भरतपुर, २७ असोज ।
नेपाल प्रेस युनियन चितवनको आठौँ जिल्ला अधिवेसनबाट अनिल ढकाल निर्वाचित भएका छन् । युनियनको सचिवका रुपमा जिम्मेवारी सम्हालिसकेका ढकाल एपिवान टेलिभिजन तथा अन्नपूर्ण पोष्टमा आवद्ध हुन् । शनिबार भएको मतदानमा उनले प्रतिद्वन्दी पूर्णप्रसाद शर्मालाई १ सय २० को मतान्तरले पराजित गरेका हुन् । ढकालले १ सय ४८ र शर्माले २८ मत ल्याए । कुल २ सय १४ जना मतदाता रहेकोमा १ सय ७८ मत खसेको थियो । जसमा २ मत बदर भएको थियो ।
अध्यक्ष बाहेक पदाधिकारी, केन्द्रीय पार्षद, प्रदेश पार्सदमा सबै निर्विरोध निर्वाचित भए । उपाध्यक्षमा खुल्लातर्फ सूर्यप्रसाद अधिकारी, महिला तर्फ अनिता अर्याल, सचिवमा प्रस्ताव सुवेदी, कोषाध्यक्षमा विप्लव काफ्ले सर्वसम्मत चयन भए ।
यस्तै महिला सहसचिवमा कुनै उम्मेदवारीनै परेन । युनियनको विधानमा कम्तिमा एक कार्यालय कार्यसमितिमा रहेकोले मात्रै पदाधिकारीमा उम्मेदवारी दिन पाउने उल्लेख छ । नयाँ कार्यसमितिको पहिलो बैठकले सहसचिवमा कार्यसमितिभित्रबाटै एक जनालाई मनोनित गर्नेछ । यस्तै कार्यसमिति सदस्यमा १२ जना निर्विरोध चयन भए । हरि पौडेल, शुशिल पन्त, विष्णुप्रसाद त्रिपाठी (विपिन), विवेक न्यौपाने, राजु चौधरी, निशा दाहाल, चन्द्रमा अधिकारी, कमलमान श्रेष्ठ, माधव सापकोटा, सुदन पौडेल, आशिष अधिकारी र आशा खरेल चयन भए । कोषाध्यक्ष काफ्ले र कार्यसमिति सदस्यमा निर्वाचित हरि पौडेल कायाकैरनकर्मी हुन् ।
केन्द्रीय पार्षदमा १४ महिला सहित ३१ जना चयन भए । यस्तै प्रदेश पार्षदमा २३ महिला सहित ४३ जना चयन भएका छन् । निर्वाचन समितिका निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले अध्यक्ष बाहेक अन्य सबै सर्वसम्मत चयन भएकाले निर्वाचन प्रक्रिया छिटो सकिएको बताए । मतपरिणाम घोषणा कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष अनिल ढकालले नागरिकका पक्षमा कलम चलाउने जनशक्ति उत्पादन गर्न सक्रिय बन्ने बताए । “पत्रकारिता समाजकै लागि हो”, उनले भने, “नागरिककै पक्षमा जिम्मेवार भएर कलम चलाउने जनशक्ति तयार गर्न नवनिर्मित मैयादेवी सूचना केन्द्र भवन प्रयोगमा आउनेछ ।”
समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर–११ स्थित बसेनीमा उपलब्ध गराएको १३ धुर जग्गामा दाताको सहयोगमा प्रेस युनियनले भवन बनाएको छ । नेपाल प्रेस युनियनका केन्द्रीय कोषाध्यक्ष तथा निवार्चनका लागि केन्द्रीय प्रतिनिधि सरोज अधिकारीले प्रेस युनियनलाई शशक्त बनाउने जुजारु टिम आएको बताए । युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले नयाँ कार्यसमितिलाई पत्रकारको पेशागत संरक्षण र वृत्ति विकासमा प्रतिवद्ध बन्न आग्रह गरे । “गहन जिम्मेवारी आएको छ, युनियनको संठन र शाख जोगाउने दायीत्व छ”, उनले भने, “समाजका निम्ति कलम चलाउन प्रोत्साहन गर्न नयाँ कार्यसमिति लाग्नुपर्छ ।” उनले नागरिकका हकअधिकारका पक्षमा वकालत गर्न पत्रकार अग्रसर बन्नुपर्ने बताए ।
“प्रेस स्वतन्त्रतामाथि कुण्ठित गर्ने प्रयास भैरहेका छन्”, उनले भने, “पत्रकारीताको विश्वसनीयता बढाउँदै अघि बढ्नुपर्छ, प्रेसलाई अंकुश लगाउने कदम विरुद्ध आवाज बुलन्द पार्नुपर्छ ।” उनले चितवनमा प्रेस युनियनले देशकै ठूलो सूचना केन्द्रका रुपमा भवन निर्माण गरेकाले सो भवनलाई सहिद सदुपयोग गर्न सुझाए । प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीले प्रेस युनियनको मर्मर लक्ष्यलाई सार्थक तुल्याउन नयाँ कार्यसमिति जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए । “सांगठिनक विस्तार र क्षमता अभिवृद्धि गर्दै पेशागत सुरक्षाका लागि लाग्नुपर्छ”, उनले भने, “व्यवसायीक पत्रकारितालाई बढाउँदै मर्यादित पत्रकारिता क्षेत्रको विस्तारमा जानुपर्छ ।” नवनिर्वाचित कार्यसमितिको केहि दिनमै पदभार ग्रहणको कार्यक्रम हुने उनले बताए ।