विप्लव काफ्ले
भरतपुर, १० कात्तिक
प्लाष्टिकबाट बनेका मालाको भरमा तिहार मनाउनुपर्ने बाध्यता धेरैको छ । पूर्वयोजना बनाएर आफ्नै बारीमा सयपत्री, मखमली बिरुवा हुर्काएर ढकमक्क फूलाएर तिहार मनाउने कमै भेटिन्छन् । तिहार नजिकिएसँगै सयपत्री र मखमलीको माला जोहो गर्ने चिन्ता अधिकांशमा पाइन्छ ।
भरतपुर–७ उज्वल टोलका स्थानीयले सामुहिकरुपमा डेढ विघा जग्गा भाडामा लिएर सयपत्री र मखमली फूल हुर्काएका छन् । “गत तिहारमा मागअनुसारको फूल बेच्नै सकेनौँ, कम फूल्यो”, सयपत्री फूल खेती समूहका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले भने, “यो तिहारलाई बुकिङ सुरु भइसक्यो, शुक्रबारसम्म ३ हजार माला बुकिङ भएको छ, करिब १५ हजार माला बेच्ने लक्ष्य लिएका छौँ ।”
उनले बुकिङ अनुसार प्राथमिकता दिएर फूल बेच्ने योजना बनाइएको बताए । समूहको शुक्रबार बिहान बैठकसमेत बसेको थियो । फूल टिप्नेलाई प्रति क्रेट १ सय रुपैयाँ, माला उन्नेलाई प्रति माला ५ रुपैयाँ दिने निर्णय गरेको छ । यस्तै आसपासका स्थानीयले व्यक्तिगत रुपमा उत्पादन गरेको सयपत्री मखमली फूलको माला ३५–४० रुपैयाँसम्म खरिद गर्ने योजना बनाएको छ ।
“तिहार अगावै फूल ढकमक्क फूलेको छ”, उनले भने, “बिरुवामा सिंचाई गरिरहेका छौँ, तिहारमा ताजा फूल बेच्न तयार भएर बसेका छौँ ।” उनका अनुसार २ सय मालाको प्रति गोटा ७० रुपैयाँ, २ सय देखि ५ सयसम्मको प्रति गोटा ६० रुपैयाँ मूल्य कायम गरिएको छ । यस्तै ५ सय माथि माला प्रति गोटा ५० रुपैयाँमा बिक्रि गर्ने योजना बनाइएको छ । केही वर्ष पहिले हरेक घरमा कम्तीमा १० फूल अभियान चलाएका स्थानीयले सामूहिक खेतीनै गरेर व्यवसायीक रुप दिएका छन् । “सामुहिक खेतीले धेरैलाई जागरुक बनाएको छ”, श्रेष्ठले भने, “तिहारमा स्वदेशी माला हरेक घरमा पु¥याउन लागेका छौँ ।”
उज्वल टोलका २५ जना मिलेर ५ लाख ४० हजार बराबरको सेयर पूँजी कायम गरेर समूहगत रुपमा पुष्प व्यवसाय सुरु गरेका हुन् । उज्वल टोलका मिनबहादुर थापा पुष्प व्यवसायले आत्मनिर्भर बन्न सघाउने बताउँछन् । “सयपत्रीको एउटै विरुबाबाट २ महिनासम्म फूल टिप्न सकिन्छ”, उनले भने, “५ वटा मात्रै विरुवा लगाउनेले तिहारमा सहजै २ हजार बराबरको फूल बेच्न सक्छन् ।” बाली संरक्षण अधिकृतका रुपमा जागिर जीवन विताइसकेका थापाले सयपत्री मखमली फूल जुनसुकै हावापानी तथा माटोमा सजिलै खेती गर्न सकिने बताउँछन् । कम लगानीमा उत्पादन गर्न सकिने भएकाले पुष्प व्यवसाय विस्तारै फष्टाउँदै गएको बताउँछन् ।
स्थानीय दलबहादुर थापामागर अन्य खेती भन्दा सजिलो खेती भएकाले आँफुले पनि फूल खेती सुरु गरेको बताउँछन् । “लगानी धेरै नलाग्ने, कम मिहेनत चाहिने भएकाले फूल खेती गर्न सुरु गरेको छु”, उनले भने, “विस्तारै बढाउने योजनामा छु ।” उज्ज्वल टोलकै सीता श्रेष्ठ ५ कट्टठा जग्गामा फूल खेती गर्दै आएकी छिन् । “गतवर्ष ६० हजार बराबरको फूल बेँचे”, उनले भनिन्, “खेतभरी फूल फक्रदा आत्मसन्तुष्टी पनि मिल्दो रहेछ, कमाई पनि राम्रै हुने रहेछ ।”
सयपत्री फूल पुजाआजा, मन्दिरमा चढाउन, पाहुना सत्कार, तिहारमा मलाका रुपमा प्रयोग गर्ने गरिन्छ । गत वर्ष सयपत्री फूल खेती समूहले साढे ३ लाख बराबरको माला तिहारमा बेचेको थियो । यो वर्ष दशैंसम्म २ हजार थान माला बेचिसकेको छ ।
फ्लोरिकल्चर एशोसिएशन अफ नेपाल चितवनका अध्यक्ष प्रकाश पन्तले जिल्लामा ३० जना व्यावसायिकरुपमा पुष्प व्यवसायमा लागेको बताए । “सयपत्री, मखमली खेती गर्ने कम छन्”, उनले भने, “जिल्लामा सरदर २५ हजार थान माला उत्पादन हुन्छ, यही हाराहारीको अन्य जिल्ला वा भारतबाट आयात हुन्छ ।” पुष्प व्यवसायलाई हौसला बढाउन सरकारी कार्यक्रम नहुदा आर्कषण बढ्न नसकेको बताउँछन् ।
कृषि ज्ञान केन्द्र चितवनका बागबानी विकास अधिकृत धनबहादुर थापाले तिहारका बेला आवश्यक पर्ने माला समेत जिल्लामा प्रयाप्त रुपमा उत्पादन हुन नसकेको बताउँछन् । “जहाँ उत्पादन हुन्छ, त्यही खपत हुन्छ, निर्यात हुने अवस्था छैन”, उनले भने, “तिहारका बेला समेत बजारमा आयातित माला आइपुग्छन्, महंगो मूल्य तिरेर किन्नुपर्ने बाध्यता छ ।”