फाइल फोटोः गत साउनमा चुम्लिङटारमा यात्रुबस दुर्घटनामा घाइते भएकालाई उद्दार गरी भरतपुरतर्फ पठाउन पिकअपमा राखिदै ।
विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२१ असोज ।दुर्घटनामा परेका घाइतेको उद्दार संयन्त्र प्रभावकारी बनाउन सडक सुरक्षा अभियन्ताहरुले आग्रह गरेका छन् । नेपाल अटोमोबाइल्स एशोसिएशन (नासा) प्रदेश नम्बर ३ ले नारायणगढमा शनिबार आयोजना गरेको सवारी दुर्घटनामा परेकाको उद्दारका लागि स्वयंसेवा तालिममा उनीहरुले सडक सुरक्षा सुधार गर्न तीनै तहका सरकारले कदम चाल्नुपर्ने सुझाएका छन् ।
सडक सुरक्षा अभियान्ता तथा नासाका केन्द्रीय महासचिव गोविन्द भट्टराईले सवारी दुर्घटनामा परेकालाई अस्पताल लैजानुपूर्व अपनाउनुपर्ने सावधानीबारे सचेतनाको अभाव रहेको बताउँछन् । “सडक पूर्वाधारको अवस्था दयनीय छ”, उनले भने, “कूल भूभागको करिब ४ प्रतिशत मात्रै सडकले ओगटेको छ, चौडा सडक छैनन्, धेरै लेन भएका सडक नगण्य छन्, कुनबेला कहाँ दुर्घटना हुन्छ, थाहै हुँदैन ।” उनले दुर्घटनास्थलबाट अस्पताल लैजाँदै गर्दा वा बेलैमा उपचार नपाएर मृत्यु हुने करिब ६० प्रतिशत घाइते रहेको बताए ।
एम्बुलेन्स वा अन्य सवारीमा घाइतेलाई राख्दा कोचेर राख्ने परम्परा अन्त्य गर्नुपर्ने उनले बताए । सडक र यातायात क्षेत्रलाई व्यवस्थित गर्न नसक्दा जनधनको क्षति हुने क्रम बढेको उनी बताउँछन् । “सडक प्रयोगकर्ताको अनुशासन विकास गर्नुपर्छ, आपतकालीन उपचारलाई सहज बनाउनुपर्छ”, उनले भने, “दुर्घटना बढी हुने क्षेत्रका स्थानीयलाई आकस्मिक उद्दारबारेका आधारभूत तालिम दिनुपर्छ ।”
सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेशस्तरमा रोड सेफ्टी काउन्सिल गठनको माग गरिएको बताए । “विभिन्न ८ मन्त्रालयसँग समन्वय गर्ने, दुर्घटना न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम तथा तालिम दिने, उद्वार संयन्त्रलाई प्रभावकारी बनाउन काउन्सिलको खाँचो देखिएको छ”, उनले भने, “मुख्यमन्त्री र केन्द्रमा योबारे पहल भैरहेको छ ।” उनले धरौटी जम्मा नगरेको बहानामा दुर्घटनाका घाइतेको उपचारमा ढिलाइ हुन नदिन राज्यले नै जिम्मेवारी लिएर उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।
सातै प्रदेशमा निजी क्षेत्रको सहकार्यमा हेभी ड्राइभिङ स्कूल स्थापना गर्ने, सडकको गुणस्तर मापन गर्ने, प्रत्येक नगरमा अटोल्याण्ड स्थापना गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, चालक तथा हेल्पर, यात्रुलाई तालिम तथा सचेतना दिनेलगायत काम गर्नुपर्ने देखिएको बताए । प्रहरी नायब उपरीक्षकबाट अवकास पाएर सडक सुरक्षा अभियानमा सक्रिय बनेका विपिन गौतम सवारी दुर्घटना भएपछि हुने उद्दार कार्यलाई वैज्ञानिक बनाउन सरकारले नै पहल गर्नुपर्ने बताउँछन् । “दुर्घटना भएलगत्तै स्थानीय घटनास्थल पुग्छन्, जानी–नजानी उद्दारमा संलग्न हुन्छन्”, उनले भने, “सामान्य चोट लागेका व्यक्ति पनि उद्दारमा हुने लापरबाहीले आजीवन अपाङ्गता भएर बस्नुपरेको अवस्था छ, त्यसैले उद्दारसम्बन्धी दक्ष जनशक्ति कम्तीमा राजमार्ग छेउका बस्तीमा तयार गर्नुपर्छ ।”
