प्रमिता ढकाल
भरतपुर, ९ कात्तिक
पश्चिम चितवन शारदानगर किरणगञ्जमा रहेको रानीपोखरीमा दशैँभर पर्यटकको ओइरो लाग्यो । भरतपुर महानगरपालिकाअन्तर्गत विभिन्न वडा, आसपासका गाउँ रामपुर, विजयनगर, चनौली, पर्साढाप, मेघौलीका स्थानीय पर्यटक रानीपोखरी अवलोकनका लागि आएका देखिन्थे ।
दशैँ टीकाको भोलिपल्ट भेटिएकी विजयनगरकी सञ्जिता अधिकारीले आफ्ना साथीहरुसँग महत्वपूर्ण समय बिताउन घरबाट नजिकमा रमणीय स्थान बनेको देख्दा निकै खुसी लागेको बताइन् । वीरगञ्जमा नर्सिङ अध्ययन गरिरहेकी उनले पहिलोपटक रानीपाखेरी घुम्न आएको बताइन् । “चाडपर्वमा घर आइएको हुन्छ, घरमा पाहुना पनि त्यत्तिकै आउनुहुन्छ”, उनले भनिन्, “धेरै टाढा जाने समय पनि हुँदैन, साथीसँग रमाइलोका लागि नजिकको पर्यटकीय स्थल सुनमा सुगन्ध हुने रहेछ”, उनले भनिन् ।
रानीपोखरी घुम्दै गर्दा भेटिएका काठमाडौंका रोशन महर्जन पनि निकै खुसी देखिन्थे । दशैँको टीका थाप्न मामाघर रामपुर आएको मौका पारेर दाजुभाइ तथा दिदीहरुसँग पोखरी घुम्न गएका थिए । “पहिला–पहिला मामाघर आउँदा दिदीहरुले सौराहा पनि कति जानु अन्त घुम्नलाई ठाउँ नै छैन भन्दै टार्नुहुन्थ्यो”, उनले भने, “यो पटक त आफैले जाउँ घुम्न रानीपोखरी भन्दै ल्याउनुभयो ।”
अध्ययन तथा रोजगारी सिलसिलामा घरगाउँबाट टाढा रहेका युवा हुन् वा आफन्तकहाँ दशैँ मनाउन आएका आगन्तुक, नजिकमा रहेको पर्यटकीयस्थल एकपटक पुगौं न भन्दै रानीपोखरी घुम्न आउनेको संख्या बढेको रानीपोखरी विकास तथा संरक्षण समिति अध्यक्ष सुरेन्द्र गुरुङले बताए ।
रानीपोखरी घुम्नेहरुको गुनासो पनि छ । पर्यटकीयस्थल भनेपनि झाडीले ढाकेको हुँदा सुन्दरता घटेको उनीहरुले बताए । आसपासमा खाजानास्ताको लागि होटल तथा रेष्टुरेन्ट नहुँदा समस्या भएको उनीहरुको भनाइ छ । रानीपोखरी विकास तथा संरक्षण समितिले केही महिनायता रानीपोखरीको संरक्षण, सम्वद्र्धन र व्यवस्थापनका लागि १० रुपैयाँको टिकट शुल्क निर्धारण गरेको छ । शौचालय सरसफाइ, झाडी फडानीजस्ता कार्यका लागि सो रकम प्रयोग गरिदै आएको छ ।
“यो पोखरी चितवनमा आधुनिक बसोबास सुरु हुनुअघि नै निर्माण भएको मान्यता छ”, अध्यक्ष गुरुङले भने, “पर्यटकीय हिसाबले महत्वपूर्ण हुनसक्ने आधारमा हामीले यसको संरक्षण र सम्वद्र्धनका लागि होस्टेमा हैँसे गर्दैछौं ।” नवमी, दशमी र एकादशी गरी ३ दिनमा ३ हजार बढीले टिकट काटेर रानीपोखरी घुमेको उनले बताए । रानीपोखरीलाई पर्यटकीय आकर्षक गन्तव्यका रुपमा विकास गर्न भरतपुर महानगरपालिकाले बजेट विनियोजन गरेको छ । करिब ४ करोडको बजेटका लागि प्रक्रिया अन्तिम चरणमा पुगिसकेको अध्यक्ष गुरुङले बताए । बजेट प्राप्त भएपछि पोखरीको व्यवस्थापन तथा सरसफाइमा थप टेवा पुग्ने उनले बताए ।
वि.सं. २०५९ सालमा सोमप्रसाद गुरुङको अध्यक्षतामा पहिलोपटक रानीपोखरी विकास तथा संरक्षण समिति गठन भएको थियो । समितिले चार विघा जमिनमा तारबार गरेको थियो । कूल चार विघा क्षेत्रफलमा फैलिएको रानीपोखरीमा पोखरीमात्रै दुई विघा छ । पर्यटकलाई आकर्षित गर्न समितिले विविध प्याकेजसमेत ल्याएको देखिन्छ । पोखरीको डिलमा हिँड्नका लागि कंक्रिटले ढलान गरेर बाटो बनाइएको छ । ४ लाख रुपैयाँ लागतमा पोखरीको आडैमा सेतो बुद्धमूर्ति तयार गरिएको छ भने करिब ७ लाखको लागतमा पोखरी परिसरमा हात्तीको मूर्ति राखिएको छ । पोखरीको वरपर फलाम तथा कंक्रिटका कुर्ची राखिएको छ । जसका लागि ४५ हजार रुपैयाँ खर्च भएको छ । आगन्तुकहरु तिनै कुर्सीमा सुसाउँदै पोखरीको मनोरम दृश्यावलोकन गरी रमाउने गर्छन् । पोखरीको एक छेउमा भ्यू टावर समेत निर्माण गरीएको छ । “सुरुमा रानीपोखरीलाई आकर्षक पर्यटकीयस्थल बनाउनुप¥यो भन्दा कसैले पत्याउँदैन थिए”, हाल अष्ट्रेलिया रहेका गुरुङले एक प्रसंगमा भने, “अहिले मानिसहरु घुम्न लालायित भएको देख्दा त्योबेला सोमले भनेको ठीक रहेछ भन्छन् ।”
तालमा डुँगा सयरको सुविधा छ । पोखरीमा खुट्टाले पाइडल चलाउनुपर्ने दुई वटा डुँगा छन् । चार सय रुपैयाँ तिरेपछि एउटा डुँगामा एक घण्टा सयर गर्न पाइने सुविधा छ । एउटा डुँगामा चार जना अटाउँछन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र रानीपोखरी संरक्षण तथा विकास समितिको संयुक्त आयोजनामा १५ दिनसम्म सञ्चालित ‘प्रस्तर मूर्ति–रचना कार्यशाला–२०७१’ कार्यशालामा बनाइएका ढुंगाका आकर्षक २५ वटा मूर्ति पनि पोखरी वरपर राखिएका छन् । ग्रीनाईट (कडा ढुंगा) बाट मूर्ति देशका ख्याति प्राप्त २५ जना मूर्तिकारहरुले बनाएका हुन् । ३७ लाखको लागतमा निर्मित ढुंगाका मूर्तीहरुले पोखरीको सुन्दरतामा जीवन भरेको आभाष गराउँछन् ।