भरतपुर, १५ कात्तिक
क्वालिटी एस्योरेन्स अवार्ड (क्यूएए) प्राप्त गर्न सफल भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको बीबीए कार्यक्रम पनि सुरु गर्ने भएको छ । स्नातक तहमा त्रिभुवन विश्वविद्यालयको बीबीए कार्यक्रमलाई निकै प्रतिस्पर्धी र जीवनोपयोगी कार्यक्रम मानिन्छ ।
शैक्षिक गुणस्तर सुधार गर्दै विभिन्न कार्यक्रम थप गर्दै जाने क्रममा यसै शैक्षिक सत्रबाट व्यवस्थापन शिक्षामा प्रभावकारी मानिएको बीबीए कार्यक्रम सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख खेमनारायण सापकोटाले जानकारी दिए ।
बीबीए कार्यक्रम सञ्चालनका लागि क्याम्पसमा त्रिभुवन विश्वविद्यालय सहायक डीन ध्रुवलाल पाण्डेको प्रमुख आतिथ्यमा सम्भाव्यता अध्ययनसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । “अन्तरक्रियामा सहभागी सबै सरोकारवालाले व्यवस्थापनमा उत्कृष्ट यो कार्यक्रम सप्तगण्डकीमा निकै उपयोगी र आवश्यक रहेको धारणा व्यक्त भयो”, क्याम्पस प्रमुख सापकोटाले भने, “त्यही सुझावबाट हामी उत्साहित छौं ।”
बीबीए सेमेस्टर प्रणालीमा पढाइन्छ । हरेक ६ महिनाको एक सेमेस्टर हुन्छ । यो कार्यक्रम ४ वर्षमा ८ सेमेस्टरमा सकिन्छ । अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सांसद् कृष्णभक्त पोखरेल, प्रदेश सांसद्द्वय विजय सुवेदी र घनश्याम दाहाल अविनास, क्याम्पस सञ्चालक समिति अध्यक्ष टेकबहादुर थापा, उपाध्यक्ष रमाकान्त सापकोटा, उद्योग वाणिज्य संघ–चितवन तथा स्थानीय टोल सुधार समितिका प्रतिनिधिहरु सहभागी थिए । सञ्चालक समिति अध्यक्ष थापाले क्याम्पसमा निरन्तर सुधार र कार्यक्रम थपका लागि काम गरिरहेको बताए । क्याम्पसले यसैपाली स्नातक तहमा बीसीए र बीआईएम पनि ल्याउन लागेको छ ।
क्याम्पस प्रमुख सापकोटाले आफ्नो कार्यकालमा क्यूएए प्राप्त गरी २ करोडभन्दा बढीको अनुदान विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त गर्नुलाई सबैभन्दा ठूलो उपलब्धी मान्छन् । “झण्डै बन्द हुन लागिसकेको बीएससी कार्यक्रम मेरै कार्यकालमा प्रभावकारी कार्यक्रम बनेको छ”, उनले भने, “प्रशासनिक सुधार, पर्याप्त कार्यक्रम थप र अनुशासनमा सुधार गरेर देशभरका पब्लिक क्याम्पसमा सातौं नम्बरमा पर्नुलाई उपलब्धी ठानेको छु ।”
आगामी वर्ष बीएसी सीएसआईटी कार्यक्रम ल्याउनका लागि प्रयास पनि गरिरहेको उनले बताए । २०४५ सालमा स्थापना भएको यो क्याम्पसमा हाल कक्षा ११ देखि स्नातकोत्तरदेखि विभिन्न कार्यक्रममा करिब ३ हजार ७०० विद्यार्थी अध्ययनरत छन् । शिक्षक तथा कर्मचारी गरी क्याम्पसमा करिब १ सय जना कार्यरत छन् ।
सप्तगण्डकीमा त्रिविको बीबीए
सप्तगण्डकीमा त्रिविको बीबीए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस