विनोदबाबु रिजाल
भरतपुर, २३ असोज ।
भरतपुरको अस्पतालरोडमा सोमबार राति भएको आगलागीबाट केही पनि सामान निकाल्न नसकिएको सम्बन्धित व्यवसायीहरुले जनाएका छन् ।
नारायणी सामुदायिक अस्पतालको अगाडि र एभरेष्ट अस्पतालको आडमा दुर्गामणि गौतमको घरमा रहेका तीन पसलमा लागेको आगोले घर र सबै सामान पूर्णतया ध्वस्त भएका छन् । विदुर पौडेलले सञ्चालन गरिरहेको छहारी होटल र डिलाराम कँडेलले सञ्चालन गरेको छहारी प्रोभिजनल स्टोर्स र डेरीमा आगोले पूर्ण क्षति गरेको छ ।
क्षतिको एकिन विवरण आइसकेको छैन । तर, प्रोभिजनल स्टोर्समा रहेका लाखौंका फेन्सी सामान, डेरीका फ्रीजलगायत सबै सामान र होटलका फर्निचरसहित सबै सामानमा क्षति पुगेको छ । राति करिब साढे ९ बजेतिर सुरु भएको आगो नियन्त्रणमा लिन झण्डै ३ घण्टा लागेको थियो ।
आसपासमा बाक्लो बस्ती भएपनि भरतपुर महानरपालिका र कावासोती नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयबासीको अथक प्रयासले आगो नियन्त्रणमा लिन सफल भएको हो । “धेरै प्रयास गरेर थप घरहरुमा क्षति हुन पाएन”, एभरेष्ट हस्पिटल प्रा.लि.का अध्यक्ष भरत रेग्मीले भने, “भरतपुर महानगरसँग ठूलो दमकल नभएकोले बेलैमा आगो नियन्त्रण गर्न गाह्रो भयो ।”
राति अस्पतालको दुई इनारको पानी सुक्ने गरी पानी छ्यापेको उनले बताए । यो घटनाबाट सिकेर आगोलागी नियन्त्रणका लागि तयारी गर्न उनले महानगरलाई सुझाव दिएका छन् ।
भरतपुर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिन नसकेपछि कावासोतीबाट दमकल मगाइएको थियो ।
मध्य भरतपुर र ठूलो बाटो भएको ठाउँमै आगो लाग्दा पनि क्षति कम गर्न नसकिएकोमा तीव्र आक्रोश व्यक्त भएका छन् ।
सबै फोटोः विनोदबाबु रिजाल