भरतपुर, २७ असोज
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भएपनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनद्वारा शुक्रबार भरतपुरमा आयोजित ‘प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र’ भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता देउवाले संविधानले सम्पूर्ण नेपालीको अधिकारको व्यवस्था गरेको र कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण कुरा भएकामा जोड दिए ।
सोही कार्यक्रममा चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण र प्रेस युनियन चितवनको आठौं जिल्ला अधिवेसन उद्घाटन पनि गरिएको थियो । कांग्रेस सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै उनले भने, “प्रेस स्वतन्त्रता, मौलिक अधिकार र लेख्ने बोल्ने स्वतन्त्रताको पक्षमा कुनैपनि किसिमको बन्देज लगाउन पाइँदैन ।”
उनले कुनैपनि हालतमा प्रेस स्वतन्त्रता हनन् हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “प्रेस युनियन स्वतन्त्र निकाय हो । तपाईँलाई पार्टीबाट अंकुश लगाउने काम हुँदैन ।” सभापति देउवाले रु. ५५ लाखको लागतमा नवनिर्मित ‘नेपाल प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र’ भवनको पनि उद्घाटन गरे । कार्यक्रममा काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले लोकतन्त्रमा पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताए ।
सो अवसरमा रु ५१ हजार १५१ राशिको चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७२ बाट किशोर नेपाल, २०७३ बाट कुलचन्द्र वाग्ले र २०७४ बाट तेजप्रकाश पण्डितलाई पुरस्कृत गरिएको छ । त्यसैगरी रु. ११ हजार १११ राशीको क्रियाशील पत्रकारिता पुरस्कार नारायणी अनलाइनका राजु चौधरीलाई प्रदान गरियो ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य गीता वाग्ले, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, पुरस्कारदाता प्रमोदकुमार श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी, नेपाल ट्रेड युनियन काङ्ग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा भवन निर्माण गर्न जग्गादान गर्ने समाजसेवी मैयाँदेवी श्रेष्ठलगायत आर्थिक सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो ।
नयाँ नेतृत्व चयन आज
युनियनको आठौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व शनिबार चयन गर्दैछ । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा ३ जनाको उम्मेद्वारी परेको छ । कूल २१४ जना साधारण सदस्य रहेको युनियनको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष पूर्ण शर्मा, वर्तमान सचिव अनिल ढकाल र राजु सापकोटाको उम्मेदवारी परेको निर्वाचन अधिकृत विष्णु अर्यालले जानकारी दिए ।
खुला उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा भने एक–एक जनाको मात्र उम्मेदवारी परेको छ । उनीहरुलाई नै आज शनिबार निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । शुक्रबार खुला उपाध्यक्षमा सूर्य अधिकारी, महिला उपाध्यक्षमा अनिता अर्याल, सचिवमा प्रस्ताव सुवेदी र कोषाध्यक्षमा विप्लव काफ्लेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
९ जना कार्यसमिति सदस्यका लागि १७ जनाको उम्मेदवारी परेको छ । तर, ३१ जना केन्द्रीय पार्षदका लागि भने १८ जनाको मात्रै उम्मेदवारी परेको छ । ४३ जना छानिनुपर्ने प्रदेश पार्षदका लागि झनै ४ जनाको मात्रै उम्मेदवारी परेको छ ।
,,,,,,,,,