गैंडाकोट, २० असोज ।
नवलपरासी र चितवन जिल्लामा रहेर लामो समयदेखि नेपाली कला, साहित्य र संस्कृतिको प्रवद्र्धनका लागि कलम चलाइरहेका स्रस्टालाई सम्मान गरिएको छ ।
गैंडाकोटस्थित सरस्वती निकेतन आवासीय माविले आफ्नो स्थापनाको रजत वर्ष मनाउने क्रममा स्रस्टाहरुलाई सम्मान गरिएको कार्यक्रम संयोजक भानुभक्त सापकोटाले जानकारी दिए । सम्मानित हुनेहरुमा यस क्षेत्रमा निकै लामो समयदेखि साहित्य र कलामा कलम चलाएकाहरु छन् । जसमा कायाकैरनकर्मी लेखराम सापकोटा पनि छन् ।
गैंडाकोटका गौरव वरिष्ठ कवि तथा गीतकार गोविन्दराज विनोदीसँगै प्रा.डा.नारायणप्रसाद खनाल, प्रा. डा. गणेशप्रसाद खराल, डा. मतिप्रसाद ढकाल, दीपक सोती, पुष्प अधिकारी अञ्जलि, राधा पाण्डे, विश्व सुवेदी र कायाकैरनकर्मी सापकोटा सम्मानित भएका हुन् । सापकोटा कायाकैरनको साहित्य र कला विधा संयोजक हुन् । लामो समयदेखि उनी नेपाली साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन् ।
सम्मानित स्रस्टालाई विद्यालयका प्राचार्य भरतबाबु ढकाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिचन्द्र चालिसेले सम्मानपत्रसहित दोसल्ला ओढाए । विद्यालय परिसरमा शनिबार आयोजना गरिएको कार्यक्रममा डा. केशवराज चालिसे, सदानन्द जैसी, कपिलदेव भट्टराई, कमल अर्याल, सरोज उजाड, राजेन्द्र घायल, उदयनाथ रेग्मी, हिमालदेव पंगेनी, सरोज पाठक सुमन, मुना धनन्जय, रुद्र कँडेल, कृष्णमणि पहारी, नगेन्द्र तिमिल्सिना, गोर्खे साइँलो, रामहरि श्रेष्ठ, घनश्याम सुवेदी, अमृत पौडेल, जानुका लम्साल, शारदा घिमिरे, सावित्री अर्याल, धर्मानन्द पौडेल, निर्दाष जीवन र मीनराज बसन्तले रचना वाचन गरेका थिए ।