विप्लव काफ्ले
भरतपुर, ८ कात्तिक
दशैंका बेला चितवनमा ८ सय २२ जना कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले ७ सय ७९ जना र जिल्ला प्रहरी कार्यालयले ४३ जनालाई कारबाही गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले घटस्थापनादेखि पूर्णिमासम्मको अवधिमा सवारीचालकलाई गरेको कारबाहीबाट ६ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सीट क्षमताभन्दा बढी यात्रु राख्ने ५७ सवारी कारबाहीबाट ५७ हजार, बढी भाडा लिने ८७ सवारीबाट १ लाख ३० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै मादक पदार्थ सेवन (मापसे)गरी सवारी चलाउने ४० जनाबाट ४० हजार रुपैयाँ जरिवाना संकलन भएको छ ।
यस्तै ट्राफिक नियम पालना नगर्ने ५ सय ९५ जनाबाट ४ लाख १० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । “गतवर्षको तुलनामा यो वर्ष थोरै चालक कारबाहीमा परेका छन्”, चितवन ट्राफिक प्रमुख वेदप्रसाद गौतमले भने, “विशेष चेकजाँच अभियान चलाएका छौँ, सम्भावित दुर्घटना कमी गर्न चनाखो बनेका छौँ ।” उनका अनुसार लामो दूरीमा चल्ने सवारीले मनपर्दी भाडा असुलेको सूचनाका आधारमा आँपटारी र मुग्लिङ क्षेत्रमा भाडा नियमन गरिएको थियो ।
लामो तथा स्थानीय रुटमा चल्ने सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने कामलाई निरुत्साहित गर्न आकस्मिक चेकजाँच गरिएको उनले बताए । १५ दिनको अवधिमा २० वटा सवारी दुर्घटना भएका छन् । जसमा १२ जनाको मुत्यु भएको छ भने ६१ जना घाइते भएका छन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय चितवनले चाडबाडलाई लक्षित गरी सञ्चालनमा ल्याएको विशेष सुरक्षा योजनाअन्तर्गत ४३ जना कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले समाजमा अशान्ति मच्चाउने ३७ जनालाई कारबाही गरिएको बताए । “सडक, होटल रेष्टुरेण्टमा बसेर झै–झगडा गर्ने, अशान्ति मच्चाउने कारबाहीमा परेका छन्”, उनले भने, “६ जना तास खेल्ने कारबाहीमा परेका छन् ।”
भरतपुर–११ बाट तास खेल्ने खालबाट प्रहरीले २ लाख ४० हजार रुपैयाँसमेत बरामद गरेको थियो । उनका अनुसार दशैंमा प्रहरी सक्रियताका कारण अपराधिक घटना गत वर्षभन्दा कम भएको छ । “दशैं शान्तिपूर्णरुपमा सकिएको छ”, उनले भने, “चाडबाड लक्षित विशेष सुरक्षा योजना छठसम्म लागू हुनेछ ।” जिल्ला प्रहरी कार्यालयले अपराधिक गतिविधि नियन्त्रण गर्न १ सय ६ वटा टोली परिचालन गरिरहेको छ । ४ सय ५६ जना प्रहरीलाई ९ वटा समूह बनाएर कामको जिम्मेवारी दिइएको थियो ।