालीपछि मतगणनास्थल परिसरमा धर्नाको कार्यक्रम राखिएको छ । पुनः निर्वाचनलाई नमान्ने एमाले अडान कायम रहेको भन्दै तत्काल मतगणना सुरु नगरे अझ कडा आन्दोलनमा उत्रने एमालेले चेतावनी दिदै आइरहेको छ ।
सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रले मेयरमा आफ्ना उम्मेदवार हार्ने भएपछि मतपत्र च्यातेर पुनः मतदान गर्ने षड्यन्त्र रचेको एमालेको आरोप छ ।
आइतबार राति मतपत्र च्यातेपछि भरतपुर महानगरको मतगणना रोकिएको छ ।