धनराज गिरी
आफ्नै शरीर व्यवस्थापन गर्न अक्षम हामी नेपालीले अरु कुरा व्यवस्थापन कसरी गर्ने होला ? मनमा अनेक प्रश्नहरु आए । हरेक नागरिक निरोगी र सक्षम भए मात्र ऊ राष्ट्र निर्माणमा जुट्न सक्दछ । स्वव्यवस्थापन सारै महत्वपूर्ण कुरा हो । ढिलै भए पनि इश्वरको कृपाले मेरो होस खुल्यो र आफ्नै जिउलाई साइजमा ल्याउन मैले अनेक उपाय सोचे । ‘धनराज’ बन्छु भन्दा भन्दै ‘गजराज’ हुन पुगें । वजनको चिन्ता बढ्यो । धेरै मोटो मानिसहरुको आयु छोटो भएको कुरा प्रत्यक्ष देखें । घ्याम्पे भुँडीका मालिकहरु, यसैपाली, दुई जना अनन्त यात्रामा देवघाट पुगेर आएको हुँ । अन्य उपाय पनि गरें, बिहानै ४ बजे उठेर हिंड्न थालें ७÷८ कि.मी एक्लै हिंडन मन पराउँछु म प्रकृतिसित सम्वाद गर्दै । चरीहरुको चिरबिर मलाई असाध्यै मनपर्छ । धेरैलाई ‘परी’ मनपर्छ, मलाई भने चरी मनपर्छ । फूलहरु त सबैलाई मनपर्छ । यस्तै यस्तै सोच्दै थिएँ । गणित गुरुलाई संझिएँ । आखिर जीवन पनि त एउटा गणित नै हो । कता हो पढेको याद आयो । एउटा भोकाएको खरायोले आफ्नो सामुन्नेमा हरियो घाँस देख्यो र त्यतिखेरै पछाडि, अलिपर, बाघ देख्यो भने मनमनै हिसाव गर्दछ अर ‘त्यो बाघ यहाँ पुगुञ्जेल घाँस चरेर भाग्न सक्छु कि सक्दिन ’उसको अनुमानको गणित अर्थात् तथ्यांक शास्त्रले काम ग¥यो भने उसको जीवन जोगियो, होइन भने ‘अकाल काल–ग्रास’ हुने भयो । हाम्रो जीवन पनि त्यही खरायोको जस्तै हो । जीवनको हिसाब मिल्दै गएमा जीवन पक्कै पनि जीवन हुन्छ होइन भने हामी एक पटक मर्नु अघि नै पटक पटक मरेका हुन्छौं । मैले त्यस्ता हतभागीहरु पनि देखेको छु । हीरामाथि सुतेका भिखारीहरु पनि देखेको छु । बाँचिरहे अनेक देख्न पाइन्छ । मनमा अनेक तर्कनाहरु आइरहेका थिए, बाटोमा एक बथान खान महोदयहरु भेट भए । मलाई यी धर्मराज युधिष्ठिरका सहयात्रीहरुसित सारै डर लाग्छ । झम्टिनै पनि सक्छन्, जमानामा १४ वटा सुई पेटामा लगाइकै हो । झन कात्तिक महिना नजिक । हुन त हामी यी महोदयहरुलाई पनि पूजा गछौं । हिन्दू धर्मको सौन्दर्य शब्दातीत । ती बथानबाट एक सदपात्र नजिक आयो र आफ्नो शरीरको पछाडिपटिको अतिरिक्त भाग हल्लायो । यसको अर्थ दोस्तीको प्रस्ताव हो, बुझें । टाउको मुसारे । अंग्रेजीमा माया गरें, अंग्रेजी बुझने भएछ । उसको नामको तीन अक्षर, अंग्रेजीकै लाई व्यक्तिक्रममा राख्दा ऊ पनि ‘इश्वर’ अर्थातु भगवान हुन्छ, अनि झट्ट एकजना ‘राताफूलहरु’ को मोहजालमा फसेर सोमरसको दास हुन मजबुर भएका देब्रे आँखामा फुलो परेका ‘प्रेमदास’ अग्रजलाई संझिएँ । उनको बानी तेब्बर बिग्रिएको छ । भाउजूलाई सम्झिंदा टीठ लाग्छ । उनी लेख्छन्, ‘मलाई यो प्राणी पटक्कै मन पर्दैन । यो दासताको बिम्ब हो । पौराणिक पात्रहरुमा नारद र हनुमानको नाम लिन झिंझो लाग्छ । म मान्छे दास होइन विन्दास भएको हेर्न चाहन्छु, किन कि दासहरु सधै उदास हुन्छन । दासहरु मानव सभ्यताका कलंक हुन । झन वौद्धिक दासहरु त मानसिक रुपमा टाट फर्किएका हुन्छन् । वफादारिका नाममा भाटगिरी र चम्पागिरी हुर्किएको समाज हो यो । चन्द्र शम्शेरले उन्ममलेख गरे भन्नु मात्रै हो यो दास प्रथामा हाम्रो समाजमा, कुन्नि किन हो, म दासहरु