आर्थिक वर्ष २०७४÷७५ मा ९ हजार ९ सय ८९ वटा सवारी दुर्घटना भए । जसमा २ हजार ३ सय १८ जनाले ज्यान गुमाए । ३ हजार ८ सय जना अंगभंग भए । ७ हजार ५ सय १० जना सामान्य घाइते भए । “उद्दारमा खटिने सबै प्रहरीलाई समेत घाइते व्यवस्थापनबारे तालिम तथा प्रशिक्षणको अभाव छ”, उनले भने, “कम्तीमा हाइवे युनिटका प्रहरी कर्मचारीलाई उद्दार सीप सिकाउनुपर्छ, स्थानीय सरकारले पनि सडक सुरक्षाबारे चेतना विस्तार गर्नुपर्छ ।”
भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णप्रसाद पौडेलले दुर्घटनामा मेरुदण्डमा चोट लागेका घाइतेको उद्दारमा संवेदनशीलताको खाँचो रहेको बताए । “ अस्पतालमा झ्याइँकुटी पार्दै गाडीमा राखेर बिरामी ल्याइन्छ”, उनले भने, “यसो गर्दा चोट झन् बिग्रन पुग्छ, घाइतेले जीवनभर दुःख पाउने अवस्था बन्छ, उद्दारमा सावाधानी अपनाउनुपर्छ ।” उनी बढी दुर्घटना हुने स्थलमा घाइते बिरामीलाई अस्पतालसम्म लैजाने विधिबारे ज्ञान दिनुपर्ने बताउँछन् ।
स्पाइनल इञ्जुरीका बिरामीलाई अस्पतालसम्म पु¥याउँदा धेरै सावधानी अपनाउनुपर्ने उनी बताउँछन् । सुषुम्ना नाडीमा चोट लाग्दा शरीरका अंग नै नचल्ने, हिडडुल गर्न नसक्ने जस्ता समस्या देखा पर्छन् । भरतपुर अस्पतालका हाडजोर्नी विभागका प्रमुख डा. रुद्र मरासिनी दुर्घटनापछि घाइतेको ‘गोल्डेन आवर’ मा निकै सावधानी अपनाउनुपर्ने बताउँछन् । “अस्पताल लैजानुभन्दा पहिले र उपचारपछिको ६ घण्टा मृत्युबाट बचाउने महत्वपूर्ण समय हो”, उनले भने, “गोल्डेन आवरमा घाइतेलाई बचाउन उद्दार र उपचारमा निकै गम्भीर हुन जरुरी छ ।” उनले कपडामा बेरेर ‘गुजुल्टो’ बनाएर अस्पताल लैजानुभन्दा घाइतेलाई श्वासप्रश्वास सहज हुने आसनमा राख्ने, रक्तश्राव रोक्ने विधि अपनाएर उद्वार गर्नुपर्ने बताए ।
जिल्ला अदालत चितवनका न्यायाधीश विनोदकुमार गौतम दुर्घटनापछि हुने उद्दारमा सावधानी अपनाउन सकिए सजाय पनि कम हुने अवस्था सिर्जना हुने बताउँछन् । “अस्पताल लैजाँदै गर्दा बीच बाटोमै धेरैको ज्यान गुम्छ”, उनले भने, “उद्दारमा सावधानी अपनाइयो भने अनाहकमा ज्यान जाने अवस्था रोकिन्छ, घाइतेले पनि नयाँ जीवन पाउँछन् ।” नासा प्रदेश नम्बर ३ का सचिव गोपाल भट्टराईले घाइतेलाई धेरै दुःख नदिई अस्पतालसम्म पु¥याउने जनशक्ति तयार गर्नुपर्ने देखिएको बताए ।
सेभ द माइण्ड नेपालका अध्यक्ष पूजा भुषालले बढ्दो सवारी दुर्घटनाको जोखिम कम गर्न ट्राफिक सचेतना, सडक सुरक्षाको आवश्यकता रहेको बताइन् । कार्यक्रममा सडक सुरक्षाबारे कार्यपत्रमाथि छलफल भएको थियो । नासाले यसअघि इटहरी र धुलिखेलमा सडक सुरक्षाबारे तालिम दिइसकेको छ । चितवनसहित यी जिल्लामा रोड सेफ्टी नेटवर्कसमेत गठन गरिएको छ । ट्राफिक सचेतना, उद्दार, अध्ययन, अनुसनधान र सरकारी कार्यालयबीच समन्वय गर्दै दूर्घटना न्यूनीकरण अभियान चलाउन नेटवर्क गठन गरिएको जनाइएको छ ।