ध्रुवराज खनाल
रत्ननगर, २९ असोज ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको रत्ननगरमा निर्माणाधीन फोरलेन सडक डिजाईन फेल भएपछि पुनः नयाँ डिजाईनअनुसार काम थालिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिले गरेको डिजाईन गलत हुँदा यहाँ निर्माण गरिएको सडक निर्मााणकै क्रममा भत्किएको थियो ।
रत्ननगरको लौरीघोलदेखि टाँडी चोकसम्म सडक भत्कने, पीच पोका पर्नेलगायतका समस्या देखिएपछि नयाँ डिजाईनअनुसार काम थालिएको निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सन प्रालिका इञ्जिनियर अनिश रेग्मीले बताए । श्रेष्ठ कन्स्ट्रक्सन रत्ननगरको लौरीघोलदेखि निपनीसम्म करिब २.३ किलोमिटर सडक फोरलेन बनाइदैं छ । नयाँ डिजाईनअनुसार लौरीघोलदेखि टाँडीचोकसम्मको करिब २ सय ६० मिटर मात्रै पुनर्निर्माण हुने ईञ्जिनियर रेग्मीले बताए ।
रेग्मीका अनुसार अब २० सेन्टिमिटर सब–बेस, १५ सेन्टिमिटर बेस र २० सेन्टिमिटर पीचको काम हुनेछ । यसअघि १५ सेन्टिमिटर बेस र ५ सेन्टिमिटर पीच भएको थियो । जसका कारण सडक भत्कने, उप्कने, पीच पोका पर्ने समस्या रहेको उनले बताए । “हामीले सडक डिभिजनले दिएकै डिजाईनअनुसार काम गरेका थियौं, त्यो गलत भयो”, ईञ्जिनियर रेग्मीले भने, “सडकले पुनः नयाँ डिजाईन दिएकाले त्यहीअनुसार काम अहिले गरिरहेका छौं ।” पुरानै बजेटअनुसार नयाँ डिजाईनको काम भएको हो ।
मौसमले साथ दिएमा एक साताभित्रै पीचको काम सम्पन्न हुने बताइएको छ । माटोको अवस्था नराम्रो भएकै कारण पहिले निर्माण गरिएको सडक भत्किएको रेग्मीको दावी छ । पहिलेकै डिजाईन सबै फेल भएकाले अहिले नयाँ डिजाईनअनुसार टाँडीसम्म पुनर्निर्माण भएपनि टाँडीदेखि निपनीसम्म भने यही पीच माथी अर्को पीच गर्ने बताइएको छ । फोरलेन सडकको कामअन्तर्गत अहिले सर्भिसलेनको पीच अन्तिम चरणमा पुगेको छ ।
सम्झौताअनुसार ग्रीनरी, फुटपाथको काम भइसकेको छ । सडकको दक्षिणतर्फको बिजुलीको पोल नसार्दा काम हुन सकेको छैन । उत्तरतर्फ पोल नसारिकन सर्भिसलेनको काम भएको छ । बिजुलीको पोल नसार्दा हामीलाई काम गर्न अप्ठ्यारो भएको श्रेष्ठ कन्स्ट्रक्सनका ईञ्जिनियर रेग्मीले बताए । अहिले सडकमा रङ लगाउने, साईनबोर्ड राख्ने काम भइरहेको उनले बताए । वि.सं. २०७२ साल असारमा डेढ वर्षमा काम सक्ने गरी श्रेष्ठ कम्पनीले सडक निर्माणको जिम्मा लिएको थियो । तर, यसबीचमा दुई पटक म्याद थपिसकिएको छ । दोस्रो पटक थपिएको म्याद यही असोजमा सकिनेछ । श्रेष्ठ कन्स्ट्रक्सन प्रा.लि.ले १९ करोड ७० लाखमा फोरलेन सडक निर्माणको ठेक्का लिएको थियो ।