राप्ती,२१ असोज्।राप्ती नगरपालिका–५ स्थित भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले नयाँ कार्यक्रम ल्याएको छ । नयाँ कार्यक्रम स्वरुप ७० वर्ष उमेर पुगेका शेयरधनीलाई ज्येष्ठ सेयरधनी पोषण खर्च प्रदान गर्न लागेको हो ।
त्यस्तै सेयरधनी एकल महिलालाई प्रेरणा खर्च प्रदान गर्ने योजना ल्याएको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले जानकारी दिए । उनका अनुसार ज्येष्ठ शेयरधनी र शेयरधनी एकल महिललाई मासिक ४ सय रुपैयाँका दरले खर्च प्रदान गरिने छ । विगतमा सो संस्थाले शेयरधनीको मृत्युपछि भेटी स्वरुप ५ हजार रुपैयाँ मृतकका परिवारलाई प्रदान गर्दै आएको थियो ।
“विगतमा शेयरधनीको मृत्यु भएमा भेटी स्वरुप नगद प्रदान गरिन्थ्यो”, संस्थाका अध्यक्ष थपलियाले भने, “उक्त कार्य कटौती गरी शेयरधनी जीवितै रहँदा लाभान्वित हुन सकून् भन्ने हाम्रो चाहना हो ।” यो योजना सम्भवतः पहिलो हो । त्यस्तै दशैं खर्चवापत मापदण्ड पुगेका किसानलाई प्रतिलिटर ४ रुपैयाँ र मापदण्ड नपुगेकालाई १ रुपैयाँ प्रदान गरिने अध्यक्ष थपलियाले बताए ।
संस्थाको शनिबार आयोजित २१ औं वार्षिक साधारणसभाका अवसरमा दिइएको जानकारीअनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७४÷७५ मा दूध उत्पादन २९.६५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २२ लाख २ हजार ३७९ लिटर उत्पादन भएकोमा गतवर्ष २८ लाख ५५ हजार ४५८ लिटर उत्पादन भएको संस्थाका सचिव रामचन्द्र हुमागार्इंले जानकारी दिए । साधारणसभाका प्रमुख अतिथि प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले किसानले उत्पादन गरेको दूध सडकमा फाल्नुपर्ने अवस्थाको अन्त्य हुने बताए । त्यसका लागि चितवनको भण्डारामा मिनी पाउडर प्लान्ट निर्माण गर्न लागिएको उनको भनाइ छ ।
“दूधको मूल्यमा उतारचढाव आउँदा हालै मात्रै यहाँका किसानले दूध सडकमा पोख्नुप¥यो”, कृषिमन्त्री लामाले भने, “अब दूध फाल्नुपर्ने, मिल्क होलिडेको अन्त्यका लागि भण्डारामा मिनी पाउडर प्लान्ट र हेटौंडामा प्रदेश सरकारले दूध उद्योग बनाउन लागेका छौं ।” उद्योगका लागि यसै वर्षदेखि डीपीआर तयार हुने उनले बताए ।
राप्ती नगरपालिका प्रमुख प्रभा बरालले नगर समृद्धिमा लागि पशुपालन व्यवसायले टेवा पु¥याउने विश्वास व्यक्त गरिन् । संस्थाका अध्यक्ष थपलियाको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी सस्थाका सदस्य बालकृष्ण उप्रेती, जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पूर्णबहादुर थापा, परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामेश्वरसिंह ओली, शहीद बलराम दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल भुषाल, संस्थाका उपाध्यक्ष डालबहादुर श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सर्वाधिक दूध बिक्री गर्ने, गुणस्तरीय दूध बिक्री गर्ने किसानलाई काउ भ्याट र क्यान प्रदान गर्दै पुरस्कृत गरिएको थियो ।
कायाकैरनकर्मी खनाल सम्मानित
कायाकैरन दैनिक समाचारपत्रका संवाददाता धु्रवराज खनाल चितवनको राप्ती नगरपालिकामा पशुपालक कृषकबाट सम्मानित भएका छन् । राप्ती नगरपालिका–५ स्थित भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले पशुपालक कृषक र दुध उत्पादनको विकासमा पत्रकारिताको माध्यमबाट भूमिका निर्वाह गरेको भन्दै कायाकैरन दैनिकका पूर्वी चितवन संवाददाता खनाललाई सम्मान गरेको हो ।
संंस्थाको २१ औं वार्षिक साधारणसभाको अवसरमा शनिबार कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ३ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, राप्ती नगरपालिका मेयर प्रभा बराल र संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले संयुक्तरुपमा दोसल्ला ओढाइ कदरपत्रले सम्मान गरेका हुन् । विगत १३ वर्षदेखि पत्रकारिता गर्दै आएका खनाल पूर्वी चितवन पत्रकार संघका सचिव हुन् । सोही अवसरमा खनालसँगै चितवन पोष्ट दैनिकका पूर्वी चितवन संवाददाता होमनाथ सापकोटा पनि सम्मानित भएका छन् । सापकोटा पूर्वी चितवन पत्रकार संघका अध्यक्ष हुन् । हालै मात्रै राप्ती नगरपालिकाबाट सरुवा भएका पशु चिकित्सक शैलेन्द्र भण्डारीलाई पनि दुग्ध उत्पादक सहकारी संस्थाले सम्मान गरेको छ ।