विप्लव काफ्ले
भरतपुर, २९ असोज ।
दशैं मनाउन घर फर्कने यात्रु बढ्न थालेका छन् । बजारमा चहलपहल बढेको छ । ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे परेको छ । नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, टाँडी बजार तथा खैरहनीको पर्सा बजारमा सवारीसाधनको भीड बढेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले यात्रुलाई सहज यात्रा गर्ने वातावरण मिलाउन जनशक्ति परिचालन गरिएको बताए । यात्रु सहायता कक्षमार्फत यात्रुका गुनासासमेत लिन थालिएको छ । “केही दिनयता सवारी आवागमन बढेको छ”, उनले भने, “नारायणगढ बजारमा सवारी जाम हुने गरेको छ, व्यवस्थापन कार्यमा जुटिरहेका छौँ ।” उनका अनुसार पुलचोक र शहीदचोकमा ४–५ जना ट्राफिक नै खटाएर पालो कुरेर बाटो पार गराउने काम हुन थालेको छ ।
“चितवन ‘ट्राञ्जिट’ पनि हो, यहाँका बजारमा चहलपहल बढ्नु स्वाभाविक हो”, उनले भने, “बढ्दो भीडमा दुर्घटना हुने सम्भावना बढ्छ, त्यसैले चनाखो भएर ट्राफिक व्यवस्थापनमा खटिएका छौँ ।” उनले चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउन नदिने, ट्राफिक नियम पालना गराउने, सीट क्षमताभन्दा बढी यात्रु नराख्ने, तोकिएको भाडा दर लिनेजस्ता विषयमा निगरानी बढाइएको बताए । “लामो दूरीमा चल्ने १५ सवारीमा आइतबार आँपटारीमा अनुगमन गरियो, बढी भाडा लिइएको पाइएपछि कारबाही गरेका छौँ”, उनले भने, “करिब १७ हजार रुपैयाँ यात्रुलाई नै फिर्ता गराएका छौँ ।”
५० देखि १ सय ५० रुपैयाँसम्म ठगी गरेको पाइएको बताए । यस्तै शनिबारको अनुगमनमा करिब १८ हजार रुपैयाँ बढी भाडा यात्रुलाई फिर्ता गराइएको छ । “बढी भाडा मागेमा, सीट क्षमताभन्दा बढी यात्रु राख्न खोजेमा तत्काल सूचना आए कारबाही गर्न तयार छौँ”, उनले भने, “भयरहित र सुरक्षित यात्रा गर्ने वातावरण मिलाइने छ, स्थानीय प्रहरीसँग समन्वय गरी चेकजाँचमा कडाइ गरेका छौँ ।” लामो दूरीमा चल्ने सवारीमा दुई चालकको व्यवस्था, प्रत्येक चार घण्टामा आधा घण्टा विश्राम गर्ने जस्ता काममा व्यवसायीले हेलचक्राई गर्छन् । सरकारले तोकेको भाडादर यात्रीले स्पष्ट देखिने गरी टाँस्ने गरेको पाइदैन ।
बाहीरी जिल्लाबाट चितवन आउने र आफ्नो गृहजिल्ला जाने यात्रुको संख्या बढेको छ । चितवनमा सरदर १२ हजार गाडी गुड्छन् । सबैभन्दा ठूलो हिस्सा ओगटेको नारायणी यातायात व्यवसायी संघका अनुसार विगतको तुलनमा ४० प्रतिशत यात्रुको चाप बढेको छ । “धेरै रुटमा क्यू थप गरेका छौँ, २ देखि ६ वटासम्म गाडी थपेका छौँ”, संघको क्षेत्रीय कार्यालय चितवनका कार्यालय प्रमुख शंकर गिरीले भने, “सप्तमीदेखि अझै यात्रु बढ्नेछन्, माग बढी भएमा रुट बदलेर भएपनि बस तथा माइक्रोको व्यवस्थापन गरिनेछ ।”
चितवनबाट काठमाडौं जाने यात्रुको चाप घटेपनि उताबाट आउनेको चाप बढेको छ । “सबैभन्दा बढी ‘फ्लो’ काँकडभित्ता, बाग्लुङ र पोखराका लागि छ”, उनले भने, “अन्यत्र पनि विस्तारै फ्लो बढेको छ, छिटै क्यू थप्ने तयारीमा छौँ ।” उनले निजी नम्बर प्लेटका सवारी बढेकाले पनि विगतको तुलनामा खासै चाप नबढेको बताउँछन् । संघ मातहतका ३ सय गाडी भरतपुर तथा नारायणगढबाट पूर्व तथा पश्चिमतिरको लामो दूरीको रुटमा चल्छन् । यस्तै चितवनकै स्थानीय रुटमा त्यही हाराहारीमा गुड्छन् । मेघौली, टाँडी, माडीबाट लामो दूरी चल्ने सवारीको संख्या थपिएको बताए ।
जिल्लाभित्रै चल्ने सवारीमा समेत यात्रुको चाप बढेको छ । बाहीरी जिल्लाबाट घर फर्किने यात्रुले स्थानीय सवारी (लोकल) मा सहजै सीट पाउन सकेका छैनन् । काठ्माण्डौबाट पर्साढाप जान आएका यात्रु रमन क्षेत्रीले चौविसकोठीमा घर जाने बस खोज्न करिव १ घण्टा पर्खिनुप¥यो । सबै बस भरिभराउ देखेपछि खाली बसको पर्खाइमा बसेपनि अन्ततः उनी उभिएरै यात्रा गर्न तयार भए । “सीट पाउन मुस्किल रहेछ”, उनले भने, “स्थानीय रुटमा चल्ने बस अझै थपे सहज हुन्छ ।” चितवनमा ८ वटा बस व्यवसायी संघ दर्ता छन् ।
झण्डै १ हजार बस व्यवसायी आवद्ध छन् । चितवन यातायात व्यवसायी संघ छहारीका अध्यक्ष बद्रीप्रसाद पौडेलले सबै सवारी सञ्चालनमा आएको बताए । “हल्टमा कुनै बस छैनन्, ३ देखि २५ मिनेटमा छुट्ने गरी तालिका मिलाएका छौँ”, उनले भने, “दशैंका बेला चाप बढी हुनु स्वभाविक हो, २÷४ जना उभिएकै आधारमा कारवाही गरिनुुहुदैन, यो हाम्रो बाध्यता हो ।” जिल्लाभित्र नारायणगढबाट माडी ठोरी, जगतपुर, पर्साढाप, टाँडी लोथर, पमदपुर, शक्तिखोर, डण्डा लगायतका स्थानीय रुटमा लोकल बस चल्छन् ।