विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१४ जेेठ।
गर्मी बढेसंगै आँखा अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । आँखा चिलाउने (एलर्जी) समस्या भएका बिरामी बढी आउन थालेका छन् । गर्मी मौसममा आँखा चिलाउने, रातो देखिने, चिप्प्रा लाग्ने जस्ता समस्या बढी देखा पर्छन् ।
भरतपुर आँखा अस्पतालमा उपचारका लागि आउने सरदर ४ सय बिरामी मध्ये आधा भन्दा बढी एलर्जी समस्याका बिरामी रहेका छन् । भरतपुर आँखा अस्पतालका प्रमुख मेडीकल डाइरेक्टर डा. रघुनन्दन बेञ्जुले गर्मी मौसममा आँखाको हेरचाहमा बढी ध्यान दिनुपर्ने बताउँछन् । गर्मीमा अत्यधिक वायुप्रदुषणले गर्दा धुलोका कण तथा रसायन छिरेर आँखा पुग्ने गर्छ । “धुलो, धुँवा र घामले आँखालाई बढी असर गर्छ”, उनले भने, “आँखाको नानीमा संक्रमण भएपछि दृष्टिमा समेत गम्भीर असर पु¥याउँछ ।” केहि महिना यता आँखा संक्रमणका बिरामी बढी आउने गरेको उनले बताए । “आँखाको नियमित चेकजाँच गरिरहनुपर्छ”, उनले भने, “हेर्दा समस्या भएमा वा आँखामा नयाँ लक्षण देखिएमा तुरुन्तै आँखा अस्पताल जानुपर्छ ।” आँखा चिलाउने र आँखा पाक्ने रोग हेर्दा उस्तै देखिन्छ । आँखा चिलाउने तथा सुख्खा भएमा कृत्रिम आँसुको प्रयोग गरिन्छ । ब्याक्टेरिया संक्रमणमा एन्टिबायोटिकको प्रयोग गरिन्छ ।
उनले आँखा चिलाउँदा मिच्ने गर्दा समस्या झन बल्झिने बताए । गर्मीमा बढी व्याक्टेरिया सक्रिय हुने भएकाले आँखा स्वास्थ्यमा बढी सतर्क बन्नुपर्ने बताए । “आँखा संवेदनशिल अंग हो”, उनले भने, “चिकित्सकको परामर्श विना जथाभावि औषधि प्रयोग गर्नु हुदैन, सानो लापरवाहीले दृष्टिनै गुम्न पुग्छ ।” आँखा सुरक्षाका लागि चस्माको प्रयोग लाभदायक हुने उनले बताए । “चस्माले आँखामा चोटपटक लाग्न र विकिरणबाट जोगाउँछ”, उनले भने, “अल्ट्रा भायोलेट विकिरणबाट जोगाउने चस्मा लगाउनु पर्छ ।” निर्माण सम्बन्धि काम गर्दा ससाना कण उडेर आँखामा पस्ने जोखिम भएकाले चस्माको प्रयोग गर्नु राम्रो हुने बताउँछन् । किसानहरुलाई बढी मोतियाविन्दुको समस्या देखिने गरेको भन्दै उनले भने, “घामको विकिरणबाट जोगिन चस्मा लगानुपर्छ ।”
झण्डै ४० हजार नयाँ बिरामी
नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा चालु आर्थिक वर्षमा झण्डै ४० हजार नयाँ बिरामीले उपचार गराएका छन् । भरतपुर आँखा अस्पतालका प्रमुख व्यवस्थापक दया शंकर चौधरीले यो वर्ष ६६ हजार १ सय ७१ जनाले उपचार लिएको बताए । जसमध्ये ३९ हजार २ सय ९५ जना नयाँ आँखाका बिरामी छन् । मोतियाविन्दुको उपचार लिने १ हजार ८ सय ७ जना, रेटिनाका उपचार लिने २ सय २० जना, ६ सय २१ जनाको आँखाको सामान्य शल्यक्रिया गरिएको बताए । पुनः उपचार गराउन आउने २२ हजार ९ सय २ जना बिरामी रहेका छन् । गत आर्थिक वर्षमा ४८ हजार १ सय ७१ नयाँ आँखाका बिरामी अस्पताल आएको उनले बताए । “आँखाको सबै उपचार चितवनमै सम्भव छ”, उनले भने, “नयाँ प्रविधि र अत्याधुनिक उपकरण भित्राइए पछि भरतपुर आँखा अस्पताल रोजाईमा पर्न थालेको छ ।” चाँडैनै आँखाको प्रत्यारोण सेवा सुचारु गर्ने तयारीमा रहेको उनले बताए । अस्पताल आउने बिरामी मध्ये धेरै दृष्टि दोष भएका बिरामी रहेको बताए । “कम्प्युटर, मोबाइल धेरै चलाउनेमा आँखा समस्या देखिएको छ”, उनले भने, “दृष्टि क्षमता कमजोर पाइएको छ ।”ं