
यो सिजनको एफए कपको उपाधि जितेसँगै आर्सनल कीर्तिमानी १३ औं पटक एफए कपको उपाधि जित्ने पहिलो टोलि बनेको छ ।वेम्बली स्टेडियममा भएको फाइनल खेलको चौथो मिनेटमा नै सान्चेजले गोल गर्दै आर्सनललाई सुरुवाति अग्रता दिलाए ।
पहिलो हाफ १ – ० ले पछि परेको चेल्सी ६८ औं मिनेटमा १० खेलाडीमा सिमित भयो । विक्टर मोसिस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।
१० खेलाडीमा सिमित भएपनि चेल्सीले ७६ औं मिनेटमा कोस्टाको गोलबाट खेल १–१ को बराबरी गर्न सफल भयो । तर, खेलको ७९ औं मिनेटमा रामसीले गोल गरेपछि आर्सनलले २–१ को जित निकाल्दै उपाधि आफ्नो बनायो ।
योसँगै आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरको टिमले सिजनको पहिलो उपाधि जित्न सफल भयो । वेङ्गरले आर्सनलको २० वर्षे करिअरमा यो सातौं पटक एफए कपको उपाधि जितेको हो । योसँगै वेङ्गर एफए कपको उपाधि धेरैपटक जित्ने एक्लो प्रशिक्षक समेत बने । आर्सनलले पछिल्लो पटक सन् २०१५ मा एफए कपको उपाधि जितेको थियो ।