मात्रै देख्दछु । म चाहन्छु, हरेक मान्छे स्वाभिमानी र स्वतन्त्र भएर सास फेरोस् । मलाई पुरेतले मेरो नाम ‘प्रेमदास’ राखिदिए । पुरेतसित पनि झोक चल्छ । ‘रेशम फिरिरि’ गीत गाएर ‘गगन बिरही’ को कविता पढ्न चाहने पात्र म, यी गल्लीलाई आफ्नो स्वायत्त प्रदेश ठान्नेहरु देख्दा मलाई घृणा लाग्दछ । ‘अनि म झस्किन्छ । ठीक छ, यो प्राणी यस्तै छ । सम्झें मृगेन्द्रलाई वनका राजालाई, डमरुका पितालाई । के मान्छे सोझै वनका राजा जस्तै हुने हो ? मान्छेः यो कि त्यो ? बिरोध मात्रै जिन्दगी हो ? सबैलाई झम्टिनै पर्दछ ? हरदम आन्दोलित हुनु पर्दछ । मानौं मेरी पत्नी पनि मसित हरेक कुरामा विमति जनाएर वनको राजाले झैं मलाई झम्टिन मात्र थालेमा मेरो पारिवारिक जीवन के होला ? सन्तुलन कायम होला ? वफादार हुनु अक्षम्य हो ? अनि सम्झिंएँ आफ्ना सन्तानलाई उनीहरु पनि वागी भएर निस्किएमा मेरो मानसिक हालत कस्तो होला ? सम्झौता होइन र जीवन ? ए दाजै, तिम्रा ‘लालबहादुरले’ तिमीलाई त्यो बेलामा अर्थात् कुबेलामा कस्तो भाङ, अफिम चखाए ? हतारमा यात्रा गरेर तिमी कहाँ पुग्यौं ? स्वयम् ‘तुरुप’ त भएनौं ? प्रेमदास नाम भएर प्रेम गर्नै बिसिएझैं लाग्यो । पत्नी बिद्रोही, सन्तान बिद्रोही, मेरा चेलाचेली विद्रोही भएमा म कहाँ जाने ? कि मैले पनि कलम र किताब छोडेर बन्दुक बोक्ने ? अलि अलि विमति चाहिन्छ । अस्तित्व बोध हुनु पर्दछ । सरल, शिष्ट, मिष्ट भएमा विशिष्ट हुने संभावना हुन्छ । अस्तिभर्खर ‘कायाकैरनले’ सद्भावको सौन्दर्य, सुनायो । ती समाचारवाचकलाई पनि सम्झिएँ । अनि मनले मनसित भन्यो ‘ के राम्रो सम्बन्धको पर्याय चाकरी नै हो ? के हनुमान रामका चाकर नै थिए ? दास नै थिए ? पौराणिक कालका मार्कटेली’ हुन नारद, विशिष्ट पत्रकार, सम्वाददाता । उनलाई पनि ‘कुरौटे’ मात्र भन्ने ? मानिस यो धरामा आएको झगडा गर्न र निषेध गर्न मात्र हो ? एउटा बाउ खराब भएमा यस धरतीका सम्पूर्ण बाउहरु चण्डाल नै हुन्छन् ? एउटा राजनीतिक कार्यकर्ता बदमास भएमा सम्पूर्ण पद्धति नै दोषी हो र ? हामी कतै न कतै ‘हीनग्रन्थी’ को शिकार भएका छौं । हामी अति ‘राम्रो म’ को मोहजालमा फसेका छौं । हामी अरुको निन्दा सुनेर मात्र मस्त निदाउँछौं । हामीले जिउने कला सिक्न जानेनौं । हामी कलाविहीन कलाकार भयौं । त्यति वफादार प्राणीलाई मन नपराउनु भनेको ‘बेइमानी’ स्वीकारिएको ठहर्दछ । इमान हराएको समाजमा, वफादार डराएको समाजमा सास फेर्न मुस्किल हुन्छ । राम्रोलाई राम्रो भन्ने हिम्मत गरौं । सकारात्मक सोच नभएमा जीवन अवश्य पनि नरक बन्दछ, मानिस स्वयम् ‘गलत उत्पादक’ हो, स्वपीडक हो । रहस्यमयी प्राणी हो मानिस । यस्तै यस्तै सोच्दा सोच्दै लामो यात्रा तय भएछ । बिहानै ‘एक कप चियासित विनोदी गुरुको कविता’ सुन्ने योजना थियो । विनोदी गुरु सम्झिएपछि नतमस्तक भएँ । लाग्यो इश्वरको अस्तित्व एउटा कल्पना मात्र हो । मान्छेको नाम मात्र ‘इश्वर’ हुन्छ । आफ्ना सम्पूर्ण गुरुहरु सम्झिएँ । बाहिर बाहिर मज्जाले हप्काएर भित्र भित्र सारै माया गर्ने गुरुलाई पनि संझिए । वास्तवमा मान्छे न यो न त्यो, न देवता न राक्षस, मान्छे फगत मान्छे भए पुग्छ । किम अधिकम् ।