विप्लव काफ्ले
भरतपुर, १३ कार्तिक
भरतपुर महानगरले सबैप्रकार कर तथा राजश्व नजिकका वडाबाटै तिर्ने व्यवस्था मिलाउने तयारी गरेको छ । सम्पत्तिकर, मनोरञ्जन कर, बहाल कर, विज्ञापन कर, दण्ड जरिवाना बाहेकका कर वडातहबाटै तिर्न मिल्ने व्यवस्था छ । महानगरले वडातहबाटै कर तथा राजश्व तिर्न मिल्ने गरी कर संकलन केन्द्र विस्तार गर्ने अभियानमा लागेको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले करिव २ महिनाभित्र सबै कर वडातहबाटै तिर्ने व्यवस्था मिलाउन तयारी भैरहेको जानकारी दिए । “केही वडामा रहेका कर संकलनका काउण्टर सबै वडातहमा विस्तार गरिनेछ”, उनले भने, “कर बुझाउन महानगरकै कार्यालय धाउनुपर्ने बाध्यता हटाइनेछ ।” उनले सबै वडातहमा इन्टरनेटको पहुँच विस्तार गरेर अनलाइनबाटै कर संकलन गर्ने प्रक्रियाका लागि पहल भैरहेको बताए ।
“आफ्नै वडाबाट कर तिर्ने व्यवस्था बनेपछि करको दायरामा आउने संख्या पनि वृद्धि हुने अपेक्षा गरेका छौँ”, उनले भने, “करको ठूलो हिस्सा ओगट्ने सम्पत्ती कर पनि छिटै वडातहबाटै तिर्न मिल्ने व्यवस्था मिलाइदैछ ।” हाल १६ वटा वडा कार्यालयबाट सम्पत्ती कर तिर्न मिल्ने व्यवस्था छ । गत आर्थिक वर्षमा ५ करोड ८७ लाख ६७ हजार ५ सय ७७ रुपैयाँ सम्पत्ती कर संकलन भएको थियो । गत वर्ष महानगरले जनसहभागिता सहित ४९ करोड ११ लाख ७९ हजार कर तथा राजश्व संकलन गरेको थियो । राजश्व शाखाका प्रमुख जगन्नाथ अर्यालले कर तथा राजश्व शाखाका तथ्यांक ‘वेभ वेस’ (अनलाइन वेस) मा लगिएको बताए । “३ दिन सेवानै रोकेर वेभवेसमा डाटा राखेका छौँ”, उनले भने, “मोबाइल वा ट्यावबाटै कर संकलन गर्न मिल्ने गरी ‘डाटा अपडेट’ गरेका छौँ, अब लाइन बसेर कर तिर्नुपर्दैन ।”
उनका अनुसार विगतमा सम्बन्धित कम्युटरमा मात्रै अभिलेख हुने गरेकोमा अबदेखि युजर आइडी र पासवर्ड भएमा सम्बन्धित कर्मचारीले अनलाइनबाटै कर संकलन गर्न सक्नेछन् । अनलाइन सिष्टमबारे प्रत्येक वडाका कम्युटर अपरेटर, राजश्व शाखाका कर्मचारी, वडा सचिवलाई २ दिने तालिम समेत दिइएको छ । “इ–पेमेन्टका लागि आधार तय भएको छ”, उनले भने, “केही वर्षमा घरमै बसेर कर तिर्ने व्यवस्था लागू हुनेछ ।” उनले वडातहका सफ्वेयर व्यवस्थित गर्ने काम भैसकेको छ । अर्यालयका अनुसार महानगरले यो वर्ष करिव ९ करोड कर संकलन भैसकेको बताए । “गत वर्ष यो अवधिमा ६ करोड संकलन भएको थियो, यो वर्ष धेरै संकलन भएको छ”, उनले भने, “बेलैमा कर तिर्नुपर्छ भन्ने चेतना विस्तार भएको छ, लक्ष्य भन्दा धेरै कर संकलन हुने अपेक्षा लिएका छौँ ।” उनका अनुसार महानगरले यो वर्ष ५५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । वडातहमै सबै कर तिर्ने व्यवस्था भएमा अझै बढी संकलन हुने उनको भनाई छ ।” महानगरको आम्दानीको मुख्य स्रोत सम्पत्ती कर, घरबहाल कर, नक्सा दस्तुर, सेवा दस्तुरनै हो । “निजी क्षेत्रसँग सहकार्य गरेर स्वघोषणा गरेर श्रेणी अनुसारको कर संकलन हुदैछ”, उनले भने, “छिटै ‘स्पेशल फोर्स टास्क’ गठन गरेर करको दायारमा ल्याउने काम हुनेछ ।”
महानगरले यो वर्ष घरबहाल कर धेरै उठाउने लक्ष्य लिएको छ । विगतमा अन्तरीक राजश्व कार्यालयले संकलन गर्दै आएको घरबहाल करलाई महानगरले नयाँ मापदण्ड बनाएर संकलन गर्ने निती लिएको छ । सम्झौताका आधारमा आवास प्रयोजनका घरमा २ प्रतिशत, कृषि प्रयोजनमा १ प्रतिशत, व्यापारिक प्रयोजनमा १० प्रतिशत घरबहाल कर लिने तयारी गरेको छ । गत वर्ष महानगरले ८८ लाख २१ हजार कर संकलन भएको थियो । “आन्तरीक राजश्वबाट अभिलेख ल्याएर सो अनुसार संकलनको अभियानमा छौँ”, उनले भने, “यो वर्ष घरबहाल कर उल्लेख्य संकलन गर्ने योजनामा छौँ ।” कर तथा राजश्व संकलनको अवस्थालाई समेत आधार बनाएर बजेट बाँडफाड गरिएको थियो ।
आन्तरीक आय बढाउन सक्रिय महानगर
आन्तरीक आय बढाउन सक्रिय महानगर

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस