आफूभन्दा ठूलासँग झुकेको राम्रै हो । तर, टीका संस्कृतिमा यो ढंगको झुकाइले हामीमा हट्न नसकेको सोचको नमूना पेश गरेको छ ।
दशैं आयो, गयो । सधैं आउँछ, जान्छ । तर, चर्चा लामो । पिङको चर्चा । रमझमको चर्चा । जुवाको चर्चा । टीकाको चर्चा । जमराको चर्चा । चर्चै चर्चा । ठीकै त हो, चाडको पनि चाडको चर्चा नभए केको हुनु त ! तर, बेग्लै चर्चा यतिखेर सतहमा छ ।
राष्ट्रपति र प्रधानमन्त्रीदेखि पूर्वराजा ज्ञानेन्द्रसम्मले लगाइदिएको टीकाको चर्चा व्यापक छ । ऊबेला राजतन्त्रको बेला राजाले लगाइदिने टीका थाप्न जानेको लर्को निकै लामो हुन्थ्यो । राजालाई भगवान ठान्नेहरु लम्पसार परेर दण्डवत गर्थे । राजाको हातबाट लगाएको टीकाको मूल्य ठूलो थियो । सायद गाउँभर चर्चा हुँदो हो, राजाको हातबाट टीका लगाएको भनेर ।
व्यवस्था फेरियो । राजतन्त्र ढल्यो । गणतन्त्र फल्यो । पहिले राजाले लगाइदिने टीका अहिले राष्ट्रपतिले लगाइदिने भए । प्रधानमन्त्रीले पनि लगाइदिने भए । एउटा व्यवस्थालाई मान्नेहरु पूर्वराजालाई पनि शक्तिकेन्द्र मानेर त्यतै धाइरहेका छन् । टीका थापिरहेका छन् । ठीकै छ । टीका थाप्नु, नथाप्नु वा कोसँग थाप्ने वा कोसँग नथाप्ने तपसिलका विषय हुन् । व्यक्तिगत रुचिका विषय हुन् । यसमा टिप्पणी नगरौं । तर, राष्ट्रपतिको हातबाट थापिएको टीकाको चर्चा पो चर्चा ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीदेखि थुप्रै प्रशासकहरुलाई टीका लगाइदिइन् । उच्च पदस्थ र राष्ट्रकै अभिभावकको हातबाट टीका ग्रहण गर्नु र आशीर्वाद लिनु राम्रै विषय हो । तर, टीका लगाउँदा राष्ट्रपति बसेको आसनअघि टीका थाप्नेहरु घुँडा धसेर बसेका छन् । धनुष्टंकार शैलीमा । पहिले राजाको अगाडि झुकेको जस्तै । त्यसमध्ये सबैभन्दा बढी भाइरल बनिरहेको छ पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको फोटो । अरुहरु पनि कयौंको आसन त्यस्तै छन् । अझै उनको आसन विशेष उल्लेख गर्न लायक छ ।
आफूभन्दा ठूलासँग झुकेको राम्रै हो । तर, टीका संस्कृतिमा यो ढंगको झुकाइले हामीमा हट्न नसकेको सोचको नमूना पेश गरेको छ । पदको गरिमा आफैले राख्ने हो । लोकतन्त्र भनेर मात्रै आउने होइन, यो त व्यवहारको कुरा हो । पहिलो बहस त लोकतन्त्रमा राष्ट्र प्रमुखले वा राष्ट्रपतिले कसैले टीका लगाउन आह्वान गर्ने कि नगर्ने भन्ने नै हो । अर्को बहस यो ढंगले टीका थाप्ने कि नथाप्ने भन्ने हो । हामीले व्यवस्था त फे¥यौं, अवस्था फेर्ने कि नफेर्ने भन्ने हो । धनुष्टंकार संस्कृतिलाई निरन्तरता दिने कि नदिने भन्ने हो । पात्र फेर्ने, प्रवृत्तिचाहिं उस्तै राख्ने ? कतिपयले भनेका पनि छन् कि टीका लगाउने खुसी नै छन् अरुलाई के मतलब ? मतलब हुन्छ । राष्ट्रपति व्यक्ति होइन, संस्था हो । संस्कार हो । सिंगो आस्था हो । व्यवस्था हो । त्यसकारण राष्ट्रपतिको व्यवहार नै लोकतान्त्रिक हुनुपर्छ । अनि मात्र व्यवस्था फेरिएको आभाष सबैले गर्न सक्छन् ।