प्रमिता ढकाल/कायाकैरन
भरतपुर,२१ असोज ।चितवनमा क्रियाशील महिला पुरुष दुवै सदस्य भएका बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पहिलो पटक महिला नेतृत्व चयन भएका छन् । अथर्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नेतृत्व विजया लम्सालले लिएसँगै चितवनको बचत तथा ऋण सहकारीमा पहिलो महिला नेतृत्व चयन भएको हो ।
अथर्वको २० औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनसम्म आइपुग्दा यसअघि सबै पुरुषले नेतृत्व गरेका थिए । वि.सं. २०५६ सालमा स्थापित सहकारीमा हालसम्म चार नेतृत्व परिवर्तन भइसकेको छ । वि.सं. २०५६ सालमा स्थापना भएको संस्थाको ३२ जना संस्थापक शेयर सदस्य छन् । हाल सदस्य संख्या बढेर एक हजार ८२ जना पुगेका छन् । संस्थामा ५ सय ६० जना पुरुष तथा ५ सय २१ जना महिला शेयर सदस्य छन् । संस्थाको शेयर पुँजी २ करोड ४१ लाख छ ।
संस्थाले २१ औं बसन्तमा पाइला टेक्दा पहिलोपटक महिलाको नेतृत्व सर्वसम्मत भयो । “ महिला र पुरुषको सहकार्यको अभियान नै सहकारी हो”, अध्यक्ष निर्वाचित भएपछि उनले भनिन्, “मेरो नेतृत्व क्षमतालाई विश्वास गरी यो जिम्मेवारी दिइएको जस्तो लाग्छ । यस विश्वासमा खरो उत्रिन प्रयासरत रहनेछु ।”
उनी नेपाल महिला संघको क्षेत्रीय कोषाध्यक्ष, नारायणी मा.वि को व्यवस्थापन समिति सदस्यलगायत विभिन्न सामाजिक संघसंस्थाको महत्वपूर्ण पदीय जिम्मेवारीमा आबद्ध छिन् । महिला र पुरुष दुवै सदस्य रहेका अन्य सहकारीहरुमा पनि महिलाको नेतृत्व छैन । अध्यक्षबाहेकका सबैजसो पदमा महिलाले काम गरीरहेकै छन् । तर, अध्यक्ष बन्ने बेलामा भने पुरुष नै अघि सर्छन् ।
चितवनमा क्रियाशील कूल ६ सय ७६ सहकारीमध्ये एक सय ८ सहकारी महिलाले मात्र सञ्चालन गर्ने सहकारी हुन् । महिलाले मात्र सञ्चालन गर्ने सहकारीमध्ये ५४ वटा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले जानकारी दिए ।
बाँकी ५ सय ६८ सहकारी संस्थामा महिला र पुरुष दुवै सदस्य छन् । कूल दुई लाख ५७ हजार शेयर सदस्यमध्ये एक लाख ४७ हजार शेयर सदस्य बचत तथा ऋण सहकारी संस्थामा छन् । तीमध्ये ८५ हजार महिला शेयर सदस्य छन् भने ६२ हजार पुरुष छन् । सबै बचत तथा ऋण सहकारी संस्थामा गरी एक हजार एक सय ४ महिला सञ्चालक छन् । महिला सञ्चालकले अध्यक्षबाहेकका पदमा रहेर हालसम्म आफ्ना भूमिका निर्वाह गर्दै आएको देखिन्छ ।
बचत तथा ऋण सहकारीमा पहिलो महिला अध्यक्ष
बचत तथा ऋण सहकारीमा पहिलो महिला अध्यक्ष
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस