प्रमिता ढकाल
शनिबार चितवनको भरतपुरमा देवदेवीको कुम्भमेला लाग्यो । कुम्भमेलामा ५ सय ९१ देवदेवी टहलिरहेका थिए । कोही त सवारीसाधन पनि चलाएरै आएका थिए । उनीहरु आम मानिसकै भिडमा निर्धक्क डुलिरहेका थिए । मेलामा उनीहरुले अन्य सर्वसाधारणको आग्रहमा सँगै फोटो खिचे, सेल्फी पनि लिए । सेल्फी लिँदा उनीहरु पनि मुस्कुराएका थिए । यो चहलपहल, यो मेला लागेको थियो जुनियर प्रहरी अधिकृत शिक्षालयको परेडस्थलमा ।
केहीबेरको चहलपहलपछि देवदेवीको भेला सुरु भयो । जगमग जगमगाएका मुकुट र विशेष पोशाकसहित चहलपहल गरिरहेका सबै अगाडि मञ्चमा आशिन भए । उनीहरुको सम्मानमा ब्याण्ड बाजा बज्यो । मैदानभरि अटाइ–नअटाइ दर्शक कुर्सीमा बसे । जुनियर प्रहरी अधिकृत शिक्षालयमा तालिम लिएपछि दीक्षान्त समारोहमा देखिने जस्तै दृश्य तर यसपटक प्रसंग फरक ।
शनिबार शिक्षालयको परेड स्थलमा करिब ५ हजार मानिस जम्मा भएका थिए । मञ्चमा ५ सय ९१ जना मुस्कुराउँदै आशिन थिए । शीरमा मुकुट, सुन्दर आभूषण र गहनाले सजिएका साक्षात देवलोकबाट प्रकट भएका जस्ता देखिने उनीहरु ब्रह्मकुमारी राजयोगका योगीहरु थिए । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नारायणगढले राजयोगी बनेर १५ वर्षभन्दा माथि निरन्तर समर्पितलाई सम्मान गरेको अवसर निकै अद्भुत देखिन्थ्यो । सम्मानित हुनेमा आधाभन्दा बढी महिला थिए । उनीहरुमा उत्साह थियो, उमंग थियो । मञ्चासिनहरु त फुरुङ्ग थिए नै, उनीहरुका परिवार सदस्यमा पनि खुसी छाएको प्रष्ट देखिन्थ्यो ।
भारतको राजस्थानस्थीत माउण्ट आबुमा हेडक्वार्टर रहेको ब्रम्हकुमारी राजयोगको सम्मान कार्यक्रम यसअघि हेडक्वार्टरमै सीमित थियो । तर, नेपालमै पहिलोपटक ब्रम्हकुमारी राजयोग सेवा केन्द्र नारायणगढले राजयोगीहरुको सम्मान गरेर परिवार र समाजमा पनि सकारात्मक सन्देश फैलाएको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र नेपालका निदेर्शक राजयोगिनी राजदादीले बताइन् । “मलाई यो कार्यक्रम सम्भव होला र जस्तो लागेको थियो”, उनले भनिन्, “तर, सबैको सक्रियता, समन्वय र सर्मपित मनहरुको पवित्र इच्छाकै कारण कार्यक्रम सफल मात्र होइन निकै भव्य पनि भयो ।”
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नारायणगढले चितवन, नवलपरासी, मकवानपुर र धादिङका राजयोगीलाई एकैसाथ सम्मान गरेको हो । कार्यक्रममा विभिन्न समूह छ्ट्याएर राजयोगीहरुलाई एकैसाथ सम्मान गरेको हो । २६ देखि ३६ वर्षसम्म सेवामा समर्पितको एक समूह, २१ देखि २५ वर्षसम्मको दोस्रो समूह र १५ देखि २० वर्षसम्म समर्पितको तेस्रो समूह छुट्याएर सम्मान गरिएको हो ।
२५ वर्षदेखि निरन्तर राजयोगमा समर्पित नारायणगढ पुलचोकका विश्व श्रेष्ठ र उनकी श्रीमती विष्णुमाया श्रेष्ठले ब्रह्मकुमारी राजयोगको सम्मानले आफूलाई अझ जिम्मेवारी थपेको आभाष भएको बताए । विश्व शान्तिको महान यज्ञमा समर्पित सेवा केन्द्रमा आफू मात्र नभई अन्यलाई पनि आह्वान गर्न कार्यक्रमले ऊर्जा थपेको उनले बताए ।
२२ वर्षदेखि राजयोगमा समर्पित उज्ज्वलनगरकी लीला अर्यालले आफ्नो तपस्याले सार्थकता पाएको महसुस भएको बताइन् । “यो यज्ञमा म र मेरा श्रीमान्सँगै लागेका थियौं, लोक शान्तिको कामना गर्दै विश्वभर आह्वान गरिएको यज्ञमा आफ्नो निरन्तरताको सम्मान हुँदा सन्तुष्टि मिल्ने रहेछ”, उनले भनिन्, “आज उहाँ हुनुहुन्न यो विशेष दिनमा हामी सँगै सम्मानित हुन पाएको भए अझ बढी खुसी हुन्थ्यो होला ।”
यस्तै अनुभव सुनाए २३ वर्षदेखि सेवामा समर्पित गीतानगरका प्रेमराज लेखकले । आफ्ना परिवार सदस्यलाई पनि यस यज्ञमा सामेल हुन हौसला मिल्ने गरी आफ्नै ठाउँमा सम्मानित हुन पाउँदा खुसी लागेको उनले बताए । कार्यक्रममा पूर्वमन्त्री केशवलाल श्रेष्ठ, पूर्व जिल्ला सभापति विष्णु अधिकारी, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधान, पूर्व अध्यक्ष कल्याण जोशी, भरतपुर आँखा अस्पतालका सहायक प्रबन्धक छाँया श्रेष्ठ सहभागी थिए ।
J
कार्यक्रमको बीच–बीचमा प्रस्तुत गरिएका देवदेवीका नृत्यले कार्यक्रमलाई अलौकिक महसुस गराएको उनीहरुले सुनाए । ब्रह्मकुमारी राजायोग सेवा केन्द्रले ३६ वर्षअघि चितवनको नारायणगढमा आफ्नो सेवा सुरु गरेको हो । समाजसेवी गौरी प्रधानको स्टोर घरबाट सुरु गरेको अभियानले सफलता प्राप्त गर्दै अहिले नेपालमै सबैभन्दा बढी सेवा केन्द्र चितवनमा नै स्थापित गराउन सफल भएको क्षेत्रीय निर्देशक लक्ष्मी दिदीले बताइन् । उनका अनुसार यी जिल्लाहरुमा ५० हजार बढी राजयोगी छन् । नारी शक्तिको विशेष सम्मान गर्दै शशक्तिकरणमा जागरण फैलाउने राजयोग विश्वभरि नै एक उदाहरण बनेको उनले दावी गरिन् ।