सरोज पाठक सुमन
कृति : मैयाँ
बिधा : कथा
लेखक : निर्दोष जीवन
प्रकाशक : युरेका पब्लिकेसन्स
मूल्य : रु. २५०
निर्दोष जीवन नेपाली साहित्यको लागि उदाउँदो नाम हो । सुरुआती दिनमा गजल वाचन र गायनबाट चिनिएको यो नाम ‘मैयाँ’कथा संग्रहसम्म आइपुग्दा कथाकारको रूपमा उपस्थित भएको छ । हामी परिवर्तन चाहन्छौं, आवाज उठाउँछौ–हाम्रो समाज फेर्नुपर्छ, नौलो आयाममा सुन्दर जीवन बिताउनुपर्छ भन्छौं, विभिन्न दार्शनिक शब्दहरूको ठेली लगाएर । तर, मैयाँभित्रको हरेक पानालाई पढ्दा यस्तो लाग्यो कि हाम्रो वास्तविक समाज यहीँ छ, हाम्रो चरित्र यतै कतै हराएको छ । हामी लुकाउने प्रयास गरिरहेका छौं । मभित्र प्रश्न उब्जिएको छ कि हाम्रा बाआमा, दाजुभाइ, दिदीबहिनी जो कोही किन यस पुस्तकभित्र समेटिएका छौं आजको युगमा समेत ?
जब मैयाँलाई निर्दोष जीवनले जीवन प्रदान गर्दैछन् भन्ने सुनेको थिएँ, लाग्थ्यो महिलाकै नाम जोडेर लेखिएको पुस्तक प्रेम र यौनभित्र रुमलिएको त होला । तर, मेरो विचार गलत रहेछ । हाम्रो पुस्तक बजार यसरी बिग्रिएको छ कि विज्ञापन र हल्लाकै भरमा कथावस्तुलाई यताउति घुमाएर उही प्रेमको घेराबन्दीमा पुस्तक प्रकाशन गर्ने । अनि पाठकहरुको समयमाथि मात्र अवरोध प¥याउने । मैयाँमाथि पनि यस्तै विचार आएको थियो ।
यो संग्रहभित्रको शीर्ष कथा ‘मैयाँ’ले एउटी टुहुरी र कलिली छोरीको मनोदशा र यौन जीवनलाई मज्जाले उतारेको छ । जन्मदिने आमाबाट अलग्गिएपछि हक खोज्ने बाबु र सौतेनी आमाको अभिवावकत्वप्रति हाम्रो समाजमा चली आएको प्रचलनले आजसम्म पनि कसरी स्थान पाइरहेको छ भन्ने कुराको ज्वलन्त उदाहरण हो शीर्ष कथा । वास्तवमा आफू हुर्किएको र बाँचेको समाजलाई मज्जाले बुझेका हुन् लेखकले ।
१९ वटा कथाहरु हाम्रो समाजको हिजो र आजको कथा, व्यथा र बेथितिमाथि घेरिएका छन् । ‘मलाई बाँच्न देऊ’ कथाले खास जन्मको अर्थ बताएको छ । गर्भपतन आजको समयमा हलक्कै हुर्किएको चलन हो । गर्भपतनका तीनवटा कारण छन्– एकः प्रेम अनि अञ्जान सम्बन्ध, दुईः छोराप्रधान समाज र तीनः अनावश्यक सन्तानको विदाई । यस कथामा यी तीनवटै कारणहरु अदृश्यरूपमा प्रमाणित भएका छन् । अनि महिलाको मृत्यु कति सहज छ ? प्रश्न उठेको छ ।
केही कथाहरूको अन्त्य उस्तै भएको छ, केही कथाहरुको भाव उस्तै छन् । तर, फरक शैलीमा । विशेषगरी यो समाजमा नारीको मान्यता र स्थानको समस्याको मूल जरोलाई खोतलिएको छ । अनि प्रेमले निम्त्याउने केही अपत्यारिला प्रसंगहरु पनि उठेका छन् । प्रेम, विवाह र समाज यस संग्रहको मुख्य केन्द्रविन्दु बनेको छ, जस्लाई फरक–फरक तरिकाले अथ्र्याउन लेखक सफल भएका छन् ।
साथीत्वको नाममा देखिएका केही समस्याहरू जस्ताको तस्तै अक्षरमा छरिएका छन् । लेखक कलमको माध्यमबाट हरेक समाजमा पुगेका छन् । हरेक प्रसंगले समाजलाई प्रत्यक्ष असर पु¥याएको छ । विशेषगरी त्यहाँ बस्ने महिला, गरीब, असहायलगायत कमजोर अवस्थाका मान्छेहरुको पक्षमा केही वकालत गर्नुपर्छ है भन्ने सन्देश मैयाँ कथासंग्रहले दिएको छ । यसो भनिरहँदा केही ठाउँमा लेखक कति सजिलै चिप्लिएका छन् । केही कथा छोटा छन् । तर, एक आयु जीवन बोल्न खोजेका पनि छन् । यसो हुँदा कहीँकतै खल्लोपन देखिएको छ ।
समाजको चित्र उतार्ने भनेर उस्तै व्यथालाई फरक कथाको अन्त्यमा उस्तै तरिकाले पाउँदा पनि स्वाद लिइरहेको जिब्रोलाई ढुंगाले आएर छेकेको त होइन ? भन्ने आभाष भएकै हो । यद्यपि यी यस्ता कुराहरूलाई सबै कथाले पचाइदिएका छन्, यानेकि लुकाइदिएका छन् । सबै कुरा कहाँ सोचेजस्तो नै कहाँ हुन्छ र ।
समाज प्रधान कथाख्यानबाट आफ्नो छुट्टै परिचय बनाए लेखकले । सँगै अरुलाई पनि समाजपूरक साहित्यमा लाग्नुपर्छ है भन्ने सन्देश निर्दोष जीवनको लेखन शैलीले दिएको प्रस्ट पाउन सक्छौं । यसरी अर्को आयाम लिएर उदाएका लेखक सधैं नेपाली साहित्य क्षेत्रमा सफल हुँदै जाउन्, समाजले सहजै बुझ्न सकोस् । कलमको अर्थलाई यही शुभकामना अर्पण गर्दछु ।